कमरेड, Sharad Poudel, Sarad Poudel, शरद पौडेल,
 

जनताको बहुदलीय जनवादमा
जब घोले कमरेडहरूले
एक्काइसौँ शताब्दीको जनवाद
धर्ती आकाश थर्काऊँदै
कमरेडहरू चिच्याए र सुनाए
अमृतघडामा भरिएर आयो समाजवाद ।
तातो समाजवाद, रातो समाजवाद ।।

धरापमा परेका महिलाहरूको अस्मिता उस्तै थियो र छ ।
मर्यादाहीन दलित जीवन उस्तै थियो र छ ।
श्रमजीवीहरू, किसानहरू
सीमान्तीकृत जीवनहरू
उसरी नै धरापमा थिए र छन् ।
तर भन्छन् नौरङे कमरेडहरू
हामी रातो समाजवादमा छौँ ।
हामी तातो समाजवादमा छौँ ।।

उच्चासनहरूको जीवन फेरिनु
साहुहरूले अझ बढी दाम कमाउनु
चेलीहरू अझ बढी बेचिनु
तन्नेरीहरू अझ बढी मुग्लानिनु
वा श्रमजीवीहरूको दुर्दशामा बढोत्तरी
सबै सबै
कमरेडहरूको समाजवादी जगमा?

न त रैती नागरिक?
न त संस्कृतिमा बदलाव?
न त आर्थिक दुर्दशामा सुधार?
न त नागरिक निर्णायक?
यो कुन रङ हो समाजवादको?

सोचिरहेछु
कमरेडहरूको नयाँ समाजवाद
सामन्तवाद र पुँजीवादको घोल ।
नयाँ ब्राण्ड, नयाँ स्वाद,
बिलकुलै नयाँ रङ्गको ।
श्रमजीवीहरू, गरिबहरू
किनारा र पिँधकाहरूलाई
पाखा पन्छाउँदै निर्माणाधीन
समृद्ध समाजवाद ।
सामन्तवाद र पुँजीवादको घोल ।।
नयाँ समृद्ध समाजवाद ।।।

याे पनि पढ्नुहाेस्ः वैज्ञानिक समाजवाद र कम्युनिस्टहरूबारे – क. स्वनाम साथी

याे पनि पढ्नुहाेस्ः  एमाले-माकेकृत समृद्ध समाजवादका नाउँमा – क. शरद पाैडेल

२०७४ चैत्र ३०

(क. शरद पौडेल प्रगतिशील साहित्यकार तथा बहुचर्चित ‘लिखे’ र ‘तपन’ जस्ता कृर्तिका रचनाकार हुनुहुन्छ ।)