निधार उचालेर
लेकतिर पठाइदिन्छन्
औँलाहरू फुकालेर
बेँसीतिर पठाइदिन्छन्
माटो हो कि कपडा जस्तो
जिन्दगी लगाएर
थाप्लोमा पसिनाको भारी बोक्छन्
नखाँदा पनि अघाए जस्तो
उनको चेहरामा
कहिले घाम दौडिरहेको देख्छु
कहिले गुराँसझैँ फुलिरहेका
जुन–ताराहरू भेट्छु
मेरा बा किसान हुन् ।
गरागरामा दौडिहिँड्ने
पानीका गिताङ्गे लहरहरूमा
कति बजे होलान्–
मेरा बाका पैताला
छप्ल्याङछुप्लुङ र
भिज्दाभिज्दै
बर्सादी र घुमजस्ता बनेका
उनका आङभरि
थाहा छैन–
बादलसँगै
कतिपल्ट खस्यो होला आकाश र
कतिपल्ट बज्रिए होलान्–
नुनजस्ता असिना र
कतिपल्ट बास बस्यो होला
उनका आँखामा
चराजस्तै चञ्चले दिन र
उनी गणित जान्दैनन् ।
कति ढाकर फलाए होलान्–
रहरजस्ता आँप र लिचीहरू
र, पठाए होलान् थुक निल्दै
डाँडापारिको बजारमा !
महँगो जुस पिउँदै
ठुल्ठुला कल्पना गर्ने
यी बजारहरूले
कहिल्यै कल्पेका छैनन्–
मेरा बाको
आत्मविश्वासको गोरेटो ।
साँझको निलो पहाड पखालेझैँ
जति पटक चामल पखाले पनि
निलै देख्छु
त्यहाँ पक्कै मेरा बाको
परिश्रमको रङ टाँसिएको हुनुपर्छ ।
सुन्तला र आरुबखडाहरू टिपेर
सहर पठाएपिच्छे
निःशुल्क आइरहेछन् यहाँ–
मेरा बाको कमिजको धागो
र, काँडाले कोतर्दा
फलहरूमा लतपतिएको रगत र
के, यति सस्तो छ जिन्दगी ?
उनी औँलाले प्रत्येक बिहान
शीतका झुप्पाहरू फुलिरहेका
हरियो करेसाबारी देखाउँछन्
र, भन्छन्–
यस्तो हुनुपर्छ जीवन !
हँसिया चलाउँदा
बगेर खेर जान खोज्ने
आफ्नै रगतले
छातीका अदृश्य घाउहरू धुन्छन्
र, शिरैभरि फुलाइरहन्छन्–
घर, आँगन
र खेतबारीको मुस्कान !
यो सहरमा
संसारलाई अक्षरहरूमा
कैद गर्छु भन्ने
अनगिन्ती अखबारहरू छन्
दृश्यहरूमा समेट्छु भन्ने
टेलिभिजन च्यानलहरू पनि छन्
तर,
ती अखबारका पानाहरूमा
वा,
टेलिभिजनका स्क्रिनहरूमा
मैले कहिल्यै देखेको छैन–
मेरा बाको नाम
र, उनले
हलो जोत्दै गरेको फोटो !
मलाई शङ्का छ–
सगरमाथाभन्दा अग्ला हौँ भन्ने
यो घरैघरको सहरले
पानी पिउँछ कि पसिना !
दुध पिउँछ कि खोसिएको आँसु !
चामल किन्छ कि किसानहरूको सपना !
समयको यही बिन्दुबाट
आज बालाई दिल खोलेर
भन्न मन लागिरहेछ–
‘बा, तपाईं त कसैले पनि नदेख्ने
श्रमको ईश्वर हुनुहुँदो रहेछ ।
———
कवि परिचय
जीवनलाई जीवनकै पिठिउँमा उभ्याएर समयका घाउहरूमाथि कविताको मलम लगाउने हेम प्रभास समसामयिक नेपाली काव्य–क्षितिजका उल्लेख्य कवि हुन् । नेपाली भाषा साहित्यमा विशिष्ट श्रेणीका साथ स्नातकोत्तर (एम.ए.) गरेका उनले अङ्ग्रेजी साहित्यमा पनि एम.ए.सम्मको अध्ययन गरेका छन् । आँखुखोला, आदर्श, पसिना बिन्दु, गन्तव्य नेपाल, मधुवन आदि पत्रपत्रिकाहरूको सम्पादन गरेका उनको ‘ओइलिएका कुसुमहरू’ (गजलसङ्ग्रह, २०६१), ‘पहाड बोकेर पहाडतिर’ (कवितासङ्ग्रह, २०६६), ‘सन्देश’ (महाकाव्य, सिर्जनापत्र, २०६८), ‘पहाड बोकेर पहाडतिर’ (कवितासङ्ग्रह, दोस्रो संस्करण, २०६८), ‘उनलाई कुर्ता किनेको साँझ’ (कवितासङ्ग्रह, २०६८) का साथै गरिमा, मिर्मिरे, शब्दयात्रा, कौशिकी, ज्योति, शब्द संयोजन, जनमत लगायत ३ दर्जनभन्दा बढी पत्रपत्रिकाहरूमा थुप्रै फुटकर रचनाहरू प्रकाशित छन् । उनको ‘पहाड बोकेर पहाडतिर’ कविता सङ्ग्रहमाथि त्रि.वि. अन्तर्गतका विद्यार्थीहरूले विभिन्न कोण–प्रतिकोणबाट शोधपत्र समेत तयार पारेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता (२०६६) राष्ट्रव्यापी निबन्ध प्रतियोगिता (२०६७), नेपाल पर्यटन वर्ष सन् २०११ मूल समितिको सचिवालय, घोराही, दाङद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव (२०६८), नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव (२०६८), बु्रनाइद्वारा आयोजित विश्वव्यापी कविता प्रतियोगिता (सन् २०११) लगायतका पुरस्कारहरूबाट पुरस्कृत कवि हेम प्रभासको ‘अक्सर’ महाकाव्य छिट्टै प्रकाशित हुँदै छ ।
र, यो पनि पढ्नुहोस्ः
मेरा बा’को भेस्ट- सुशान्त पौडेल