Prakash Dahal with Bina Magar and Pranav Dahal
 

साँच्चै दुखेको मनको पीडा कम गर्ने औषधि बन्थ्यो भने त्यो औषधिको व्यापार कति फस्टाउँथ्यो होला । सोच्छु, ‘जीवन भनेकै उतारचढाव र जोखिम नै जोखिमको अर्को नाम रहेछ । प्रकाश तिमीले हामीलाई छोडेर गएको पनि आज एक वर्ष बितिसकेछ । यो बीचमा छ वटा ऋतुहरु सकिए । सिङ्गो हिउँद र वर्षात्हरु बिते । १२ महिनाले पालो फेर्‍यो, मैले भने अझै मनलाई कन्भिन्स गर्नै सकेकी छैन तिमी यो संसारमा छैनौ भनेर । हाम्रो यादकर क्षणहरु, तिमीले बोलेका शब्दहरु, तिमी हिँडेका बाटोहरु, तिमीले कोरेका हरेक मार्ग चित्रहरु या भनौं तिमीले रचेको सिङ्गो संसार अनि हिँड्दाहिँड्दै आधी बाटोमै छुटेको अधुरो यात्रा र हिँड्न बाँकी लामो यात्रा सम्झिरहें । फेरि सम्झें तिमीले मलाई छोडेको गहन् जिम्मेवारी ।

खोई कसरी खोलौं ती स्मृतिका पानाहरु ? आज तिमी गएको ठ्याक्कै एक वर्ष । मेरा भावनाहरु अलि बढी नै तरङ्गित भएका छन् । यादहरु पनि यति गाढा बनेर आएका छन् कि व्यक्त गर्ने कुनै शब्द नै छैन । प्रिय प्रकाश, तिमी यति छिटै जान्छौ भन्ने के थाहा यो दुनियाँलाई ? यदि थाहा पाउँथ्यो त तिमीले पनि माया, सद्भाव र प्रेरणाको अनुभूति जीवनमै गर्न पाउँथ्यौ होला ? तिमी गएको दिन हामी मात्रै रोएनौं, सिङ्गो देश रोयो । सारा नेपालीहरु रोए । तिमी सबैको मनमा बस्न सकेका रहेछौँ । सारा नेपालीले तिमीलाई माया गर्ने रहेछन् । यो कुरा सायदै तिमीले जीवनमा थाहा पाउने मौकै पाएनौ ।

अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुबा भन्न सक्छ । तिम्रो तस्वीर पहिचान गर्न सक्छ । हेर्छु, एकातिर राष्ट्रको लागि योगदान गर्नुपर्ने जिम्मेवारी छ । सँगसँगै छोराहरुलाई असल नागरिक बनाउने कर्तव्य पनि । तिम्रा यादहरुले पाइला बलियो टेक्न मद्दत गरिरहेका छन् ।

क्रान्ति नायकको छोरा तिमी, सबैले चिन्थे नै । स्वभाविक थियो मैले चिन्नु पनि । म राम्रैसँग चिन्थे तिमीलाई । हाम्रो औपचारिक भेटघाट र कुराकानी भने भएको थिएन । हाम्रो पहिलो भेट कहाँ भयो, त्यो मलाई ठ्याक्कै याद छैन । तर, मैले तिमीलाई सञ्चार माध्यममा खुब देख्थे, तिमी नेतृत्वको वरिपरि हुथ्यौ । खास अध्यक्ष कमरेडसँगै हुथ्यौ । हिरासतबाट छुटेपछि पार्टीले मेरो जिम्मेवारी विद्यार्थी मोर्चामै दियो । उपत्यकाको विद्यार्थी आन्दोलनसँग जोडिएपछि मेरो र तिम्रो व्यस्तता बराबरै थियो । देशमा चलेको राजनीतिक टकरावको वेग तिमीमा ठोकिन्थ्यो । सानैमा तिमीले आलोचनाका तिखा भालाहरु टाउकोमा थाप्यौ । के थाहा दुनियाँलाई तिमीभित्रको सरलता ! यो सरलतालाई मैले पनि बुझ्ने मौका पाएकी थिइनँ । लाग्थ्यो, ‘दुनियाँले भनेजस्तै साँच्चै बदमासीको प्रथम कोटीमा पर्ने केटा थियौ । तर, यथार्थ हल्लाभन्दा निक्कै फरक थियो ।

