जानुका पराजुली, गलैँचा, januka parajuli, chautara, nepali galaicha carpet, जानुका पराजुली, गलैँचा, कार्पेट
 

काठमाडौँ । चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख क. जानुका पराजुलीले नगरपालिकाले महिला स्वरोजगारको कार्यक्रम प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको बताउनुभएको छ ।

चौतारा साँगागढी नगरपालिकाको महिला तथा बालबालिका शाखाले नगरपालिकाको महिलाहरूका लागि वडा नं. १४ को झ्याडी बस्ती र वडा नं. १ स्याउलेका महिलाहरूलाई २ महिने गलैँचा बुन्ने सिपका लागि नगरपालिकाले नगरवासी महिलाहरूलाई गाउँमा नै रोजगार सिर्जना गर्ने उद्देश्यले गलैँचा बुनाइ तालिम प्रदान गरिएको नगर उपप्रमुख तथा नेकपा (माओवादी केन्द्र) नेतृ क. जानुका पराजुलीले बताउनु भयो ।

“हामीले महिलाहरूलाई गाउँमा नै स्वरोजगार बनाउने उद्देश्यले हाल नगरभित्रका ४० जना महिलाहरूका लागि गलैँचा बुन्ने तालिम सञ्चालन गरिएको छ, यो तालिम सकेपछि हामीले उहाँहरूलाई एक-एक थान तान समेत प्रदान गर्नेछौँ,” उपप्रमुख पराजुलीले भन्नुभयो ।

पछिल्लो समयमा बजारमा गलैँचाको माग उच्च रहेको र सामान्य महिलाले पनि मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्नसक्ने भएको हुँदा सो सिपको प्रदान गरिएको उहाँको भनाइ छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं‌ ५ की सुकरानी तामाङ केही महिना अघिसम्म घरधन्दामा मात्र व्यस्त रहनुभएकोमा नगरपालिकाले दिएको गलैँचा बुन्ने तालिम लिएपछि अहिले महिनाको १०-१५ हजार कमाउनु हुन्छ । घरको कामधन्धा सकाएर फुर्सदको समयलाई सदुपयोग गर्न पाएकोमा उहाँ खुशी हुनुहुन्छ । गलैँचा बुनाइबाट हुने मासिक आम्दानीबाट घर खर्च टरेकोमा उहाँले आफ्नो सन्तुष्टि प्रकट गर्दै नगरपालिकालाई धन्यवाद भन्नुभयो । आफूले भर्खरै गलैँचा बुन्न सिकेकोले आम्दानी कम भए पनि अरू सिपालु महिलाहरूले महिनाको २०-३० हजार भन्दा बढी कमाउने गरेको उहाँको कथन छ ।

उहाँजस्तै चौतारा साँगाचोकगढी स्याउलेकी पेमा लामाले गलैँचा बुनेर मात्र मासिक २० हजार कमाउँदै आउनु भएको छ । २०७२ साल अघि काठमाडौंं बौद्धमा बसेर गलैँचा बुन्दै आउनु भएकी लामा सोही सालको १२ गतेको भूकम्पपछि काठमाडौँ फर्कनु भएन । बरु उल्टै गलैँचा बुन्ने काम घरबाट नै थाल्नु भयो । चौतारा साँगाचोकगढी नगरपालिकामा मात्र सयौँ महिलाहरू गलैँचा बुनाइबाट स्वरोजगार भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाले मात्र झण्डै ५ सय भन्दा बढी तान र आवश्यक सामाग्री निःशुल्क वितरण गरेको उपमेयर जानुका पराजुलीले जानकारी दिनुभयो । नगरपालिकाले सञ्चालन गर्दै आएको अरू तालिम भन्दा गलैँचा बुनाई तालिम प्रभावकारी रहेको उपमेयरको पराजुलीलेको अनुभव छ । अहिले पनि स्याउले, झ्याँडी र साँगाचोकमा गलैँचा बुनाई तालिम सञ्चालन हुँदै आएको उहाँले जानकारी दिनु भयो ।

स्वदेश र विदेशमा समेत गुणस्तरीय गलैँचाका लागि बजारको अभाव नभएको प्रशिक्षक एवम् व्यवसायी केशरी तामाङको भनाइ छ । हाम्रो गलैँचा नेपालमा भन्दा पनि विदेशमा खपत भएको छ व्यवसायी तामाङले भन्नुभयो । गलैँचा बुन्नका लागि धागो लगायतका सामाग्रीहरु आफूले ल्याइदिने र बुने बापतको ज्याला गलैँचाको स्तर हेरेर भुक्तानी दिने गरेको गलैँचा व्यवसायी केसरी तामाङले बताउनुभयो ।

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकामा प्रमुख र उपप्रमुख नेकपा (माओवादी केन्द्र) को तर्फबाट निर्वाचित हुनुहुन्छ ।