Ram Prasad Sapkota 'Deepshikha'
 

श्रीमान, म माओवादी हुँ । पक्का माओवादी । मेरो नशानशामा माओवादी छ । त्यो दिनदेखि–जुनदिनदेखि माओवादीले न्यायको हतियार उठायो । म हजुरको कानुनले व्याख्या गर्ने गरेको त्यो अपराधी र माओवादी हुँ । हजुरलाई फेरि भनुँ–म लड्खडाएको छैन र उस्तै त्यो कालको जस्तै आज पनि माओवादी हुँ ।

यो बयान होइन – हजुरलाई भ्रम नपरोस् । यो आरोप होइन – हजुर हैरान नपरिस्योस् । यो सफाई पनि होइन – म सफाई लेख्न जरुर ठान्दिन । यो बिन्ति होइन – आक्रोश हो । यो हजुरहरुमाथिको नालिस हो । फैसला जनताले गर्छ – किनभने आज पनि म जनताको अदालतलाई सलाम गर्छु ।

हजुरले मेराहरुमाथि लेखेको फैसला देखेपछि मलाई केही लेखुँ लाग्यो –

हो, म लडेकै हो । मैले युद्ध गरेकै हुँ । हामीले सप्ताह लगाएको थियौँ –  म भनिरहेको छैन । त्यो १२ वर्षे ‘राम वनबास’ पनि थिएन । न भद्रभलाद्मी बोलाएर रुद्री गरिएको थियो । त्यो युद्ध थियो – न्यायका लागि लडिएको एउटा महान युद्ध ।

म सम्झाऊँ हजुरलाई – युद्ध रक्तपातपूर्ण हुन्छ । युद्ध भयानक हुन्छ । युद्ध रहरमा जन्मदैँन । युद्ध पीडामा जन्मन्छ, आक्रोशमा जन्मन्छ । न्यायका लागि अन्यायका विरुद्धमा जन्मन्छ । संसारमा युद्धको नियम यही हो । युद्धमा मानिसहरु मर्छन् र मारिन्छन् । हो त्यही युद्धको म सिपाही हुँ ।

हामीले लडेको युद्ध आंतकवाद थिएन । त्यो न्यायिक युद्ध थियो । न्यायिक थिएन भने त्यो युद्धसँग हजुरको राज्य झुक्दैनथ्यो । युद्धका सिपाहीहरुसँग राज्यले सम्झौता गर्दैनथ्यो । ती सिपाहीहरु राज्यका राष्ट्रिय सिपाही बन्दैनथे ।

हजुरलाई हेक्का होस् – हामी हजुरको राज्यले युद्धमा हराएर दाम्लोले बाँध्दै हजुरको कठघरामा उभ्याइएको युद्धबन्दी होइनौँ । राज्यका विद्यमान कानुन फेर्ने र उत्पीडितहरुलाई राज्य चलाउन दिने शर्तनामामा दुई सत्ताबिच भएको समझदारीमा आएका हौँ ।

हजुरलाई थाहा छ – युद्धमा घटेका जघन्य घटनाहरुमाथि विद्यमान न्याय सिद्धान्तभन्दा अलग्गै निकायले जाँचबुझ गर्छ । हाम्रो युद्धका सवालमा पनि सोही भनिएको छ । माओवादी सेना समायोजन भए । माओवादी युद्धका कमाण्डरहरु आज पनि राज्यको सम्मानित निकायमा जनताले जिताएर पठाएका छन् । ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ बनाउने कुरा सम्झौतामा उल्लेख छ ।

हजुरको आदेश त्यो ‘आयोग बनाऊ’ भनेर कहिल्यै आएन । तर ती लड्नेहरुलाई थुन भनेर आयो । लड्नेहरुलाई नछोड भनेर आयो । ती अपराधी हुन् भनेर आयो ।

श्रीमान, कानुन पढिएको छैन । उसो त हामी ‘जंगलीहरु’ले त्यति जान्ने कुरा पनि भएन । तर हामीले लडेर ल्याएको गणतन्त्र र नयाँ संविधानको कानुनभन्दा हजुर कसरी माथि होइसिन्छ ? एक मनमा लाग्छ – कानुन फेरियो । कानुनले राज्य फेर्‍यो । तर हजुरहरु फेरिनु भएन । फेरिन जरुर ठान्नु भएन । भनिस्योस् न श्रीमान, राणाहरुको जंगी कानुन र हजुरको उदण्ड फैसलामा के फरक छ ? उ बेला कानुन भन्दामाथि राणाहरु हुन्थे । पञ्चायतमा पञ्चहरु भए ।

प्रजातन्त्रमा कानुन बेपत्ता थियो । गणतन्त्रमा हजुरहरु कानुनभन्दा माथि होइसिन्छ । ती जंगीहरु, ती पञ्चहरु भन्दा हजुर कसरी फरक हुनुभयो ?

