Darshanik Rachana Philosophical articles
 

समाजमा शोषण, अन्याय, अत्याचार वर्गीय विभेद र असमानता रहिरहँदासम्म मानिसले यो विभेदबाट मुक्ति खोजिरहेको हुन्छ । यस्तो असमानता र अन्यायका विरुद्ध मानिस लड्न खोज्छ । त्यसका लागि उसले विभिन्न तरिका खोज्छ र त्यहिँबाट सुरु हुन्छ – विचार र दर्शनको यात्रा । दर्शनको उपस्थिति पहिलेदेखि नै रहँदै आएको छ भने यसले सँधै आफ्नो वर्गीय पक्षधरता लिँदै आएको छ । समाजमा रहेको वर्गीय विभेद, अन्याय र अत्याचारका विरुद्ध लड्ने मार्ग खोज्दा मानिसले आफ्नो वर्ग अनुसारकै मार्ग चुन्छ । त्यहि मार्गप्रशस्तीका यात्रामा जन्मन्छन् वर्गीय दर्शनहरु ।

संसारको व्याख्या होइन, बदल्नु प्रमुख कुरा हो भन्ने मार्क्सदेखि संसार बदल्ने अभियानमा लागेका माओसम्मका दार्शनिक रचनाहरु पढ्न पाइने एउटा नयाँ पुस्तक हो – दार्शनिक रचनाहरुः मार्क्सदेखि माओसम्म

द्वन्द्वात्मक भौतिकवाद मालेमावादी पार्टीको विश्व दृष्टिकोण हो । सामाजिक जीवनको अध्ययन, सामाजिक जीवनका परिघटना र त्यसको इतिहासको अध्ययन भौतिकवादी तरिकाले गर्नुपर्छ । यो मालेमावादी मान्यता हो ।

द्वन्द्ववाद ग्रिसेली शब्द डाइलेगोबाट आएको हो । जसको अर्थ विमर्श गर्नु, बहस गर्नु हो । द्वन्द्ववादी दर्शनले अन्य दर्शन भन्दा फरक र वैज्ञानिक तरिकाले समाजको व्याख्या गर्छ । यो दर्शनले समाजको मात्र होइन, प्रकृतिलाई वस्तुहरुको थुप्रो, एक अर्कामा असम्बन्धित, पृथक र स्वतन्त्र भन्ने ठान्दैन । यसले प्रकृतिमा सँधैभरी कुनै चिज उदीयमान रुपमा विकास हुँदै गर्छ र कुनै चिज विघटन र विनाश भइरहेको हुन्छ र विकासलाई पुरानो गुणात्मकबाट नयाँ गुणात्मक अवस्थामा संक्रमणको रुपमा हुन्छ भन्ने मान्यता राख्दछ ।

स्टालिनले द्वन्द्ववादको व्याख्या यसरी गरेका छन् – ‘द्वन्द्वात्मक भौतिकवाद मार्क्सवादी लेनिनवादी पार्टीको विश्व दृष्टिकोण हो । प्रकृतिका परिघटनाहरुलाई हेर्ने दृष्टिकोण । यसको अध्ययन गर्ने र बुझ्ने विधि द्वन्द्वात्मक रहेको छ । प्रकृतिका परिघटनाहरुको व्याख्या गर्ने सिद्धान्त र परिघटनाप्रतिका धारणा भौतिकवादी हुनाले यसलाई द्वन्द्वात्मक भौतिकवाद भनिएको हो ।’

माओले भनेझैँ दार्शनिक सिद्धान्तहरु निश्चित समाजिक वर्गमा रहेका मानिसद्वारा सिर्जना गरिएका हुन्छन् । मानिसका विचारहरु बढीमा एउटा ऐतिहासिक रुपले एउटा निश्चित समाजिक अस्तित्वद्वारा निर्धारित भएका हुन्छन् । सिद्धान्तहरुले निश्चित वर्गका आवश्यकताहरु, सामाजिक उत्पादक शक्तिको विकासको उचाइको प्रतिबिम्बन र प्रकृृतिबारे मानिसको बोधको ऐतिहासिक चरणलाई अभिव्यक्त गर्छन् ।

