मंसिर २, झापा । देही आर्टको आयोजनामा झापा, काँकडभिट्टाको देवकोटा पार्कमा नारीहरूमाथि हुने उत्पीडनलाई चित्रकारितामा उतार्दै दुईदिने चित्रकला प्रदर्शनी भएकाे छ ।
प्रत्येक वर्ष विभिन्न थिममा आयोजना हुँदै आएको कार्यक्रमको यो चौथो शृृङ्खला हो । ‘अन्तस्करण’ शीर्षकमा भएको प्रदर्शनीमा देही आर्टका १७ जना प्रशिक्षार्थीको ४५ चित्रकला राखिएको आयोजक देही आर्टका प्रमुख एवं चित्रकार छितेन शेर्पाले जानकारी दिए ।
पारिवारिक समस्या, नारी उत्पीडन र पीडालाई चित्रकारितामा सुन्दर ढङ्गले प्रस्तुत गरिएको परिवर्तन थिएटरकी अध्यक्ष कविता नेपाल पोर्तेलले बताए ।
मेचीनगर–१० का वडाध्यक्ष ललित तामाङले देही आर्ट, रिडर्स झापा र परिवर्तन थिएटर जस्ता संस्थाको सिर्जनात्मक गतिविधिले काँकडभिट्टाको प्रतिष्ठा बढेको बताए ।
प्रदर्शनीमा राखिएका चित्र एक्रोलिक, वाटर कलर, पेन्सिल कलर र बल पेन्ट पोइन्ट प्रकृतिका रहेका छन् । शनिबारदेखि शुरु प्रदर्शनी दुर्इदिनसम्म चल्ने र अपरान्ह समीक्षा बैठक गरिने बताइएको छ ।