हजुरले मानिस्येन। अरुको पूनर्रसंरचना, न्यायालयको हुनुहुँदैन भनिस्यो । हजुरहरु फेरिन परेन । हजुरहरुको काम गर्ने शैली बदल्नु परेन । हजुरहरु कानुनभन्दा माथि होइसिन्थ्यो र त लड्नेहरुमाथि कानुनका डण्ठा बजार्दै हुनुहुन्छ ।

म र म जस्तैले लडेर आएको गणतन्त्र, संघियता, र धर्मनिरपेक्षताको महान व्याख्या वा नजिर कायम गर्ने स्थानमा हजुर विराजमान होइसिन्छ । त्यो आसन त हजुरको हिजोकै हो । त्यो आसन फेर्न लडेको म, त्यो आसनमा न्यायको तराजु झुण्ड्याउने श्रीमान होइन तराजु जस्तै अडिग श्रीमानका लागि लडेको एउटा लडाकु हुँ ।

भनिस्योस् – हजुरको न्यायालयमा अहिले विचाराधिन मुद्दा कति छन् ? हाम्रा दाइभाइले न्यायका लागि हालेका दरखास्तको चाङ हजुरभन्दा कति फिट अग्लो छ ? यो देशका ठालुहरुका विरुद्ध परेको मुद्दा कता बेपत्ता छन् ? हजुरलाई ख्याल होस् – हजुरको न्यायघर धाउँदाधाउँदै तीन पुस्ते पुस्ता सकिएका हजारौं छोरानातिहरु छन् । बा’हरु भन्थे – कानुन अन्धो हुन्छ । मलाई लाग्थ्यो–गणतान्त्रिक कानुन अन्धो हुँदैन । बा’लाई अब मैले भन्नपर्ने भयो – ए मेरा बा, कानुन बहिरो पनि छ ।

हजुरको कानुनले ठालुहरुसँग घुडा टेक्छ, निर्धाहरुसँग परेड खेल्छ । मैना सुनुवारको बलात्कारमाथि नलाग्ने र बालकृष्णमाथि लाग्ने हजुरको कानुन आफ्नाहरुसँग अन्धो हुन्छ, पराईहरुका इन्द्रीय देख्छ ।

कानुनले देख्दैन । कानुनले सुन्दैन । श्रीमान, अड्कलेर सुन्ने र देख्ने यो कानुन कसले बनाएको ? कानुन विवेकले चल्छ कि चल्दैन ? कानुन आवेगले चल्छ कि चल्दैन ? कानुन दुःखमा रुन्छ कि रुँदैन ? कानुन खुशीमा हाँस्छ कि हाँस्दैन ?

कहिले लाग्छ – कानुन मौन हुन्छ, यसले केही गर्दैन । कहिले काग्छ–कानुन मिथ्याको वायुपंखी घोडाजस्तै चलायमान छ, यसले जे पनि गर्छ ।

कानुन एउटै हो – हजुरको हातमा परेपछि छुट्टीभिन्न हुन्छ । अँ साँच्चि, हजुरको कानुनले पालो फेरिफेरि एउटैलाई योग्य र एउटैलाई अयोग्य देख्छ । हजुरको कानुनले ठालुहरुसँग घुडा टेक्छ, निर्धाहरुसँग परेड खेल्छ । मैना सुनुवारको बलात्कारमाथि नलाग्ने र बालकृष्णमाथि लाग्ने हजुरको कानुन आफ्नाहरुसँग अन्धो हुन्छ, पराईहरुका इन्द्रीय देख्छ ।

अचम्म लाग्छ । त्यही युद्धका योजनाकारहरु यो देशका उपल्लो निकायमा यत्रतत्र छन् । अहिले पनि युद्धका सिपाहीहरु राष्ट्रिय सेनामा छन् । कुटनीतिक निकायहरु हुँदै ती अरु देशमा पनि छन् । तिनले हजुरहरुलाई सपथ ख्वाउँछन् । ति यो राज्य चलाउँछन् भने तिनका सहयात्रीहरु कसरी अपराधी र हत्यारा हुनसक्छन् ?

श्रीमान नरिसाइयोस् – हजुरका टाढाकाहरुले हजुरको न्यायलयमा पलाँतीको पुस्तासम्म न्याय पाएका छैनन् । हजुरका नजिककाहरुलाई चौबिस घण्टा नबित्दै न्याय उपलब्ध छ । यो कानुन कस्तो कानुन ?  अब हजुर भन्नुस् – यस्तो विभेदी कानुन कसैले किन मानोस् ।

अन्तिममा भनिराँखु – हामी लडेवापत जेल जान्नौ । हामी गणतन्त्रका लागि लडेवापत सँजाय काट्न सक्दैनौं । बृहत शान्ति सम्झौता अनुसार सत्य निरुपण आयोगमा जनयुद्धकालिन जघन्य घटनाहरु पठाइस्योस् । कि भनिस्योस् – मेरो इजलासले ‘शान्ति सम्झौता’ मान्दैन । हजुर मानिसिन्न भने हामी पनि मान्दैनौँ । नमानेपछि के हुन्छ हजुरलाई थाहा छ ?

आगे हजुरको जो मर्जी !

(लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य र वाईसिएल नेपालका अध्यक्ष हुनुहुन्छ ।)

(साभारः खबरडबली डट कम)