काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता क. माधवकुमार नेपालले मुलुकको आर्थिक विकास र समृद्धिका लागि पर्यटन र जलस्रोत मेरुदण्ड भएको बताउनु भएको छ ।
नेपाल भ्रमण वर्ष–२०२० का अवसरमा शनिबार कञ्चनपुरको बेदकोट नगरपालिकाले पर्यटकीयस्थल बेदकोट ताल क्षेत्रमा आयोजना गरेको अनुभव आदान-प्रदान कार्यक्रममा उहाँले भन्नुभयो, ‘मुलुकको विकास र समृद्धिका लागि कृषि आधार स्तम्भको रुपमा रहेको, पर्यटन र जलस्रोत मेरुदण्डका रुपमा रहेका छन् ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता नेपालले पर्यटन प्रबर्द्धनका लागि यस सरकारले पहिले काम गर्दै आएको उल्लेख गर्दै पर्यटकीय हिसाबले विशाल सम्भावना रहेको नेपालमा त्यसको गहन अध्ययन र खोजी सरकारी तवरबाट हुनुपर्ने बताउनु भयो ।
क. नेपालले वर्तमान सरकारले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने उद्देश्य राखेको बताउँदै पर्यटकलाई आकर्षित गर्ने विषयमा पनि हामी जानकार हुनुपर्ने बताउनु भयो ।
त्यसैगरी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले सुदूरपश्चिम जलस्रोत, पर्यटनको अथाह सम्भावना भएको प्रदेश भए पनि विकासको मूलधारमा आउन नसकेको बताउनु भयो।
‘दोधारा चादँनीको सुख्खा बन्दरगाहदेखि पश्चिम सेती परियोजनाजस्ता यहाँका राष्ट्रिय गौरवका आयोजना अलपत्र छन्,’ उहाँले भन्नुभयो, ‘अब प्रदेशको विकासका लागि सबै एकजुट हुनुपर्ने बेला आएको छ।’
कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले पनि सुदूरपश्चिममा पर्यटकलाई आकर्षित गर्न गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।