बा, मेरा बा, father, ba, baa, बाबा, बा सम्बन्भधी कला,
 

हिजो मैले जुत्ता मागेँ आजै ल्याइदियौ,
तिखा तिखा ढुङ्गामाथि दौड्ने बनाइदियौ ।
आखिरीमा मेरा जुत्ता किन्दा बोक्यौ रिन,
ए बा ! अब तिमी पनि जुत्ता चप्पल किन ।

स्कुलमा जाऊ भन्दै मलाई फकाउँछौ,
नयाँ लुगा नयाँ झोला के पैसाले किन्छौ ?
तिम्रो पनि टाइसुट लाउन होला मन,
ए बा ! अब तिमी पनि न्यानो लुगा किन ।

तिमी आफू निरक्षर मलाई पढाउँछौ,
तल्लाघरे साहुजीको हलो समाउँछौ ।
कहिले बोक्छौ ढुङ्गा इट्टा कैले ठोक्छौ घन,
ए बा ! अब हाम्रो दिन कैले आउँछ भन ।

खगेश्वर भण्डारी, khageshwar bhandari
रचनाकार

मलाई भोक लाग्यो भने पेटभरि दिन्छौ,
तर मैले देख्दैन के कति आफू लिन्छौ ?
आमालाई चोली सारी धन्य तिम्रो मन,
ए बा ! तिम्रो इच्छा पूरा कहिले हुन्छ भन ।

तिमी काँध थाप्छौ र पो नेता टिप्छन् फल,
घरमाथि ठडिनलाई जग गड्छ तल ।
जहिले पनि तिमी तल गर्छौ परिश्रम,
ए बा ! तिमी कहिलेबाट माथि चढ्छौ भन ।

छानो छैन मानो छैन सुख कहिल्यै छैन,
भोको पेट डोकोसित मुख मिठिदैन ।
बजारमा बिक्रीमा छौ मूल्य अति कम,
ए बा ! अब तिमी पनि आफ्नो मूल्य भन ।

ठुलाबडा भनाउँदाले तिम्रो मूल्य गर्छन्,
मेरा बाको जिन्दगीको ढाडमाथि चढ्छन् ।
अबदेखि बिक्री हुन छोड मेरा बाबा,
जतिपनि काँडेतार तोड मेरा बाबा !!

दाङ, तुलसीपुर
२०७७-७-३०

(रचनाकार प्रगतिशील साहित्यकार, कलाकर्मी तथा शिक्षक हुनुहुन्छ । फिचर फोटोको रूपमा प्रयोग गरिएको चित्र रचनाकार क. खगेश्वर भण्डारीको आफ्नै कला हो ।)

यो पनि पढ्नुहोस्ः

मेरा बा किसान हुन् – हेम प्रभास