विश्वका महान् समाजवादी नेता भ्लादिमिर इल्यिच लेनिनको जन्म २२ अप्रिल, १८७० मा सिम्ब्रिस्क (उल्यानोभस्क) सहरमा भएको थियो । यो सहर रुसको प्रसिद्ध भोल्गा नदीको किनारमा पर्दछ । लेनिनका पिताको नाम इल्या निकोलायभिच उल्यानोभ हो भने माताको नाम मारिया अलेक्सान्द्रोभ्ना ब्लाङ्क हो ।
लेनिनका पिता इल्या निकोलायभिच उल्यानोभले कलिलै उमेरमा गरिबीको मार खप्नु परे पनि जेठो दाजुको सहायता, आफ्नै कठिन परिश्रम र असाधरण प्रतिभाको फलस्वरूप मात्र उहाँले उच्च शिक्षा हासिल गर्न सफल हुनुभयो । लेनिनको आमा एक डाक्टरकी छोरी हुनुहुन्थ्यो । उहाँले घरमै शिक्षा पाउनुभएको थियो । लेनिनका माता-पिता शिक्षित रुसी नागरिक हुनु हुन्थ्यो ।
भ्यादिमिर इल्यिच लेनिनको बाल्यावस्था एउटा ठुलो र असाधरण रूपले मिलनसार परिवारमा बितेको थियो । उहाँ केटाकेटी उमेरदेखि नै निकै साहसी, प्रफुल्ल र ठट्यौलो मिजासको हुनुहुन्थ्यो । उहाँ पौडी खेल्न र स्केटिङ गर्न असाध्यै रुचाउनु हुन्थ्यो । उहाँ साथीहरूसँग मिलेर टाढाटाढासम्म घुम्न जाने गर्नु हुन्थ्यो ।
पाँच वर्षकै उमेरमा इल्यिचले लेखपढ गर्न सिकिसक्नु भएको थियो । उहाँ एक असाधारण प्रतिभाशाली छात्र हुनुहुन्थ्यो । उहाँ आफ्नो कक्षामा सधैँ प्रथम हुनु हुन्थ्यो । स्कुले जीवनमा नै उहाँले समाजमा पाइने क्रान्तिकारी किताबतर्फ आफ्नो नजर दौडाउन पुग्नु भयो । लेनिनलाई बेलिन्सकी, गेर्चेन, चेर्निशेभस्की, दोब्रोल्युवोध र पिसारेभ जस्ता क्रान्तिकारी डेमोक्रेटहरुको किताब र उपन्यास ‘के गर्ने ?’ विशेष मन पर्दथ्यो । यसरी स्कुले जीवनमा नै लेनिनले किताबी र बाहिरी सामाजिक क्रान्तिकारी ज्ञान हासिल गरिसक्नु भएको थियो ।
युवा लेनिनको दृष्टिकोणमाथि उहाँको परिवार, वरिपरिको जीवन, प्रगतिशील रुसी साहित्यको निकै ठुलो प्रभाव पारेको थियो । त्यसताका रुसमा द्रुतगतिले पुँजीवादी व्यवस्थाको विकास हुँदै थियो । पुँजीवादी शोषणका साथसाथै सामन्ती उत्पीडन पनि कायम थियो र त्यो शोषणले सहरिया मजदुरहरू र गाँउले किसानहरूको जीवन असहनीय तुल्याएको थियो । जारशाहीको अत्याचार, जमिनदार र पुँजीपतिहरूको दमन, मजदुर र किसानहरूको पद्दलित अवस्थाले किशोर लेनिनको हृदयमा शोषकहरूप्रति घृणा र शोषितहरूप्रति सहानुभूति पैदा गरेको थियो । विश्वविद्यालय अध्ययनकै क्रममा युवा लेनिनले प्रगतिशील र क्रान्तिकारी दृष्टिकोण राख्ने विद्यार्थीहरूसँग सम्बन्ध कायम गर्नुभयो । डिसेम्बर १८८७ मा विद्यार्थीहरूको क्रान्तिकारी सभामा सक्रिय भाग लिए बापत उहाँ विश्वविद्यालयबाट निष्कासित हुनुभयो र पछि उहाँ गिरफ्तार हुनुभयो । यसरी उहाँको क्रान्तिकारी जीवन सुरु भयो ।
