मस्को, अमेरिकासँगकाे सम्बन्धमा कुनै सुधार नआएपछि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन मस्को पुगेका छन् । अमेरिकी एकल ध्रुवीय विश्व राजनीतिमा फरक धारको अनौपचारिक नेतृत्व गर्दै आएको रुससँग सम्बन्ध विस्तार गर्न किम मस्को पुगेको बताइएको छ । आफ्नै नीजि रेलमा हिजो बुधबार रुस पुगेका किमले आज रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । यो किमको पुटिनसँग पहिलो भेट हो ।
द्विपक्षीय भेटका अवसरमा किमले उत्तर कोरिया र रुस बिचको द्विपक्षीय सम्बन्धले कोरियाली प्रायद्वीपको समस्या हल गर्न मद्दत गर्ने बताएका छन् । भेटका अवसरमा पुटिनले उत्तर कोरियाको सर्वोच्च नेता भएकोमा बधाई दिँदै यो भेटले दुई देश बिचको सम्बन्धमा थप विकास गर्ने र कोरियन प्रायद्वीपको समस्या हल गर्न समेत यसले सहयोग पुर्याउने बताए । यसका साथै अमेरिकासँग कोरियाले शान्तिका लागि गरिरहेको प्रयासको समेत उनले सह्राना गरे ।
भेटपछि सञ्चार माध्यमसँग कुरा गर्दै कोरियाली नेता किमले रुसी राष्ट्रपतिसँगको वार्ता निकै लाभदायी हुने विश्वास व्यक्त गरे । व्यस्त समयका वावजुद पनि समय दिएकोमा पुटिनलाई धन्यवाद दिँदै किमले रुस र कोरिया बिचको ऐतिहासिक सम्बन्धलाई अझै उचाईमा लैजान यो बैठकले निकै महत्त्वपूर्ण योगदान पुर्याउने जिकिर गरे ।
अमेरिकाले रुसमाथि कडा प्रतिबन्ध लगाएकै बेला गरिएकाे यो भ्रमणवाट कोरियाले अन्तर्राष्ट्रिय समर्थन खोज्न थालेको टिप्पणी गरिएको छ । आणविक अस्त्रकाे चरम विकास गरेको कोरिया र अमेरिका बिच दुई पटक शीर्ष वार्ता भएपनि शान्तिपूर्ण निकास निस्केको छैन । अमेरिकाले कोरियाली प्रायद्वीपलाई आणविक अस्त्र मुक्त पार्न दबाब दिएपनि कोरियाले भने अमेरिकाले समेत सोही बमोजिम अघि बढ्नुपर्ने अडान लिँदै आएको छ ।
कोरियाले परमाणु अस्त्र परीक्षण गरेपछि उसमाथि झनै प्रतिबन्ध लगाइएको छ । यसले गर्दा कोरियाको जनजीवनमा प्रत्यक्ष प्रभाव परेको छ । अहिले पुटिनसँगको भेटघाटका पछाडि रुसबाट विगतमा जस्तो सहयोगको अपेक्षा कोरियाले गरेको हुनसक्ने आशा गरिएको छ । यद्यपि रुसले खुलेर कोरियालाई सहयोग गर्ने अवस्था भने छैन ।