काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक क. प्रचण्डले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा सम्पूर्ण किसान तथा नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दै कृषि क्षेत्रलाई राष्ट्रिय विकासको केन्द्रमा राख्न र किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
आज शुभकामना सन्देश जारी गर्दै संयोजक क. प्रचण्डले कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड भएको उल्लेख गर्नुभएको छ । श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाट नै राष्ट्रको खाद्य सुरक्षा, ग्रामीण अर्थतन्त्र र समृद्ध नेपालको आधार निर्माण भएको उहाँको भनाइ छ।
क. प्रचण्डले धान रोपाइँको मुख्य मौसममा पनि किसानहरूले रासायनिक मल, गुणस्तरीय बिउबिजन, भरपर्दो सिँचाइ तथा आवश्यक कृषि सामग्री सहज रूपमा प्राप्त गर्न नसकेको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न किसानमैत्री नीति, पर्याप्त लगानी, समयमै कृषि सामग्रीको उपलब्धता र प्रभावकारी सरकारी कार्यक्रम आवश्यक रहेको बताउनुभएको छ ।
“रोपाइँको यो मुख्य समयमा पनि किसानहरूले सहज रूपमा मल, बीउबिजन, सिँचाइ र आवश्यक कृषि सामग्री पाउन सकेका छैनन्। त्यसैले किसानमैत्री नीति र कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा विशेष गम्भीरता देखाउन म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,” शुभकामना सन्देशमा उल्लेख गरिएको छ।
उहाले राष्ट्रिय धान दिवसले कृषि र किसानप्रतिको सम्मान अभिवृद्धि गर्नुका साथै उत्पादन वृद्धि, खाद्य सुरक्षा र कृषि आत्मनिर्भरताको नयाँ सङ्कल्पलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
क. प्रचण्डले अन्त्यमा सम्पूर्ण किसान तथा नेपाली जनसमुदायमा सुख, समृद्धि र सफल खेतीपातीको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
यो पनि पढ्नुहोस्ः