युवाकालमै लेनिनले मार्क्सवादको गम्भीर अध्ययन सुरु गर्नुभयो । युवा लेनिन मार्क्सवादलाई त्यो वैचारिक हतियार ठान्नुहुन्थ्यो, जसद्धारा रुसी सर्वहाराले आफ्नो स्वतन्त्रता हासिल गर्न सक्दछ र रुसमा समाजवादी व्यवस्था कायम गर्न सक्नेछ । उहाँले मार्क्सको प्रमुख कृति ‘‘पुँजी” को गम्भीर अध्ययन गर्नुभयो । त्यसपछि लेनिन पक्का मार्क्सवादी बन्नुभयो र वैज्ञानिक समाजवादका महान् विचारधाराको जोडदार प्रचार गर्न थाल्नुभयो ।
गुबेर्नियामा साढे चार वर्षको बसाइमा लेनिनले मार्क्स र एङ्गेल्सका कृतिहरूको कठोर अध्ययन जारी राख्नु भयो, विदेशी भाषाहरू, विशेषतः जर्मन भाषाको गम्भीर अध्ययन गर्नुभयो । यसै समयमा उहाँले जर्मन भाषाबाट रुसी भाषामा मार्क्स र एङ्गेल्सको एक महत्त्वपूर्ण कृति ‘‘कम्युनिस्ट घोषणापत्र” को अनुवाद गर्नुभयो । सन् १८९२ मा लेनिनले सामरामा पहिलो मार्क्सवादी अध्ययन मण्डली खोल्नु भयो । मण्डलीका सदस्यहरू मार्क्स र एङ्गेल्सका कृतिहरू पढ्थे र सक्रियरूपमा मार्क्सवादको प्रचार गर्थे ।
मार्क्सवादी लेनिन १८९३ अगस्तमा पिटर्सबर्ग (त्यसताकाको रुसको राजधानी) आउनु भएपछि आफूलाई पूर्णरूपमा रुसको क्रान्तिकारी सर्वहारा नेतामा परिणत गर्नुभयो । लेनिन ठुलो स्फूर्ति र अभिलाषासहित क्रान्तिकारी कार्यमा लाग्नुभयो । मार्क्सवादको गम्भीर अध्ययन, रुसी परिस्थितिमा मार्क्सवादी विचारधारा कसरी प्रयोग गर्नुपर्छ भन्ने ज्ञान, मजदुर संघर्षका अजेयताप्रति दृढ विश्वास र महान् संगठनात्मक प्रतिभाका कारणले गर्दा लेनिन छिट्टै पिटर्सबर्गमा मार्क्सवादीहरूको वरिष्ठ नेता बन्ने स्थिति भयो ।
मार्क्सवादी विचारधाराको बिस्तार र मजदुर पार्टीको निर्माणमा उदारवादी नारोद्निकहरू मुख्य बाधाको रूपमा देखिए । पिटर्सबर्गमा लेनिनले उदारवादी नारोद्निकहरूको विरुद्ध आफ्नो संघर्ष जारी राख्नु भयो । नारोद्निकहरूले आफूलाई ‘जनताका मित्र’ र मार्क्सवादीहरूलाई ‘जनताको सत्रु’ भनेको बेलामा लेनिनले ‘‘जनताका मित्र” को हुन् र उनीहरू कसरी सामाजिक जनवादीहरूको विरुद्ध संघर्ष गर्दैछन् ? भन्ने पुस्तक निकाल्नु भयो र मार्क्सवादीहरूको रक्षा गर्नुभयो । लेनिनको यो पुस्तक तत्कालीन रुसमा अत्यन्तै लोकप्रिय बन्न पुग्यो ।
लेनिनले एक क्रान्तिकारी मार्क्सवादी पार्टीको निर्माणमा आफ्नो सम्पूर्ण शक्ति लगाउनु भयो र रुसमा लेनिनको नेतृत्वमा मार्क्सवादी पार्टीको स्थापना भयो । लेनिनको ठुलो निपूर्णताकासाथ सर्वहारा पार्टीका लागि संगठनकर्ताहरू र क्रान्तिकारी मजदुर कार्यकर्ताहरू तयार गर्दै जानु भयो ।
