को हुन् क्वामे एन्क्रुमाह?
क्वामे एन्क्रुमाह समग्र अफ्रिकाको स्वतन्त्रता अभियान तथा साम्राज्यवाद विरोधी संघर्षका नायक हुन् । उनी घानाको समाजवादी क्रान्ति तथा वामपन्थी राजनीतिज्ञ तथा सन् १९५७ मा बेलायतबाट स्वाधीनता प्राप्त गरेपछि घानाका प्रथम प्रधानमन्त्री थिए र पछि राष्ट्रपतीय प्रणाली भएपछि घानाको पहिलो राष्ट्रपति समेत बनेका थिए । अफ्रिकी जनसमुदायमाझ अत्यन्त लोकप्रिय क्वामे एन्क्रुमाह ‘लेनिन शान्ति पुरस्कार’ पाउने तथा अफ्रिका एकता संगठनको संस्थापक प्रमुख व्यक्ति हुन् । अफ्रिका एकताका सुत्रधार उनी अफ्रिकाको स्वतन्त्रता, साम्राज्यवाद र उपनिवेश विरोधी अभियान, अफ्रिकी राष्ट्रवाद तथा वर्णविभेद विरोधी अभियानका अमर नाम हुन् ।
जन्म र बाल्यकाल

उनको जन्म सन् १९०९ सेक्टेम्बर २१ मा नक्रोफोल, गोल्डकोस्टमा भएको थियो । त्यतिबेला गोल्ड कोस्ट बेलायतको उपनिवेश थियो । सुनार पिता र खुद्रा व्यापारी आमाको कोखबाट जन्मेका उनले विद्यालय तहसम्मको शिक्षा घानामा पुरा गरेका थिए । त्यसपछि उच्च शिक्षाका लागि उनी संयुक्त राज्य अमेरिका गए । उनले लिंकन विश्वविद्यालयबाट स्नातकोत्तर पेन्सिलभेनिया विश्वविद्यालयबाट पूरा गरे । यहि क्रममा उनी मार्क्सवाद र लेनिनवादको अध्ययनबाट समाजवादतर्फ र मार्क्स गार्भीबाट राष्ट्रवादमा प्रभावित भए ।
राजनीतिक जीवनको सुरुवात्
उनले आफूलाई राजनीतिमा सक्रिय रुपले अघि बढाउने क्रममा अध्ययनका साथै संगठनको काम पनि सुरु गरे । अमेरिका र क्यानडाको अफ्रिकी विद्यार्थी संगठनको अध्यक्ष पनि भए । उनी बेलायत गई सन् १९४५ मा ५ औँ पान अफ्रिकन सम्मेलन (Pan-African Congress) सञ्चालन गरे । यस अभियानको मूल उद्देश्य अफ्रिकाको स्वतन्त्रता, साम्राज्यवाद र उपनिवेश विरोधी अभियान थियो । यसका साथै अफ्रिकी राष्ट्रवाद तथा वर्णविभेद विरोधी अभियानका समेत उनी अग्रणी नेता बने । अहिले पनि उनलाई पान-अफ्रिकन अभियानका सुत्राधार मानिन्छ ।
सन् १९४५ मा घाना फर्किएर युनाईटेड गोल्ड कोष्ट कन्भेनशनको (United Gold Coast Convention) सचिवको रुपमा काम गरी नयाँ आन्दोलनका लागि आधार बनाए । सन् १९४८ मा भएको बेलायत विरुद्धको प्रर्दशनमा उनलाई प्रकाउ गरियो ।
सन् १९४९ मा एन्क्रुमाहले आफ्ना समर्थक सहित लिएर युनाईटेड गोल्ड कोष्ट कन्भेनसनबाट छुट्टिएर कन्भेन्सन पिपुल्स पार्टी (Convention People’s Party (CCP)) गठन गरे, जसको प्रमुख उद्देश्य तत्कालमा स्वतन्त्रता र स्व–शासन थियो । उनले कन्भेन्सन पिपुल्स पार्टी मार्फत बेलायत विरुद्ध अहिंसात्मक शान्तिपूर्ण आन्दोलन अघि बढाए ।
