रातो रगतले कोरिएको साँध छ
खेतमा डिल लाएझैँ
हेर, हरेक राष्ट्रका फाँटमा !
यो हो भारत, यो हो पाकिस्तान
हिन्दू-मुसलमानको रगतले मुछिएको
यही हो रेखा महान् !
यो जर्मनी, यो इङ्गल्यान्ड
यो रुस, यो जापान ।
अणुबमले खाएको,
हेर नागासाकी, हिरोसिमा !
हिटलरको भूतले सताएको
यही हो युरोप कङ्काल,
यही हो अमेरिका,
डलरको देश-
‘अणुबम’ को निर्माता
शान्तिको सन्देश ।
जता हेर
रातो रगतले लाएको छ घेरा
परेवालाई गन्जकमा बन्द गरेझैँ
मानिस छन् बन्दी यस खोरमा।
मेरी छोरी,
(कुनै दिन त्यस्तो आउला)
जब सबले मिलेर,
हातमा हात गाँसेर,
अङ्कमालमा बाँधिएर-
हब्सी, आर्य, मङ्गोल
पलिनिसियन, द्रविड, काले
सबले पुछ्नेछन्
आँखाको प्याला घोप्ट्याएर
आँशुले त्यो रक्तरेखा ।
अनि,
धेरै कालपछि-
मेरी छोरी,
कुनै दिन त्यस्तो आउला
त्यो रातो रेखा खोजे पनि
तिमी पाउने छैनौ त्यहाँ ।
(सुपरिचित साहित्यकार विजय मल्लको यो मानवतावादी प्रगतिशील कविता यहाँ पुनः प्रकाशन गरिएको छ । स्रोतः रामचन्द्र श्रेष्ठको फेसबुक वालबाट)