मजदुरहरू लेनिनलाई धेरै माया गर्दथे । उनीहरू उहाँलाई आफ्नो नजिकको सहृदयी र दयालु मित्र ठान्दथे । लेनिनका भाषण र लेखहरू रुसी सर्वहारा जनतामाझ प्रिय हुँदै जान थाले । लेनिनले लेख्नु भएका पुस्तक र पर्चाहरू अशिक्षित व्यक्तिहरूका लागि समेत सुगम हुन्थे । यी पुस्तकहरूमा मजदुरहरूको पद्दलित अवस्था र पुँजीजीवीहरूद्वारा उनीहरूमाथि गरिने वर्वरतापूर्ण शोषणको चित्रण गरिएको हुन्थ्यो । मजदुर वर्गको स्वतन्त्रताका लागि संघर्षका बाटोहरू देखाएका हुन्थे ।
सन् १८९५ को वसन्तमा पिटर्सबर्गका मार्क्सवादीहरूको अनुरोधमा ‘श्रम मुक्ति’ दलसँग सम्बन्ध कायम गर्न र पश्चिम युरोपेली मजदुर आन्दोलनको अध्ययन गर्न लेनिन विदेश जानुभयो । लेनिन स्विजरल्याण्ड हुँदै पेरिस र बर्लिन जानु भयो । स्विजरल्याण्डमा लेनिन ‘श्रम मुक्ति’ संगठनका नेताहरूसँग भेट गर्नुभयो भने पेरिस र बर्लिनमा रहँदा लेनिन फ्रान्सेली र जर्मनी मजदुरहरूका सभाहरूमा सामेल हुनुभयो, उनीहरूको रहनसहन र जीवन पद्धतिको अध्ययन गर्नुभयो । उहाँले विदेशमा रहँदा पनि मार्क्सवादी दर्शनको विकासमा आफ्नो समय लगाउनु भयो ।
सेप्टेम्बर १८९५ को सुरुमा लेनिन पिटर्सबर्ग फर्कनु भयो । उहाँ अझ धेरै उत्साहपूर्वक क्रान्तिकारी काममा लाग्नु भयो । उहाँ अक्सर आमसभाहरूको आयोजना गर्नुहुन्थ्यो र मजदुरहरूसँग कुराकानी गर्नुहुन्थ्यो । यसै समयमा लेनिनले ‘मुक्ति संघ’ को स्थापना गर्नुभयो । ‘मुक्ति संघ’ रुसको क्रान्तिकारी मार्क्सवादी पार्टीको पहिलो बिउ थियो । विस्तृत मजदुर आन्दोलन नै संघको कार्यक्षेत्र थियो र सर्वहारावर्गको संघर्षको नेतृत्व गर्थ्यो ।
‘मुक्ति संघ’ले रुसमा पहिलोपटक मजदुर आन्दोलनमा वैज्ञानिक समाजवाद प्रयोग गर्न थाल्यो । यसै कुरामा संघको महान् ऐतिहासिक भूमिका निहित थियो । ‘मुक्ति संघ’ को नेतृत्वमा सन् १८९६ को गृष्ममा पिटर्सबर्गमा कपडा कारखानाहरूका मजदुरहरूको चर्चित हड्ताल भयो । ‘मुक्ति संघ’ को क्रियाकलापमाथि कडा निगरानी राख्दै आएको जारशाही सरकारले छिट्टै संघमाथि कडा प्रहार गर्यो । डिसेम्बर १८९५ को सुरुमा लेनिनसहित संघका बहुसंख्यक कार्यकर्ताहरू गिरफ्तार भए । जेलमै लेनिनले प्रख्यात कृति ‘रुसमा पुँजीवादको विकास’ लेख्न सुरु गर्नुभयो ।
लेनिनकी जीवनसाथीको नाम नादेज्दा क्रुप्सकाया (नाद्या) हो । क्रुप्सकाया लेनिनकी श्रीमती मात्र नभएर एक असल राजनीतिक साथी पनि हुनुहुन्थ्यो । क्रुप्सकाया लेनिनको मृत्युपर्यन्त उहाँको निकटतम् मित्र, सहयात्री र सहयोगी रहनु भयो ।
सन् १९०० तिर लेनिनको तत्परता र उहाँको नेतृत्वमा सम्पूर्ण रुसभर ‘इस्क्रा’ को प्रकाशन सुरु गरी त्यसका सहयोगी र विक्री गर्ने व्यक्तिहरूको पूरा जाल नै विछ्याइयो । लेनिन अखबारको मुटु हुनुहुन्थ्यो ।