प्रकाश तिमी हिलोमा फुलेको कोमल थियौ । हिलोमा फुलेको सुन्दर कमलको फूललाई दुनियाले टिपेर हातमा खेलाउने चाहना राख्छन् । टिप्न नसकेपछि ढुङ्गाले हानेर धुजाधुजा पार्न खोज्छन्, तिमी थियौ त्यस्तै । नेतृत्वलाई सिध्याउन गरिएका लाखौ प्रयासहरु तिमीमा केन्द्रित हुन्थे । आम मान्छेजस्तै तिमी पनि सामान्य मान्छे त थियौ । कसैको छोरा, कसैको भाइ, कसैको साथी, कसैको प्रेमी । तिमीमा पनि मानवीय गुणहरु थिए । मानवीय कमजोरीहरु पनि थिए । इच्छा, आकाङ्क्षा र रहरहरु पनि थिए नै । यी सारा सम्बन्धहरुलाई तिमीले जसरी व्यवस्थापन गर्नुपर्ने हो, त्यसरी व्यवस्थापन गर्ने कौशल पुगेन होला । तर, तिमी मेरा लागि भने प्रिय थियौ । मेरा लागि मात्र होइन, परिवार, समाज, देशका लागिसमेत प्रिय थियौ । किनकि, तिमीमा सबैभन्दा ठूलो सद्गुण थियो सरलता, जनसम्पर्कलाई जीवन्त राख्ने चुस्त व्यवस्थापन, कुनै न कुनै माध्यमबाट आम जनतामा पुग्नसक्ने अद्भुत क्षमता ।

हामी राजनीतिक गर्ने मान्छे चौतर्फी हुनुपर्छ भन्ने मुख्य भावसहित लुम्बिनी सगरमाथा शान्ति अभियान सञ्चालन गर्ने सोंच बन्यो । त्यसको नेतृत्व कमरेड कृष्ण केसीले गर्नुभयो । तिमी सहकमाण्डर रहेछौ । अभियान टोलीको सदस्यहरुमध्ये म पनि एक थिएँ । यहिँदेखि मैले तिमीलाई नजिकबाट चिन्ने मौका पाएँ । चुनौतिपूर्ण यात्राको एक सहयात्री । स्वभाविक रुपमा भावनात्मक निकटता हुने नै भयो । यो तिमीसँग मात्र होइन, अभियान टोलीका दश जना सदस्य सबैमा आत्मीय र भावनात्मक एकता आवश्यक थियो । त्यसैमाथि पनि तिमी नेतृत्वका छोरा, साथै अभियान टोलिको सहकमाण्डर पनि । तिमीलाई सहयोग गर्नु हाम्रो कर्तव्य थियो । त्यसैले होला हामी अलि बढी तिमीमा केन्द्रित भयौं र निकट पनि । त्यसैले त त्यस्तो कठिन यात्रा सहज भयो ।

Bina Magar paying himage to PRakash Dahal

सफल सगरमाथा यात्रापछि आ–आफ्नो घर फर्कियौं । पर्यटन प्रवर्धन र दिगो विकासका लागि मुर्त योजनाको खाका कोर्दै थियौं । २६ मे २०१२ अर्थात् २०६८ जेठ १३ गते अभियान समापन गर्ने कार्यक्रम थियो । अभियानको समापन गर्न नपाउँदै परिस्थितिले अर्को मोड थियो । उताबाट फर्किएलगत्तै म पार्टी कामको सिलसिलामा कञ्चनपुर थिए । काठमाडौंमा हङ्गामा भएछ । तिम्रो र मेरो नाम जोडिएका समाचारहरु बनेछन् । त्यसले नेतृत्वलाई असर पर्ने हो कि भन्ने डर थियो । त्यसैले आफ्नो ठाउँबाट सकेसम्म खण्डन गर्ने कोशिस गरें । तर, मेरो केही लागेन । त्यसपछि त झन् तिम्रो र मेरो नाम जोडिएका समाचारको बाढी नै आयो । यति प्रचार नभएको भए सायद हामी प्रेमको बन्धनमा बाँधिने सम्भावना थिएन । हामी दुवैको बाटो फरक हुन्थ्यो । ‘जे हुन्छ राम्रैका लागि हुन्छ’ भन्थे, हो रहेछ ।

