Balram Timalsina 'biplav', progressive artist
 

संसारभरका पूँजीपतिको आत्मा
जूकाको आत्माबाट बनेको हुन्छ
पूँजीपति बन्नासाथ
गुमाएर मान्छेको आत्मा
तिनीहरू जूकाको आत्मा वरण गर्छन्
त्यसैले त ती
मान्छे देख्नासाथ टाँसिन्छन्
र फटाफट चुस्न थाल्छन् ।

आत्माबाट पूँजीपतिको
दिमागमा पुग्छ जूको
र जूकाले जस्तै सोच्छन् ती ।

ती हेर्दा मान्छेजस्तै देखिन्छन्
अझ खास्सा मान्छेजस्ता
सुकिला-मुकिला
होटिला-मोटिला
र राता-पिरा ।

तिनीहरूको मधुर मुस्कान
तिनीहरूको मृदु-भाषा
तिनीहरूको रवाफ-सवाफ
यी सबै हेर्दा ती मान्छेजस्तै देखिन्छन् ।

तपाईं ज्ञानको कुरा गर्न थाल्नोस्
तपाईंलाई भित्तो लगाउँछन्
ज्ञानको सत्ता उनीहरूकै ।

तपाईं विज्ञानका कुरा गर्न थाल्नोस्
तपाईलाई मूर्ख बनाइदिन्छन्
विज्ञानको कपिराइट उनीहरूकै ।

तपाईं कलाका कुरा गर्न थाल्नोस्
तपाईंलाई हेरिरहने पार्छन्
कला-सत्तामा दादागिरी उनीहरूकै ।

तपाईं धन-दौलतको त पक्कै कुरा गर्नु हुन्न
यो त उनीहरूको आफ्नै भैहाल्यो ।

तपाईं भलाईका कुरा गर्न थाल्नोस
तपाईं बोल्नै सक्नु हुन्न
संसारका सबैभन्दा ठूला दाताहरू उनीहरू नै ।

कुनै मन्दिर या मस्जिद
गिर्जाघर या चैत्य
गुरुद्वारा या धर्मशाला
तिनको बाहिरपट्टी हेर्नुस्
ताम्रपत्रमा नाम उनीहरूकै ।

स्वर्गका सम्राट उनीहरू नै
नरकका प्रशासक उनीहरू नै ।

उनीहरूसँग सबै कुरा छ
तर एउटा कुरा छैन – मान्छेको आत्मा
जुन दिन हुनेछ मान्छेको आत्मा
अपराधबोध, पश्चाताप
लज्जा र आत्म-घृणाले
तिनीहरू आत्महत्या गर्न थाल्ने छन् ।

दुखको कुरा के छ भने-
उनीहरू रमाइरहेका छन्
जूकाकै आत्मामा
मान्छे हुनुको गौरव के हो
सुन्दरता के हो
उनीहरूले ऐलेसम्मै भोगेका छैनन् ।

पूँजीपतिको आत्मा
संसारकै निकृष्ट, क्रुर र कुरुप चिज हो ।

२०७७/०१/०१, भक्तपुर ।