सन् १९०१ देखि भ्लादिमिर इल्यिचले आफ्ना केही लेखहरू लेनिन नामबाट छपाउन थाल्नुभयो । सन् १९०२ मा लेनिनको कृति ‘के गर्न?’ प्रकाशित भयो । त्यसपछि उहाँ पार्टी निमार्णमा खट्नु भयो ।
बोल्सेविक पार्टीको निर्माण भएपछि त्यो अजय शक्ति देखा पर्यो, जसले जमिन्दार र पुँजीपतिहरूको सत्ता ढाल्न, समाजवादको निमार्ण गर्न रुसी मजदुर वर्ग र समस्त श्रमिकहरूलाई ब्युझाउँदै थियो । लेनिन र उहाँका सहयोगीहरूद्वारा गठित बोल्सेविक पार्टी विश्वका समस्त कम्युनिस्ट तथा मजदुर पार्टीहरूका लागि एउटा नमूना बन्न पुग्यो ।
लेनिनले सन् १९०४ मा ‘एक पाइला अगाडि, दुई पाइला पछाडि’ भन्ने पुस्तक प्रकाशित गर्नु भयो । त्यस पुस्तकमा लेनिनले मजदुर आन्दोलनको मेरुदण्ड बनेको पार्टीको विरुद्ध मेन्सेविकहरू संघर्ष गर्दैछन्, पार्टीलाई नष्ट-भ्रष्ट गर्न चाहन्छन् भन्ने कुरालाई प्रष्टसँग उल्लेख गर्नु भएको थियो ।
सन् १९०५ को शरदमा रुसी क्रान्तिकारी आन्दोलनले विशाल रूप लिन थाल्यो । अक्टोबर महिनामा आम राजनीतिक हड्ताल सुरु भयो । कलकारखानाहरू, हुलकाहरू र टेलिग्राफ अड्डाहरू बन्द भए । पूरा राष्ट्रकै जीवन–स्पन्दन रोकिएसरी संघर्ष अगाडि बढ्यो । यो सर्वहारा संघर्षको त्यो नयाँ रूप थियो, जुन त्यस बेलासम्म अरु कुनै राष्ट्रमा भएको थिएन ।
नोभेम्बर १९०५ को सुरुमा लेनिन पिटर्सबर्ग आइपुग्नु भयो र देशभित्र नै बसेर पार्टी र क्रान्तिकारी संघर्षको नेतृत्व गर्न थाल्नु भयो । उहाँले ‘नोभाया जीज्न’ भन्ने पत्रिकामा आफ्नो लेखहरूद्वारा पार्टीका कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्नुभयो । यस अखबारमा निस्केका लेनिनका लेखहरूमध्ये ‘‘पार्टी संगठन र पार्टी साहित्य” लेखको विशेष महत्त्वपूर्ण स्थान छ ।
जारशाही लेनिनको क्षमतादेखि तर्सन थाले । लेनिन र लेनिनको नेतृत्वमा भएको सर्वहारा मजदुर आन्दोलनलाई दबाउन जारशाही क्रियाशील भयो तर सफल हुन सकेन । लेनिन रुसका जनतामाझ झन् धेरै लोकप्रिय हुन थाल्नुभयो र लेनिनले लिनु भएको नीति रुसका जनताको कार्यनीति बन्न पुग्यो । लेनिन रुसका सर्वहारा वर्गको निम्ति आस्थाको पुञ्ज बन्न सफल हुनु भयो ।
विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता लेनिनले बोल्सेविक नीतिको औचित्य प्रमाणित गर्न अथक परिश्रम गर्नुभयो । उहाँ मजदुर, बुद्धिजीवी, कामदार र विद्यार्थीहरूसँग वार्तालाप गर्ने कुनै पनि मौका छोड्नु हुन्नथ्यो । ९ मे १९०६ मा उहाँले पिटर्सबर्गमा ३ हजार जनताको उपस्थितिमा महत्त्वपूर्ण सभामा भाषण गर्नुभयो । उक्त भाषणमा लेनिनले निरङ्कुश शासनसँग कादेतहरूको बुर्जुवा पार्टीले गरेको साँठगाठको भण्डाफोर गर्नुभयो र सर्वहाराको क्रान्तिकारी नीति अगाडि सार्नु भयो ।