प्रचार हुनुअगाडि दुनियाँले भनेजस्तो, बुझेजस्तो र प्रचार गरेजस्तो हामीमा केही थिएन । तिमी र म मिल्ने साथी थियौं । यो कुरा तिमी र मलाई मात्र थाहा थियो । त्यति बेलासम्म हामी मात्र कमरेड थियौं । प्रेमी प्रेमिका भएकै थिएनौं । यो कुरा दुनियाँले अझै पत्याउँदैन होला । अब पत्याउनुपर्ने आवश्यकता पनि छैन । परिस्थितिले नै हामीलाई प्रेमी–प्रेमिका बनाइदियो । अप्रत्यक्ष रुपमा दुनियाँले नजिक बनाइदियो । प्रेमको अगाडि संसारले हार्छ । तिमीले र मैले हार्‍यौं कि जित्यौं, त्यसको उत्तर मसँग छैन । तर, हामी सँगै बाँच्ने निधो गर्‍यौं । हाम्रो नाम जोडेर प्रचार गर्ने सम्पूर्ण सञ्चार माध्यमलाई धन्यवाद दिँदै हामी दाम्पात्य जीवनमा गाँसियौं ।

बिगार्नका लागि होइन, बनाउनका लागि एक भयौं हामी । प्रेम र युद्धमा भएका सबै गल्ती क्षमायोग्य हुन्छन् भन्ने मान्यतासहित दुवैले गल्ली स्वीकार्ने र निरन्तर अघि बढ्ने निर्णय गर्‍यौं । हामी पनि यही दुनियाँका छोराछोरी थियौं, यही समाजमा हुर्केका, बढेका । आम मान्छेमा जस्तै हामीमा पनि मानवीय सीमाहरु थिए । हामीले गल्ती गरेका थियौं एक अर्कालाई प्रेम गरेर । तर, तिमीलाई पाएर म औधि खुसी भएँ । अब तिमीलाई माया गर्ने, सकेसम्म खुसी र सुखी बनाउने सोंच बनाएँ । सँगै बाँच्ने, बाँकी जीवन सँगै बिताउने, आउने चुनौति मिलेरै सामना गर्ने र देश र जनताका पक्षमा निरन्तर लड्ने निधो गर्‍यौं ।

जीवन राम्रै चल्दै थियो । विवाहपछि हाम्रो जीवनमा सङ्घर्षको रुप फेरियो । अभाव, समस्या, दुःखलाई हामीले नजिकबाट नियाल्यौं । यता अध्यक्षको छोराले करोडौं रुपैयाँ उडायो बनेर प्रचार हुँदै थियो, उता तिमी र म गाँसको जोहो गर्न जागिर खोज्दै थियौं । शैक्षिक योग्यताको प्रमाणपत्र पनि नेपालमै छुटेको थियो । त्यसैकारण हामीले केही समय डिपार्टमेन्ट स्टोरमा काम गर्‍यौं । तलब कम र काम अत्यधिक भएपछि त्यहाँ छोडेर रिर्सोटमा काम गर्ने सोंच बनायौं । तर, त्यहाँ पनि नेपालीहरुको ‘आउ–जाउ’ बढी नै हुने रहेछ । त्यहाँ पनि काम गर्न अप्ठेरो लाग्यो । चाहेको भए नेतृत्वको नाम बेचेर मस्ती गर्न नसक्ने पनि होइन । तर, हामीले त्यसो गरेनौं । आफै काम गरेर बाँच्ने योजना बनायौं ।

