पानीको पुल बन्छ स्वच्छ मनको टेको लगायो भने
हावामा घर बन्छ स्वर्गसरीको संसार मै झल्किने ।
चम्केको बिजुली सँधै बलिरहने प्रकाश बन्ने भयो
कालो रात्रि दिवार बन्दछ भने दरवार आफै बन्यो ।।
छाना चम्चम चम्कँदैछ निलिमा आँखाहरु लाखन
झुल्यो जुन भने पुग्यो धरतीमा तारा उनी लाउन ।
ठण्डी हो ठिहीको कठोर सबमा न्यानो बनेको दिन
के ले छेक्न बिगार्न सक्छ दुनियाँ सम्बृद्धि हुर्काउन ।।

तातो सूर्य अनेक तेज लजको झोक्का उचाल्ने गरी
झुल्क्यो रक्तिम सूर्य हिमचुलीको देखिन्छ घुम्टो सरी ।
डाँफेको मुजुरा बने कलकली झर्ने सबै निर्झरी
भर्दै सिर्जन कर्म गर्न दुनियाँ लागे कमिला सरी ।।
माटो अमृत बन्छ स्वर्ण ढुकुटी ढुङ्गाहरु हुन् सब
हावा स्वास प्रस्वाशको मधुरीमा छोपिन्छ धर्ती जब ।
को चैँ पुग्छ खराब स्वास्थ्य नजिकै धर्ती सफा भो भने
सक्छु रच्न सबै ती गाऊँ नमूना सम्पन्नता झल्कने ।।
काठमाडाैँ, ८ मंसिर २०७५