Sushanta Poudel सुशान्त पाैडेल
 

मालिक, ए मालिक
तिमी त गयौ क्यारे
अरे ! होइन होइन
छौ क्यारे ।
हो कि छैनौ ?

मालिक, ए मालिक
तिम्रा पछौटे त रहेछन् त
रहेछन् मात्रै के
बोकिरहेछन्
तिमिलाई ।

तर म तिम्रो
उही पुरानो रैती
तिमीलार्इ अब पनि
किन बोकूँ ?

मेरा सपनालाई शोकमा बदल्ने
मेरा सम्भावनालाई भोकमा बदल्ने
मेरा अवसरलाई रोगमा बदल्ने
मेरा प्राप्तिलाई जोकमा बदल्ने
हे मेरा मसाने मालिक
म तिमिलाई
किन बोकूँ ?

बिर्सेर मेरा हत्केलाका रेखामा
तिमीले नचाएको तरवार
मेरै जगमा मैलाई हराएर तिमीले बसाएको संसार
मेरै आगनमा मलाई नै जलाएर तिमीले पकाएको परिकार
अनि मेरो जगतमा तिमीले मच्चाएको हाहाकार
ए मेरा भु.पु. मालिक
म अझै तिमीलाई कति बोकूँ ?

तिम्रै पैताला मुनि दबिएको म
अलि अलि तङ्ग्रन खोज्दैछु
तै पनि तिम्रा भरौटे हेर न
फेरि तिमीलार्इ बोक् कि बोक् भन्दैछन् ।
मालिक तिमिलार्इ मसानघाटसम्मै
बोक्ने मै त हुँ ।
अझै कति बोकूँ ?

तिमीले मच्चाएको अनिकाल
तिमीले रचाएको महाजाल
तिमीले लत्याएको इतिहास
तिमी छ्ट्टाएको सङ्कटकाल
बिर्सेर मालिक
म तिमीलाई किन,
कसरी,
कहिलेसम्म बोकूँ ?

याे पनि पढ्नुहोस्ः मेरा मित्र – क. सुशान्त पाैडेल

यो पनि पढ्नुहोस्ः यस्ताे बेला – क. रसुवाली कवि