Mother of Comrade Keshab Nepal Bijaya Kumar
 

विशाल हृदयकी खानी
विशाल भावनाकी धनी
सुन्दर सपना सजाएकी
सुन्दर चाहना राखेकी
प्रेरणाकी खानी
माया र ममताकी खानी
साहसै साहसमा बाँचेकी
अनगिन्ती रहर साँचेकी
सत्य र न्यायका निम्ति बाँचेकी
मेरी प्यारी आमा ।

श्रमप्रतिको अगाध आस्था र विश्वास
श्रमप्रतिको श्रद्धा र विश्वास
श्रमिकप्रतिको माया र ममता भएकी
मेरी प्यारी आमा ।

श्रम नै तिम्रा लागि महान् थियो
त्यही कारण
तिम्रा हात कहिल्यै खालि रहेनन्
श्रमकै लागि बाँच्यौ
श्रमले नै धर्ती सिङ्‌गार्‍यौ
जीवनको अन्तिम क्षणसम्म
मेरा निम्ति धेरै पसिना बगायौ
मेरा निम्ति अनगिन्ती दुःखकष्ट उठायौ
मेरा निम्ति धेरै आँशु बगायौ
मेरा निम्ति गाह्रा अप्ठ्यारा खप्यौ
कैयौँ दिन खानै नखाई बस्यौ
कैयौँ दिन निन्द्रै नपाई बस्यौ ।

मलाई धेरै पढाउने
मलाई धेरै लेखाउने
मलाई सुखी बनाउने
मलाई शिखर चढाउने
मलाई ठूलो मान्छे बनाउने
मलाई पुरानो होइन
नयाँ मान्छे बनाउने
तिम्रा सुन्दर सपना
तिमिले सजाएकी थियौ
मेरी प्यारी आमा ।

गाँउकी श्रमिक महिला हौ
निरक्षर महिला हौ
र पनि
जति कष्ट परे पनि
जति दुःख पाए पनि
जति गाह्रो भए पनि
जति अप्ठ्यारा आए पनि
जति पीर परे पनि
तिमी कहिल्यै झुकिनौ
तिमी कहिल्यै गलिनौ
तिमी कहिल्यै थाकिनौ
तिमी कहिल्यै निराश भइनौ ।

तिम्रा ती आदर्श
तिम्रा ती अठोट
तिम्रा ती सङ्कल्प
तिम्रा ती साहस
तिम्रा ती प्रतिबद्धता
अनि
तिम्रो सादा जीवन
तिम्रो स्वच्छ विचार
तिम्रो निश्छल बानी
न तिम्रो छलकपट
न तिम्रो षड्यन्त्र
सत्यप्रति सँधै अडिग
न्यायप्रति सँधै सजग
तिम्रा सबै आदर्शलाई
मैले आदर सत्कार मात्र होइन
अनुशरण गर्दै आएँ
म त अर्कै नयाँ मान्छे पो भएँ
कुरूप थोत्रो घर भत्काउने
सुन्दर नयाँ विशाल घर बनाउने
त्यो नयाँ युगको
नयाँ मान्छे पो बनेँ ।

अनि मिलीजुली बस्ने
बराबरी खाने
बराबरी लाउने
मेरी प्यारी आमाको
सबै सँगसँगै बसेर
त्यो नयाँ दिनको
खुशीयाली मनाउने
ती सुन्दर नयाँ सपना
ती महान् इच्छा र चाहना
ती आशा र विश्वास
ती आस्था र अठोट
ती मनका सुनौला रहर
पूरा नहुँदै
मेरी प्यारी आमा
यो धर्तीबाट
सदासदाका लागि बिदा भए पनि
तिम्रा ती अधुरा र अपूरा रहर
तिम्रा ती सुन्दर सपना
तिम्रा ती इच्छा र आकाङ्‌क्षा
अवश्य एक दिन
तिम्रा सन्ततिले पूरा गर्नेछन्
त्यो नयाँ युग आउनेछ
सबै नयाँ युगका मान्छे बन्नेछन्
नयाँ उत्सव मनाउनेछन् ।

Keshab Nepal Bijaya Kumar / Keshav Nepal Vijaya Kumar
रचनाकार