Karl Marx, प्रिय मार्क्स,
 

प्रिय मार्क्स
तिम्रा तस्वीरहरुलाई अहिले
गधा र बाँदरहरुले घेरिरहेछन् ।

मैले तिम्रो तस्वीरमा
माल्यार्पण गर्न सकिन ।

गधा र बाँदरहरुको घेराबाट बाहिर
अलि टाढा उभिएर
प्रिय मार्क्स
म तिम्रो
संकटग्रस्त तस्वीर टोलाइरहेछु ।

कुनै पनि बेला
ती बाँदरहरु
गधाहरुको ढाड चढ्नेछन्
र च्यात्ने छन् तिमीलाई ।

म त एउटा निहत्था
गरिब मान्छे हुँ
प्रिय मार्क्स
जो तिमीले युगौँअगाडि
देखाएको डकुमेन्ट्री हेरेर
सुख पाउने प्रतीक्षामा छ ।

त्यसकारण प्रिय मार्क्स
मलाई अहिले
बाँदर र गधाहरुको घेराभित्र रहेको
तिम्रो तस्वीरको चिन्ता छ ।

आफूलाई बचाऊ
प्रिय मार्क्स
तिमी बाँच्यौ भने
मेरो आशा पनि बाँचिरहन्छ
तिम्रो तस्वीर पनि बाँचिरहन्छ ।

प्रिय मार्क्स
तिमी पर्वत हौ
र म सिसिफस ।

Rajab, Rajav Pudasaini, poet
रचनाकार

रचनाकार राजव प्रगतिशील नेपाली साहित्यमा परिचय गराई रहनुपर्ने नाम होइन । उहाँका थुप्रै प्रगतिशील कविता र साहित्य प्रकाशित छन् ।

सर्वहारा वर्गका महान गुरू, विश्व साम्यवादी आन्दोलनका संस्थापक,  विश्वका सर्वश्रेष्ठ विचारक तथा महानतम् दार्शनिक, वैज्ञानिक समाजवाद र साम्यवादका प्रणेता कार्ल हेनरिख मार्क्सबारे लिखित र समय साप्ताहिकको असोज १७, २०६४ को अङ्कमा प्रकाशित यस कवितालाई हामीले उहाँको अनुमतिमा उहाँकै फेसबुक वालबाट साभार गरेका हौँ ।