द्वन्द्वात्मक भौतिकवाद आर्दशवाद भन्दा वस्तुगत रुपमा फरक छ । आफुलाई मार्क्सवादी भन्नेहरुले द्वन्द्वात्मक भौतिकवादको प्रयोग गर्नुपर्छ । त्यसका लागि दर्शनको अध्ययन अनिबार्य हुन्छ । द्वन्द्ववादको अध्ययन र कार्यान्वयन नगर्दा मार्क्सवादी कार्यकर्ताहरु मनोगतवाद र यान्त्रिकवादमा पुग्छन् । यसमा पुग्नु भनेको मार्क्सवाद विरोधी दिशातर्फ जानु हो । यस्ता कमिकमजोरी त्यागेर सहि वस्तुको सहि विश्लेषण गर्नका लागि द्वन्द्ववादी बन्नैपर्छ ।

‘दार्शनिक रचनाहरु’ नेपालका मार्क्सवादीहरुलाई दर्शनको अध्ययन र बुझाइमा मद्दत गर्ने एउटा महत्त्वपूर्ण पुस्तक हुनेछ । वामपन्थी नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’द्वारा अनुदित तथा सम्पादित र जागरण बुक हाउस, काठमाडौँद्वारा प्रकाशित यो पुस्तकमा कार्ल मार्क्सका तीन वटा, फ्रेडेरिक एङ्गेल्सको एउटा, भ्लादिमिर ई. लेनिनका तीन वटा, जोसेफ स्टालिनको एउटा, माओ त्सेतुङका छ वटा र ‘चीनको दार्शनिक मोर्चामा तीन प्रमुख संघर्ष’ शीर्षक चिनियाँ सर्वहारा साँस्कृतिक कालको एउटा दस्तावेज सहित जम्मा पन्ध्र वटा रचनाहरु समावेश गरिएको छ ।

प्रस्तुत पुस्तक दर्शन क्षेत्रका शव्दावलीहरुले भरिपूर्ण छ । पुस्तक पढ्दा केहि ठाउँमा पढ्न र बुझन अलि गाह्रो लाग्न सक्छ । तर यो दर्शनका पुस्तकहरुको आम विशेषता नै हो । यो सामान्य पाठकहरुका लागि कठिन हुन सक्ला तर दर्शन क्षेत्रको अध्ययन गर्नेहरुका लागि भने सामान्य नै हुनेछ । विश्वप्रसिद्ध नेताहरुका दार्शनिक आलेखहरुको अनुवाद र सम्पादन स्वयम्मा साधारण र सामान्य कुरा होइन, तर अझै मेहनत गरेको भए अध्ययन गर्न सहज हुन्थ्यो कि भन्ने आशा गर्न सकिन्छ ।

जे होस्, बजारिया साहित्यको बिगबिगि भएको वर्तमान उपभोक्तावादी समयमा अनुवादक र प्रकाशकले कम्युनिस्ट दर्शन अध्ययन गर्न चाहनेहरुका लागि यो सामग्री पस्केर राम्रो काम गरेका छन् । बजारले मार्क्सवादी पुस्तकको व्यापार र त्यसको आवश्यकता नै देख्न छोडेको समयमा यो पुस्तकको सम्पादन र प्रकाशन एउटा साहसिक कदम मात्रै होइन, नेपालमा माक्र्सवादप्रतिको आकर्षणमा कुनै कमी आएको छैन र राम्रो पुस्तक प्रकाशन गरे बिक्छ भन्ने एउटा उदाहरण पनि हो । यसका लागि अनुवादक र प्रकाशक धन्यवादका पात्र बनेका छन् ।

कृतिः   दार्शनिक रचनाहरुः मार्क्सदेखि माओसम्म
विधाः       दर्शन
अनुवादक तथा सम्पादकः हेमन्तप्रकाश ओली ‘सुदर्शन’
मूल्यः       रु ३००/–
पृष्ठः        २४६
प्रकाशकः जागरण बुक हाउस, अद्वैत मार्ग, काठमाडौँ ।