Sushanta Poudel सुशान्त पाैडेल
 

आएर वेगसरी
अन्धकारमा
छिर्के मिर्के
कपडा लगाएका,
हातमा लामा लामा
बन्दुक बोकेका,
टोपधारीहरुले
लगेथे
मेरा बा’लाई
निलो जीपमा,
छोडेर धमिला
यादहरु
अनि मेरा बा’को भेस्ट ।

मन्द मन्द बा’को
पसिनाको गन्ध आउने
त्यो भेस्ट
धोइएन कहिल्यै,
आमालाई लाग्दो हो
पानीले भेस्ट होइन
पखालिने छ
उनकै सिउँदो ।

कोठाको काठे दराजको
सबैभन्दा माथिको
खोपिल्टोमा
सबै कपडाका माथि
बडो जतनसाथ
लुकाएर
राखिएको त्यो भेस्ट
झिकिन्थ्यो
हरेक रात
मैले आमालाई
बा’खै ?
भनी सोध्दा ।

दिदी र मेरा बिच
सुतेकी मेरी आमा
घरी मलाई च्याप्दै
घरी दिदीतिर फर्कंदै
सुक्क सुक्क
रुवाइको हिक्कामा
सम्झँदै
बा’को मुहार
त्यो अनन्त ललाट
नाक तलको मुठे जुङ्गा
घुमाउरो कपाल
तुर्लुङ्ग झुन्डेका कानका लोति
अनि आफ्नै पोते,
च्याप्प च्याप्थिन्
अँगालोमा
कुक्रुक्क पर्दै
त्यही भेस्ट,
लाग्दो हो
त्यही भेस्टमा
टिकेको छ
उनको अस्तित्व
सिँउदोको सुन्दरता
अनि हाम्रो भविष्य ।

बेला बेला
जब आउँथ्यो
बा’को याद
सिवाय त्यहि भेस्ट
थिएन मसँग अर्को कुनै
मेरा’बाको चिनो
जसले
म सम्झुँ
बा’ले विशाल बजारमा
किनिदिएको
पुट्पुटे बन्दुक
बा’को हिरो जेट साइकल
साइकलको डन्डिमा

घुम्दै कृश्नपुरका गोरेटो
चकचके म
अनि मेरा हरेक
माग पूरा गरिदिने
मेरा बा ।

सायद,
जोडिएथ्यो
बा’ को स्नेह
प्रेरणा
मप्रतिको हौशला
मेरो विकासको आधार
प्रगतिको श्रोत
त्यही मेरा
बा’को भेस्टमा ।

दिन, महिना, साल बिते
फेरिए अनेकन क्यालेन्डरका पाना
घेरियो घर अनेकन पटक
तर
खबर फेरिएन
फेरिएन आमाका गालाका
आँशुका टाटा
अनेकन यादका शृङ्खला
भविष्यप्रतिको डर
भेट्टाइएनन् बा’का पाइला
निलो जीपको बास
आमाको आस
मेरो बा’को सास ।

मात्र
बाँकी रह्यो
बा’को मन्द मन्द
गन्ध आउने भेस्ट
बा’को सेतो भेस्ट,
अमुल, ९० सेन्टिमिटर ।