म जस्ता
हजारौँ बालबालिकाले
लुटाएको बाल्यकालले सोधे
के दिन्छौँ परिवर्तनको अर्थ
जनयुद्धबाट फर्केको मैले
विचरा के नै दिन सक्थेँ र,
म आफैँ ( उमेरको कारण देखाउदै )
अयोग्य लडाकु बनेर फर्केको छु ।
युद्ध सक्किसकेपछि
एउटा कृत्रिम सपना जोडेर
असहाय प्राणी जस्तै
गाउँ फर्किन विवश भएँ ।
एउटा
आँखाबाट
आँसु झारेर विगत नियाल्न बाहेक
के नै गर्न सक्थेँ र ?
हिजोका
ती दिन सम्झिँदै निकै दिन टोलाएको छु,
भूमिगत हुँदा
देखेको सपना
चलचित्रका दृश्य जस्तै
आज पनि वरिपरि घुमिरहन्छन,
अनि
त्यो भोक, प्यास
त्यो दिन, रात
त्यो वर्गीय लडाइँ
आलो रगत
दयनीय चित्कार
आमाको प्रश्न
बाउको रोग
भोको पेट
गलेको शरीर
आधा चर्केको घर
बाँझो बारी
कपाल कन्याउँदै
आकाश नियालेर हेरिरहेछु,
ठूलो परिवर्तन
महलको उचाइ
पिठ्युँको घाउ
अन्यौल भविष्य
अनि
अयोग्यताकाे प्रमाणपत्र ।
