अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) नेपालका शोषित तथा उत्पीडित उत्पादक किसानहरूको साझा र नेतृत्वदायी किसान संगठन हो । देशभरका न्यायप्रेमी, देशभक्त तथा क्रान्तिकारी किसानहरू यसमा आबद्ध रहेका छन् । नेपालको जनवादी क्रान्तिको सफल नेतृत्व गरेको र समाजवादी क्रान्तिको वैचारिक तथा संगठनात्मक नेतृत्व गरिरहेको नेपाली जनताको प्यारो तथा गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठनको रूपमा आबद्ध यो संगठन नेपाली किसान आन्दोलनमा लामो र रक्तिम इतिहास बोकेको नेपालका श्रमजीवी किसानहरूको मुक्तिकामी संगठन हो ।
ऐतिहासिक पृष्ठभूमिः
नेपालका सर्वहारा श्रमजीवी जनतालाई सामन्ती दासता र साम्राज्यवादी तथा विस्तारवादी पराधीनताबाट बन्धनमुक्त गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र समाजवाद हुँदै साम्यवादसम्म पुराउने लक्ष्य राख्दै वि.सं. २००६ साल वैशाख १० गते शुक्रबार तद्अनुसार सन् १९४९ अप्रिल २२ तारिखमा लेनिन जयन्तीको दिनमा भारतको कलकत्ताको श्यामबजार इलाकाको २८, नवीन सरकार लेनमा अवस्थित एउटा घरमा बैठक बसी पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थापना भयो ।
त्यो ऐतिहासिक, तथा अग्रगामी महान् यात्रामा नेपाली किसानहरूको अत्यधिक सहभागिता गराउने एवम् श्रमजीवी किसानहरूको मुक्तिका लागि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको दूरदर्शी सोच र मार्गनिर्देशनसहित पार्टीका अर्का संस्थापक कमरेड निरञ्जनगोविन्द वैद्यको अध्यक्षतामा २००७ साल फागुन १४ गते अखिल नेपाल किसान संघ (अखिल नेपाल शुद्धीकरण किसान संघको नामबाट) गठन भयो (हेर्नुहोस् पुष्पलालका छानिएका रचना भाग ४ पृष्ठ १३१–१३२) । यसले आफ्नो स्थापनाको लगत्तै “अखिल नेपाल शुद्धीकरण किसान संघको घोषणा पत्र २००७” सार्वजनिक गर्यो । त्यसको घोषणा २००८ साल बैशाख १७ गते काठमाडौँको टुँडिखेलमा दशौँ हजार किसानहरूको उपस्थितिमा विशाल आमसभाको बिचमा गरिएको थियो ।

अखिन नेपाल किसान संघ को स्थापनापछि केही वर्षभित्रैमा यसमा हजारौँ हुँदै लाखौँ किसानहरू संगठित भए र किसान आन्दोलनहरूले अग्रगति लिन थाल्यो । किसान संघले संचालन गरेका संघर्षका कार्यक्रमहरूमा ठुलो संख्यामा किसानहरूले सहभागिता जनाए । कृषि क्रान्ति, क्रान्तिकारी भूमिसुधार, ‘जसको जोत, उसको पोत’ सहित अनेकिसंघले उठाएका किसानपक्षीय कार्यक्रमहरू नेपाली किसानहरूको बिचमा अत्यन्तै लोकप्रिय भए । २००८ सालदेखि २०१२ सालसम्मको अवधिमा नेपाली इतिहासमा पहिलो पटक असाध्यै महत्त्वपूर्ण र ठुलठुला किसान आन्दोलनहरू भएको कुरा स्मरणीय छ ।
अखिल नेपाल किसान संघ को प्रथम राष्ट्रिय सम्मेलन २००९ सालमा रौतहटमा भयो । उक्त सम्मेलनले क. तुलसीलाल अमात्यको नेतृत्मा किसान संघको केन्द्रीय समिति गठन गर्यो ।
अखिल नेपाल किसान संघ को दोस्रो राष्ट्रिय सम्मेलन २०११ सालमा भयो । यसले पनि क. तुलसीलाल अमात्यको नेतृत्वमा नै केन्द्रीय समिति गठन गर्यो । दोस्रो राष्ट्रिय सम्मेलनपछि किसान संघर्षहरू निरन्तररूपमा जारी रहे तर किसान संगठनको राष्ट्रिय सम्मेलन भने लामो समय हुन सकेन ।
२०३८ सालमा तेस्रो राष्ट्रिय सम्मेलन भारतको अयोध्यामा भयो, जसले क. जयगोविन्द साहको नेतृत्वमा केन्द्रीय समिति गठन गर्यो ।
