सहिद
कति मरेर गयौ,
कतिले छाडेर गयौ,
अरुलाई बचाउँदै,
तिमी किन मरेर गयौ,
जिउँदो छउञ्जेल,
तिम्रो हाड छाला घोटेर खाए,
तिमी मरेर गएपछि
तिम्रो फोटा बेचेर खाए ।
तिम्रै नाममा,
कतिको महल बन्यो,
तिमीले उपचार नपाएरै मर्यौ,
तिम्रा नाममा,
सयौँ अस्पताल बने,
तिम्रै नाममा,
तिम्राहरु लुटिएका छन् ।
किनकि,
देशैभरी तिम्रो नाममा,
महंगा पसल थापिएका छन्,
तिमीले मुक्त गर्ने वर्गहरु,
तिम्रै नाममा,
उठ्नै नसक्ने गरी च्यापिएका छन् ।
सहिद,
तिम्रो मूल्य बढाएका छन्,
तर लक्ष्य र उद्देश्य सडाएका छन् ।
आदर्श बन्दगी राखेर खानेहरुको
जमात जन्मिएको छ ।
इमान्दारिता र नैतिकता सबै
धनको डाली चढेर अन्मिएको छ ।
वर्ग र वर्ग संघर्ष,
दलाल पुँजीपतिको झोलीको देउता बनेको छ ।
राजनीति थिति बिनाको,
मुठ्ठिभर बेइमानहरुको
ठेउका बनेको छ ।
देश असफल बनाउने,
घृणित दाउमा चलाइएको छ,
अक्षमहरुको सल्लाहमा यो स्वर्ग
खरानी हुने गरी जलाइएको छ ।
योग्य र सक्षमलाई
कि मारिन्छ,
कि पारिन्छ,
यहाँ यस्तै गरिन्छ,
चम्चा र चाकरीवाज अनि नारदमुनी
नबन्नेहरुको चीर सदा हरिन्छ ।
बैरी आफैभित्र छिपेर बसेका,
हुन्छन् सदा खराब,
पापी हुँदैनन् जति बोल्दा रिसले,
पिएर टन्नै सराब ।
सहिद भयौ तिमी देशमा,
क्रान्तिको आवेग उत्तेजनामा,
त्याग गर्यौ यो देश खाँतिरमा,
सदा बस्यौ जनका मन मनमा ।
हे मेरा पथप्रदर्शक,
तिम्रा सपनाहरु छन् अधुरा अझै,
तिम्रै नाममा निरन्तर
मुठ्ठिभर केहिले दुटेका छन् मजै ।
सलाम छ,
शीर झुकाइ सुमन श्रद्धा,
नमन सहिदको नाममा,
माघ सोह्र गते आजको दिन,
यो दिन्छु तिम्रै नाममा ।
तिम्रो नाममा
लुटी खानेहरु अब त
निखार्नु पर्छ देशबाट,
होइन भने सपना सकल
साकार हुँदैनन् पुनः यसबाट ।
विद्रोह अचुक सहज हुनेछ,
सहिद तिम्रै नाममा,
मैदानमा उत्रनेछन् सबैजना,
नगई कुनै काममा ।
सम्पूर्ण सहिदहरुप्रति श्रद्धाञ्जली
म अर्पण गर्दछु ।
(२०७४/१०/१६), सहिद दिवस,
कलंकी, काठमाडाैँ ।