मेराे सात वर्षे छोरो । जाे कक्षामा सँधै अब्बल दर्जामा उत्तीर्ण हुने गर्दथ्यो । यसपालि पनि उपल्लो कक्षामा भर्ना हुन पायो । हिजो मात्रै तलब आएको, मैले उसलाई नयाँ स्कुल पाेशाक अनि जुत्ता किन्न बजार लिएर गएँ ।
“पोहोरकै जुत्ता मर्मत गरेर लगाउँदा एक वर्ष भइहाल्छ नि ?” भन्दै जुत्ता किन्नै मानेन ।
आफ्ना लागि जुत्ता किन्नुको सट्टा उसले हजुरबाका लागि नयाँ चश्मा किनिदिन सुझायो । आफ्नो जुत्ताभन्दा हजुरबाको चश्मा बढी जरुरी ठानेर त्यसो भनेको होला भन्ठानेर मैले आफैलाई सम्झाएँ ।
त्यसपछि पोशाक पाइने पसलमा लिएर गएँ । पसलेले उसको नापको सेतो कमिज निकाल्यो । बाहिरबाटै हेर्दा एकदम सुहाउँथ्यो । तर पनि उसले अलि लामो कमिज देखाउन भन्यो ।
“मैले यसो किन भनेको ?”, सोधेँ ।
“केही छैन बाबा । कम्मरमा त मैले कमिज भित्रै हाल्नु पर्छ । अलिअलि ठूलो भएर केही हुन्न । अलिकति ठूलो भयो भने यही कमिज मलाई अर्को वर्ष पनि काम लाग्छ । म अलिकति बढेँ भने पनि यसैले हुन्छ । पोहोरको कमिज पनि त नयाँ जस्तै त छ नि । तर अलि छोटो भएर पो लगाउन नमिलेको ।”
यसरी उसले मलाई नै उल्टो सम्झायो । म बोल्नै सकिन । घर आएपछि छोरासँग सोधेँ, “तिमिलाई यति धेरै राम्रा कुराहरु कसले सिकाउँछन् बाबु ?”
ऊ बोल्यो, “बाबा, म देखिरहन्छु कहिले आमाले आफ्नो साडी नकिनेर, कहिले तपाईंले पुरानै जुत्ता मर्मत गरेर पनि मलाई नयाँ किताब, कापी अनि लुगाहरु किनिदिनु हुन्छ । टोल छिमेकमा सबैजना भन्ने गर्दछन्, हजुर एकदम इमनदार मान्छे हो रे । अनि हाम्रै छिमेकी राजुको बाबालाई सबैजना चोर, कुकुर, बेइमान, भ्रष्टाचारी यस्तै के के जाति भन्ने गर्दछन्, जबकि तपाईंहरु दुवैजना एउटै कार्यालयमा काम गर्नुहुन्छ । गाउँलेहरुले तपाईंको प्रशंसा गर्दा मलाई एकदम आनन्द र खुशी लाग्दछ । आमा र हजुरबा पनि तपाईंको तारिफ गर्नुहुन्छ ।”
उसले बडो गम्भीर मुद्रामा बोल्दै गयो, “बाबा म चाहन्छु बरु मलाई कुनै नयाँ ड्रेस नकिनिदिनोस् । नयाँ जुत्ता नपाइयोस् । तर तपाईंलाई कसैले चोर, बेइमान, भ्रष्टाचारी, कुकुर आदि नभनुन् । म तपाईंको पाखुरी बन्न चाहन्छु, कमजोरी होइन । ”
छोराको कुरा सुनेर म निरुत्तर भएँ । आज पहिलोपटक मेरो इमान्दारिताको पुरस्कार पाइरहेको थिएँ । जीवनकालभरमा धेरैपछि आँखामा खुशी, गर्व र आत्मसम्मानका आँशु बगे ।
याे पनि पढ्नुहाेस्ः राति बास्ने कुखुरो (क्रान्तिकालीन चिनियाँ कथा)
याे पनि पढ्नुहाेस्ः एकताका लागि त्याग गर – क. डि.बि. कार्की
याे पनि पढ्नुहाेस्ः मेरा बा किसान हुन् – हेम प्रभास
याे पनि पढ्नुहाेस्ः मध्य मैदानी प्रदेश – क. जोसे मारिया सिसोँ