२०४८ सालमा नेकपा (मशाल), नेकपा (विद्रोही मसाल), नेकपा (चौथो महाधिवेशन), सर्वहारा श्रमिक संगठन नेपाल र जनमुखी पार्टी नेपालको बिचमा एकता भएपछि २०४८ चैत्र १४–१८ सम्म बुटवलमा अखिल नेपाल किसान संघ को चौथो एकता राष्ट्रिय सम्मेलन भयो । सो सम्मेलनबाट क. दिलबहादुर श्रेष्ठको अध्यक्षतामा केन्द्रीय समिति गठन भयो ।
२०५१ सालमा पार्टी विभाजनसँगै किसान संगठन पनि विभाजित भएपछि संगठनका तत्कालीन उपाध्यक्ष क. पोष्टबहादुर बोगटीको अध्यक्षतामा २०५१ सालको असारमा प्रथम राष्ट्रिय भेलाद्वारा संगठनको पुनर्गठन भयो ।
२०५२ साल फागुन १ गतेबाट महान जनयुद्ध सुरुवात भयो र पार्टी जिम्मेवारी लिने सन्दर्भमा क. पोष्टबहादुर बोगटीले संगठनबाट बिदा लिनुभयो र २०५३ साउन महिनामा क. भक्तिप्रसाद लामिछानेको नेतृत्वमा संगठनको पुनर्गठन भयो । त्यसको २ महिनामै उहाँ गिरफ्तार भएपछि २०५३ मंसिरमा बसेको केन्द्रीय समितिको बस्तिारित बैठकले क. चित्रबहादुर श्रेष्ठको नेतृत्वमा संगठनको पुनगर्ठन भयो ।
२०५६ सालमा असोज १–३ गतेसम्म मकवानपुरमा भएको संगठनको दोस्रो राष्ट्रिय भेलाले संगठनको नाम अखिल नेपाल किसान संघ (२००७) लाई परिवर्तन गरी अखिल नेपाल किसान संघ (क्रान्तिकारी) मा रूपान्तरण गर्यो भने क. शिवराज गौतमको अध्यक्षता र क. चित्रबहादुर श्रेष्ठ महासचिव रहेको केन्द्रीय समिति निर्माण गर्यो ।
त्यसको ७ वर्षपछि २०६३ साल कात्तिक १–४ गते चितवनको रामपुरमा भएको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भयो र त्यसले पनि क. शिवराज गौतमलाई नै पुनः अध्यक्ष र क. चित्रबहादुर श्रेष्ठलाई महासचिवमा निर्वाचित गर्दै केन्द्रीय समिति निर्माण गर्यो ।
त्यसको २ वर्षपछि नेकपा (माओवादी) र नेकपा (एकता केन्द्र) बिच पार्टी एकता भएपश्चात २०६५ साल फागुन ४–५ गतेसम्म भएको अखिल नेपाल किसान संघ (क्रान्तिकारी) र अखिल नेपाल किसान संघ (२००७) बिच सम्पन्न भएको एकता राष्ट्रिय भेलाले संगठनको नाम अखिल नेपाल किसान संघ (२००७) राख्यो भने क. चित्रबहादुर श्रेष्ठको अध्यक्षतामा ९१ सदस्यीय केन्द्रीय समिति चयन गर्यो ।
२०६७ साल मंसिर २७–३०सम्म बाँकेको नेपालगञ्जमा सम्पन्न ऐतिहासिक छैठौँ राष्ट्रिय सम्मेलनले संगठनलाई महासंघमा रूपान्तरण गरी अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) नामाकरण गर्यो भने क. चित्रबहादुर श्रेष्ठको अध्यक्षतामा १९५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्यो ।
२०७३ साल बैशाख २७–२९ गतेसम्म महोत्तरीको बर्दिवासमा भएको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भयो, जसले क. चित्रबहादुर श्रेष्ठको अध्यक्षतामा १७५ सदस्यीय केन्द्रीय समिति चयन गर्यो ।
२०७४ साउन १७ गते ललितपुरको बाडेगाउँमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान संघ (क्रान्तिकारी), अखिल नेपाल किसान संघ (क्रान्तिकारी विद्रोही), अखिल नेपाल किसान संघ (माओवादी) र नेपाल गौरवशाली किसान संघ लगायतका क्रान्तिकारी किसान सङ्गठनहरूको ऐतिहासिक एकता राष्ट्रिय भेला सम्पन्न भयो र यसले पुनः क. चित्रबहादुर श्रेष्ठको अध्यक्षतामा ३२५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्यो ।
हालसालै यही २०७४ फागुन १९ गते शनिबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल किसान फेडरेसन र समाजवादी किसान संघ नेपाल बिचमा एकता पक्रिया सम्पन्न भयो र त्यसले क. चित्रबहादुर श्रेष्ठकै अध्यक्षतामा केन्द्रीय समितिलाई बिस्तार गरी ३५१ सदस्यीय केन्द्रीय समिति निर्माण गर्यो।