लेनिनले कठोर सङ्घर्षपछि पार्टी संगठनलाई बोल्सेविकहरूको वरिपरि गोलबन्द गर्न सफल हुनुभयो । त्यसपछि उहाँले पार्टीको पाँचौ महाधिवेशनका लागि गम्भीर तयारी गर्न सुरु गर्नुभयो । फेब्रुअरी १९०७ मा लेनिनले रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको पाँचौ महाधिवेशनमा भाग लिन लेनिन लण्डन जानु भयो र लेनिनले महाधिवेशनको नेतृत्व गर्नुभयो । महाधिवेशनमा लेनिनद्वारा प्रस्तुत बुर्जुवा पार्टीहरूप्रतिको दृष्टिकोण सम्बन्धी प्रस्ताव पारित भयो ।
पाँचौ महाधिवेशनले क्रान्तिमा बोल्सेविकहरूले अपनाएको नीतिको औचित्य स्वीकार गर्यो । अन्य प्रश्नहरूमा पनि बोल्सेविकहरूले मेन्सेविकहरूमाथि विजय हासिल गरे । महाधिवेशनका मजदुर प्रतिनिधिहरूसँग लेनिन ठुलो सद्भावना र सहृदयतापूर्वक वार्तालाप गर्नुहुन्थ्यो । पाँचौ महाधिवेशनले लेनिनलाई रसियाली सामाजिक जनवादी मजदुर पार्टीको केन्द्रीय समितिको सदस्य छान्यो ।
जुन १९०७ को सुरुमा लेनिन लण्डनबाट रुस फर्किनुभयो । फिनल्याण्डमा बसोबास गर्न थाल्नु भयो । महाधिवेशनको लगत्तै जारशाही सरकारले दमनको नीति लियो र दमन गर्न सुरु गर्यो । रुसमा कठोरतम् प्रतिक्रियावादी काल सुरु भयो । जनवरी १९०८ मा लेनिन स्विजरल्याण्डको जेनेभा सहरमा फर्कनु भयो ।
परन्तु लेनिनको सम्पूर्ण ध्यान रुसी क्रान्तिप्रति निर्दिष्ट थियो । लेनिन नयाँ जोश र शक्ति बटुलेर पार्टी कार्यमा लाग्नु भयो, नयाँ क्रान्तिको तयारी गर्न थाल्नु भयो । नयाँ क्रान्तिको विकास सम्बन्धी लेनिनको भविष्यवाणी छिटै साकार भयो । व्यापक क्रान्तिकारी संघर्षको यस अदम्य विकासलाई कुनै अत्याचार र उत्पीडनले रोक्न सकेन ।
सन् १९१० मा रुसमा फेरी मजदुर आन्दोलन चर्किन थाल्यो । पिटर्सवर्ग, मस्को र अरु ठुला–ठुला सहरहरूमा गृष्म र शरदमा हड्ताल, प्रदर्शन, सभा र अन्य राजनीतिक सक्रियता बढ्न थाले । क्रान्तिकारी आन्दोलन चर्कँदै गयो । ठुला कठिनाइँहरू पार गदै बोल्सेविकहरूले डिसेम्बर १९१० मा पिटर्सबर्गमा साप्ताहिक पत्रिका ‘‘जभेज्दा’’ निकाले । अन्ततः क्रान्ति अगाडि बढ्न सफल भयो ।
लेनिन समाजवादी क्रान्ति नजिक आउँदैछ भन्ने कुरा स्पष्ट रुपमा देख्दै हुनहुन्थ्यो र पार्टीलाई यस क्रान्तिका लागि तयार गर्दै हुनुन्थ्यो । ‘‘राज्य र क्रान्ति’’ पुस्तकमा लेनिनको समाजवाद र साम्यवादलाई साम्यवादी समाजको विकासका दुई खुड्किलाहरुको रूपमा हेर्नु भएको थियो । मार्क्स र एङ्गेल्सको विचारधारालाई विकसित तुल्याउदै उहाँले समाजवादले अनिवार्य साम्यवादमा संक्रमण गर्नेछ भन्ने कुरा देखाउनु भएको थियो । सन् १९१७ मा महान अक्टोबर समाजवादी क्रान्ति सफल भयो ।