सफलता
“हामी पूर्व वा पश्चिम तर्फ होइन, हामी सीधा अघि बढ्छौं ”, “स्वतन्त्रता एक मानिसले अर्को मानिसलाई प्रदान गर्ने उपहार होइन । यो त आफ्नो हो भनी दाबी गर्ने कुरा हो, जुन कसैले पनि हामीलाई बञ्चित गर्न सक्दैन” जस्ता अनेकन सशक्त भनाई अगाडी सार्ने क्वामे जेलबाट छुटेपछि सिधै निर्वाचनमा सामेल भए र १९५२ मा गोल्ड कोस्टको संसदमा पुगे र देशको प्रधानमन्त्री समेत बने । जब १९५७ मा ब्रिटिस उपनिवेशबाट गोल्ड कोस्ट मुक्त भयो र घाना स्वतन्त्र बन्यो, त्यसपछि उनी घानाका प्रथम प्रधानमन्त्री बने ।

सन् १९६० को नयाँ संविधान अनुसार घानामा राष्ट्रपतीय प्रणाली लागु भयो । सन् १९६२ मा उनको हत्या प्रयास भएको थियो । त्यसपछि उनी घाना मात्र नभई सम्पूर्ण अफ्रिकाको स्वतन्त्रता तथा वर्णविभेद विरोधी नेता बन्न पुगे । सम्पूर्ण पश्चिम अफ्रिका लगायत नाइजेरिया, कंगोमा समेत लोकप्रिय नेता बने । १९६४ मा उनी आधिकारिक रुपमा घानाको आजीवन राष्ट्रपति घोषित भए । पार्टी र संसदका आजीवन प्रमुख बन्ने नीति बन्यो । घानामा एक दलीय व्यवस्था लागु भयो ।
एन्क्रुमाह अफ्रिकी तथा अन्तर्राष्ट्रिय व्यक्तित्व बन्दा घानाका मुद्दा ओझेलमा परे । अमेरिकामा देखेको बेलायती शासनको विकल्प र भारतको १९४७ को स्वतन्त्रता संग्रामबाट पनि उनी प्रभावित भएका एन्क्रुमाको घानाको स्तन्त्रताका लागि गरेको आन्दोलन पूरै महादेशका लागि प्रेरणा र उदाहरण बन्न पुग्यो ।
दुखान्त देहावशान
एन्क्रुमाहको प्राथमिकता वैचारिक शिक्षा प्रवर्द्धन गर्नु थियो तर पार्टीका केही भ्रष्ट नेता, सरकारका निकम्मा तथा भ्रष्ट कर्मचारीको हातमा राष्ट्र पर्यो र देश गरिबी र आर्थिक संकटको भुमरीमा फस्यो ।
सन् १९६६ मा एन्क्रुमाह चीन भ्रमण जाँदा, घानामा सेना र पुलिसले ‘कू’ गरे र उनले आफ्नो बाँकी जिवन गिनीमा शरणमा बिताउनु पर्यो । सन् १९७२ मा बुकारेष्टमा क्यानसरबाट उनको मृत्यु भयो । उनका साम्राज्यवाद विरोधी, अफ्रिकी एकता, राष्ट्रवाद तथा (पान) अफ्रिकावाद सम्बन्धी थुप्रै कृति प्रख्यात छन् । अहिले घाना अफ्रिकाका केही शक्तिशाली देशहरुको सूचीमा पर्दछ । उनको सम्झनामा अहिले घानामा मात्र नभई थुप्रै अफ्रिकी देशमा विभिन्न संघ-संगठनहरु रहेका छन् । घानामा अस्पताल तथा विश्वविद्यालय रहेका छन् भने दक्षिण अफ्रिकामा अन्तर्राष्ट्रिय मार्क्सवादी प्रशिक्षण विद्यालय रहेको छ ।
यो पनि पढ्नुहोस्ः
प्याट्रिस लुमुम्बा: साम्राज्यवाद विरोधी अफ्रिकी क्रान्तिकारी
(लेखक अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हुनुहुन्छ।)









