Khola ko Dobhan. Jindagi ko dobhan
 

जिन्दगीका दोभानहरु देखिएकै हो
समयका दोसाँधहरु टेकिएकै हो
एउटा साँघुरो गल्लीबाट
छामछाम् छुमछुम् गर्दै अघि बढ्दा
रुमानी रहरहरु मिल्काइएकै हो
र फेरी
नौलो बिहानीका रहरहरु हुर्काइएकै हो ।

अँध्यारा वस्तीहरु सजाउने
सपनाहरु देखिएकै हो
जनतालाई ठग्नेहरु विरुद्ध
विद्रोहको जिहाद छेडिएकै हो
अप्ठ्यारा ती भीर र कान्लाहरुमा
जति सकियो गोरेटो सम्याइएकै हो ।

क्रान्तिका भीषण मोर्चाहरुमा
कतै न कतै त आयाम थपिएकै हो
छिचोलेकै हो ती संघर्षहरु पनि
दोहोर्‍याइएकै हुन प्रतिबद्धताहरु पनि ।

परिवर्तनका ती अभिष्टहरु पुरा गर्न
मुक्ति या मृत्युको कफन बाँधेर
निकै गौरबमय परिवेशमा
गाइएकै हो
सर्वहारा वर्गको अन्तर्राष्ट्रिय गीत पनि ।

इतिहासको यस घडीमा
गर्नुपर्ने अझै धेरै छन् कामहरु
निभाउनु पर्ने अझै कैंयौ छन् भूमिकाहरु
म कसरी आस्वस्त हुन सक्छु
आलै छन् शहीदका रगतहरु ।

फेरि आज
इतिहासको कठघरामा उभिएर
प्रश्न गरिरहेछु आफैले आफैसँग
के ? पुरा गर्न सकिन्छ
शहीदका सपनाहरु
इमान्दार र्कतव्यनिष्ठ बनेर
के ? पछ्याउन सकिन्छ
शहीदका पदचापहरु ।

Aastha Kc, famous journalist and well-known poet
लेखक