६ मार्च १९१८ मा प्रेट्रोग्रादमा सातौँ पार्टी महाधिवेशन सुरु भयो । यो महान् अक्टोबर समाजवादी क्रान्तिको विजयपछि पहिलो महाधिवेशन थियो । लेनिनले महाधिवेशनको सम्पूर्ण कार्यको नेतृत्व गर्नु भएको थियो । उहाँले त्यसमा १८ पटक भाषण गर्नुभएको थियो । सातौँ पार्टी महाधिवेशनले बहुमतद्वारा लेनिनवादी नीतिको समर्थन गर्यो र ‘‘युद्ध तथा शान्ति सम्बन्धी प्रस्ताव’’ पारित गर्यो । लेनिनको प्रस्तावअनुसार पार्टीको नाम बदल्ने निर्णय भयो र यस महाधिवेशनदेखि पार्टीको नाम रसियाली कम्युनिस्ट (बोल्सेविक) पार्टी रहन गयो ।
११ मार्च १९१८ मा सोभियत सरकार मस्को सर्यो र मस्को सोभियत राष्ट्रको राजधानी बन्यो । जन कमिसार परिषद् र अखिल रसियाली केन्द्रीय कार्यकारिणी समितिका कार्यालयहरू क्रेमलिन भवनमा सरे । लेनिन पनि क्रेमलिन सर्नु भयो ।
भ्यादिमिर इल्यिच लेनिन कार्ल मार्क्स तथा फ्रेडरिक एङ्गेल्सका विचार, कार्य तथा शिक्षाका महान् अनुयायी हुनुहुन्थ्यो । उहाँले आफ्नो रुसी भूमिमा समाजवादको प्रयोग गरेर सफल पनि हुनुभयो । विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले मार्क्सवादका तिनै संघटक अंगहरू दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई विकसित तुल्याउनु भयो ।
समाजवादी क्रान्तिको तयारी र पूर्णताको समयमा होस् वा समाजवादको निर्माणका लागि संघर्षको समयमा, क. लेनिन पार्टीको प्रतिभाशाली नेतृत्वकर्ता हुनु हुन्थ्यो । भ्यादिमिर इल्यिच लेनिन बिसौँ शताब्दीको सबैभन्दा महान् घटनाको रुपमा रहेको महान् अक्टोबर समाजवादी क्रान्तिको नेृत्वकर्ता हुनु हुन्थ्यो, जसले सम्पूर्ण मानवजातिको विकासक्रमलाई मौलिक रूपमा बदल्न सफल भयो । लेनिनले सोभियत राष्ट्रमा समाजवादको निर्माण गर्न योजना तयार पार्नु भएको थियो । यो उहाँको अर्को महान् देन थियो ।
विश्वको पहिलो समाजवादी राष्ट्रका संस्थापक र महान् मार्क्सवादी चिन्तक क. लेनिन आज हाम्रो माझ हुनुहुन्न । उहाँको २१ जनवरी १९२४ मा मृत्यु भयो । तथापि उहाँको कर्म र महान् विचार युगौँयुगसम्म यो संसारमा रहिरहने छ ।
याे पनि पढ्नुहाेस्ः कार्ल मार्क्सको संक्षिप्त जीवनी
याे पनि पढ्नुहाेस्ः फ्रेडरिक एङ्गेल्सः जीवनी र कृतित्त्व
याे पनि पढ्नुहाेस्ः महान् अक्टोबर समाजवादी क्रान्तिबारे केही कुरा
याे पनि पढ्नुहाेस्ः लेनिन हराएकाे खबर (कविता) – क. बलराम तिमल्सिना
यो पनि पढ्नुहोस्ःक. लेनिनको गोली हानी हत्या गर्ने षड्यन्त्र – क. लिदिया अलेक्सान्द्रोभ्ना फोतिएभा