आकाश धर्ती जहाँ सुकै खोज
मेरो सगरमाथाको शिरमाथि खोज
जहाँ अजर, अटल स्वदेश भेटिनेछ
त्यहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ ।
वीर नेपालीका सन्ततिहरु
आफ्नै स्पन्दन छामेर हेर
इतिहासका पत्र पत्रमा
रगतको गन्ध सुँघेर हेर
जहाँ विरताको कथा भेटिनेछ
त्यहाँ बलिदानको गाथा भेटिनेछ ।
हिमाल, पहाड, तराई, मधेस
प्रकृतिको मनोरम वरदान छ विशेष
क्रान्ति र परिवर्तनको बाटो समाती
शान्ति र समृद्धिको सपना छ विशेष
जहाँ विविधतामा एकत्वको परिवेश भेटिनेछ
त्यहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ ।
यहाँ मानव छ र मानवीयता छ
यहाँ सचेतना छ र गतिशीलता छ
जहाँ अभाव, अशान्ति र कुशासनलाई
सुशासन, शान्ति र समृद्धिमा बदल्ने दृढता छ ।
जल, जमिन, जडिबुटी, जलस्रोत र जनशक्ति
समायोजन र विकसित गरेर
२१ औँ शताब्दीको मध्यान्तरसम्म
समाजवादी नेपाल निर्माणको योजना छ ।
स्वाधीन र समाजवादी सपनाको
जिवन्त आकृति हो नेपाल
विभेद र अपमानका विरुद्ध
समानता अनि स्वाधीनताको हुङ्कार हो नेपाल ।
हेर, धर्ती आकाश नियालेर हेर
ऊ पारिपारि क्षितिजमा हेर
जहाँ सुनौलो बिहानी देखिनेछ
त्यहाँ प्यारो प्यारो मेरो देश देखिनेछ ।
जहाँ प्यारो प्यारो मेरो देश भेटिनेछ ।।
(रचनाकार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता हुनुहुन्छ ।)