प्रकाश, साच्चै त्यतिबेला तिमीलाई अझै नजिकबाट चिन्ने मौका पाएँ । तिमी नेतृत्वप्रति असाध्यै जिम्मेवार थियौ । तिमी कति आदर्श छोरा रहेछौ, एउटा योग्य पार्टी सदस्य रहेछौ । त्यो मैले राम्रै अनुभूति गरें । तिमी दिन प्रतिदिन मेरो आँखामा प्रेरणाको पुञ्ज बन्दै थियौ, तिम्रो व्यवहारले माया चुलिँदै थियो । अभावको बीचमा पनि हामी एक–अर्काप्रति असाध्यै खुसी थियौं । तिमीसँग जीवन बाँच्न पाउँदा मलाई संसारका सबै अभाव, दुःख र समस्या स्वीकार्य थिए । प्रेमको अर्को नाम रहेछ त्याग । मलाई पन्ध्र–सोह्र वर्षको राजनीतिक जीवन दाउमा राख्नमा पनि कुनै पछुतो थिएन, किनकि मैले तिमीलाई पाएकी थिएँ । परिवारसँग टाढा हुनुपर्दा दुःख त लाग्थ्यो । तर, तिम्रो एक झल्को मुस्कानले सबै दुःख भुल्थें ।

मलाई राजनीतिमा उर्जा पैदा गर्न तिमीले गरेका प्रयास आजभोलि खुब सम्झन्छु । ‘राजनीतिमा सक्रिय भएर देशका लागि योगदान गर्नुपर्छ’ तिम्रो मप्रतिको पहिलो चाहना र खवरदारी यही थियो । मैले राजनीतिमा सफल भएर बेथितिहरुको अत्न्य गरेको हेर्ने तिम्रो सपना थियो । तिम्रै चाहनाअनुसार हामी नेपाल फर्कियौं र राजनीतिक जीवनलाई निरन्तरता दियौं । शून्यताबाट राजनीति सुरु गर्ने सल्लाहबमोजिम म कञ्चनपुर लागें । म गृहजिल्लाकै माटोसँग लुकामारी गरें । यता तिमी गाई र बङ्गुर पाल्न चितवनतिर लाग्यौ । तिमी गाईगोठ र बङ्गुरका खोरहरुमा व्यस्त थियौ, म गृहजिल्लामा जनताका घरदैलोमा । तिमीले फोन गर्दा म दिदीबैनीहरुको समीप हुन्थें । मैले फोन गर्दा तिमीचाहिँ चोक्करको बोरा बोकेर बङ्गुर फार्ममा । काखमा दूधे बालक बोकेर जनताको सेवामा लाग्दा पनि मलाई कुनै दुखको अनुभूति हुँदैनथ्यो । सम्पूर्ण रुपले फेरिएको हाम्रो दिनचर्या धेरै समय यसरी नै चल्यो ।

संविधान सभाको पहिलो चुनावमा मैले व्यहोरेको असफलतामा पनि तिमीले हार नमानी अगाडि बढ्न सल्लाह दियौ । म फिल्डमा निरन्तर खटिरहें । तिमीले यताबाट उत्साह थपिराख्यौ । परिस्थिति विजयको सन्निकट थियो । चुनाव प्रचारको दौडधुपले तिम्रो स्वास्थ्य दिन प्रतिदिन नाजुक हुँदै गएछ । तिमीले आफूलाई सञ्चो नभएको विषय कहिल्यै भनेनौ । अकस्मात् यस्तो परिस्थिति आउला भन्ने मैले कल्पनासम्म गरिनँ । कल्पना गर्थें भने चुनाव प्रचार छोडेर तिम्रो हेरचाहमा आउँथें । अहिले सम्झन्छु, भक्कानो फुटेर आउँछ । अचानक तिमी गएपछि मात्र जानकारी पाएँ, ‘त्यो परिस्थिति सम्झदा मन बेचैन हुन्छ ।

मङ्सिर तीन गते तिमीले दुनियाँ छोड्यौ । बुबा, ममी, साना छोराहरु प्रसिद्ध र प्रणव एवं सम्पूर्ण आफन्त आज भावविह्वल छन् । आज परिस्थिति अर्कै छ, राष्ट्रले मलाई जिम्मेवारी थपेको छ । बाचा गर्छु, ‘बाँकी जीवन देश र जनताकै लागि समर्पण गर्नेछु । देशको राजनीतिक परिवर्तन, आर्थिक समृद्धि, सुशासन र स्थिरताका लागि तिमीले गरेको त्याग र योगदान सधैं स्मरण गर्नेछु । जस्तो परिस्थितिमा पनि परिवार, देश र जनताको हित भुल्ने छैन ।’

पलपल सम्झनाका साथ अलबिदा प्रिय प्रकाश !

३ मङ्सिर, २०७५