“चार महिना भयो भोकै छु ?”
“भोकले मेरो पनि बेहाल छ ?”
“म पनि भोकै छु । खाना कसैले पनि ल्याइदिएन ?”
तीन जना भगवानको पीडाको आवाज हो यो ।
भोकको समस्याको खोजी गर्न र समस्या समाधान गर्न भनेर अयोध्यामा भगवानहरूको महासम्मेलन आयोजना भयो ।
महासम्मेलनमा गहिरो विचार विमर्श भयो । पीडा र समस्याका कुरा प्रस्तुत भए । आखिरमा तीन जनाको बिचमा कार्य विभाजन भयो । आ-आफ्ना क्षेत्रमा अनुसन्धान गर्न जाने निष्कर्ष निस्कियो । इण्डिया र त्योभन्दा पूर्व एक जना जाने भए । बङ्लादेश, पाकिस्तान, अफगानिस्तान र अरबतिर अर्काले जिम्मा लिए । अष्ट्रेलिया, अफ्रिका, युरोप, अमेरिका र ल्याटिन अमेरिकातिर अर्का चाहिँ गए ।
पहिलोले बुद्धलाई बोलाएर नेपालभन्दा पूर्वतिर पठाए । शिवलाई हिमालमा र ब्रम्हालाई पहाडमा काममा लगाए । आफूले समथर भागको जिम्मा लिए । त्यसैगरी अरू दुई जनाले पनि आ-आफ्नो क्षेत्रको अवलोकन गरे । सबै कुरा बुझेर सातौँ दिनको भोलिपल्ट अयोध्यामा फर्किए ।

महासम्मेलन जारी भयो । युरोपतिर गएकाले भने “कुनै चर्चको पनि ढोका खुला छैन । सेरोफेरोमा मानिस देखिँदैन । सडकहरू शून्य छन् । मानिस देखियो कि कोरोना नामको शैतानले खाइहाल्छ । चर्चको आसपासमा कसैलाई पनि जान दिँदैन । अनि मान्छेले कसरी पुर्याउन खाना चर्चसम्म ?
अर्का बोले “हाम्रोमा पनि सारा मस्जिदहरूको ढोकामा ताला छ । बाहिर कोरोना सैतानकै रजाइँ छ । मान्छेलाई समूहमा देख्यो कि निलिहाल्छ । रमादानमा पनि मस्जिद खुलेनन् । हाहाकार छ चारैतिर ।”
तेश्राले भने “समस्या एउटै रहेछ । मेरोमा त बुद्ध र भिक्षु पनि भोकै छन् । शिव, उनका शक्तिरुपी पत्नी, शिव गण, ब्रम्हाका बुढाबुढी, तेत्तिसकोटी देवता र उनका पत्नी तथा सन्तानहरू छटाटाइरहेका छन् भोकले । मन्दिर र गुम्बा सबै बन्द छन् । कोही जाँदैन त्यहाँ । सेरोफेरोमा कोही भक्तलाई देख्यो भने कोरोना दैत्यले खुर्लुक्क निलिहाल्छ । अनि हाम्रो खाना कसरी जम्मा हुनु त्यहाँ । चारैतिर कोरोना दैत्यको आतङ्क छ ।”
महासम्मेलनको छलफलले निष्कर्ष निकाल्यो । अब भगवान र देवताले पनि काम गरेर कमाइ गर्नुपर्यो । त्यही कमाइबाट खान लाउन पर्यो । मान्छेबाट आशा गर्न भएन । मानिसको आशामा मात्र बस्ने हो भने हामी सब भोकले मर्छौं । कोरोना मर्त्यलोकमा रहने बेलासम्म मान्छेले हामीलाई खान दिन पाउँदैनन् ।
विदावादी हुँदै गर्दा तिनै जनाले एकै आवाजमा भने “कोरोना भाइरसलाई कसले मारिदेला ?”
(कथाकार नेकपाका नेता तथा पूर्व कृषि विकास मन्त्री हुनुहुन्छ ।)