संगठनात्मक स्वरूपः
राष्ट्रिय सम्मेलन
केन्द्रीय समिति
केन्द्रीय सल्लाहकार समिति
केन्द्रीय विभागहरू
विषयगत किसान संगठनका केन्द्रीय समितिहरू
प्रदेश समिति (७ वटा भौगालिक र १ वटा केन्द्रीय कार्यालय विशेष प्रदेश)
जिल्ला समिति
क्षेत्रीय समिति
नगर/गाउँपालिका समिति
वडा समिति
टोल/सेल समिति
उत्पादन समूह र सहकारीहरू
किसान महासंघ बारेः
अखिल नेपाल किसान संघ (क्रान्तिकारी) को बाँके जिल्लाको नेपालगञ्जमा सम्पन्न ऐतिहासिक छैठौँ राष्ट्रिय सम्मेलनबाट सङ्गठनलाई महासङ्घको रूपमा रूपान्तरण गर्यो । साे निर्णयलाई साताैँ राष्ट्रिय सम्मेलन र ऐतिहासिक एकता राष्ट्रिय भेलाले समेत अनुमाेदन गरे । त्यसैअनुरूप अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) मा २० वटा पेसागत अर्थात् विषयगत किसान संगठनहरू आबद्ध रहेका छन् ।
पेशागत/विषयगत किसान संगठनहरूः
१. अखिल नेपाल तरकारी उत्पादक किसान संघ (क्रान्तिकारी)
२. अखिल नेपाल फलफूल उत्पादक किसान संघ (क्रान्तिकारी)
३. अखिल नेपाल दुग्ध उत्पादक किसान संघ (क्रान्तिकारी)
४. अखिल नेपाल पशुपालक किसान संघ (क्रान्तिकारी)
५. अखिल नेपाल मत्स्यपालक किसान संघ (क्रान्तिकारी)
६. अखिल नेपाल माहुरीपालक किसान संघ (क्रान्तिकारी)
७. अखिल नेपाल कुखुरापालक किसान संघ (क्रान्तिकारी)
८. अखिल नेपाल च्याउ उत्पादक किसान संघ (क्रान्तिकारी)
९. अखिल नेपाल रबर उत्पादक किसान संघ (क्रान्तिकारी)
१०. अखिल नेपाल चिया उत्पादक किसान संघ (क्रान्तिकारी)
११. अखिल नेपाल कफी उत्पादक किसान संघ (क्रान्तिकारी)
१२. अखिल नेपाल जडिबुटी उत्पादक किसान संघ (क्रान्तिकारी)
१३. अखिल नेपाल उखु उत्पादक किसान संघ (क्रान्तिकारी)
१४. अखिल नेपाल अलैँची उत्पादक किसान संघ (क्रान्तिकारी)
१५. अखिल नेपाल नर्सरी तथा पुष्प उत्पादक किसान संघ (क्रान्तिकारी)
१६. अखिल नेपाल मसलाबाली उत्पादक किसान संघ (क्रान्तिकारी)
१७. अखिल नेपाल युवा किसान किसान संघ (क्रान्तिकारी)
१८. अखिल नेपाल महिला किसान संघ (क्रान्तिकारी)
१९. अखिल नेपाल कृषि श्रमिक संघ (क्रान्तिकारी)
२०. अखिल नेपाल खाद्यबाली उत्पादक किसान संघ (क्रान्तिकारी)
२१. अखिल नेपाल माछापालक उत्पादक किसान संघ (क्रान्तिकारी)
२२. अखिल नेपाल भूमिहीन दलित किसान संघ (क्रान्तिकारी)
२३. अखिल नेपाल कृषि वन किसान संघ (क्रान्तिकारी)
२४. अखिल नेपाल सिचाइँ जलउपभोक्ता किसान संघ (क्रान्तिकारी)
केन्द्रीय विभागहरूः
१. संगठन विभाग
२. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
३. प्रचार-प्रसार विभाग
४. युवा परिचालन विभाग (युवा स्वयम् सेवक दल)
५. प्रकाशन विभाग
६. सहकारी तथा उत्पादन विभाग
७. आर्थिक विभाग
८. प्रशिक्षण विभाग
याे पनि पढ्नुहोस्ः अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का आधारभूत नीतिहरु – क. चित्रबहादुर श्रेष्ठ
याे पनि पढ्नुहाेस्ः सहकारी मार्फत् स्थानीय तहमा स्वरोजगारी सृजना – क. शेशुराम भण्डारी
याे पनि पढ्नुहोस्ः एकदेव आले, तिमीलाई सयबार सलाम – क. नारायणमान बिजुक्च्छे ‘रोहित’
यो पनि पढ्नुहोस्ः इमिलिअानो जापाता र मेक्सिकाेकाे किसान आन्दोलन – क. दधिराम खतिवडा
(लेखक अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का केन्द्रीय सचिव हुनुहुन्छ – सम्पादक ।)