ग्लोबल आइएमई बै‌क, Global IME bank
 

काठमाडौँ । ग्लोबल आइएमई बैंकले आ.व. २०७७/७८ मा आफ्ना शेयरधनीहरूलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको मिति २०७८/०६/२५ बसेको ३९३औँ बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५औँ वार्षिक साधारण सभाको स्वीकृतिपश्चात आ. व. २०७७/०७८ को वितरणयोग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीहरूलाई रु. २ अरब ९२ करोड बराबरको १३.५ प्रतिशत लाभांश (बोनस शेयर १० प्रतिशत र नगद लाभांश ३.५० प्रतिशत) वितरण गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी २१ अरब ६३ करोड रुपैँया रहेकोमा प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरणपश्चात चुक्ता पुँजी रु. २३ अर्ब ७९ करोड पुग्नेछ । त्यस्तै, नगद लाभांश वितरणपश्चात बैंकको कूल पुँजी कोष रु. ३६ अरब ९२ करोड रहनेछ । देशमा सञ्चालित कुनै पनि वाणिज्य बैंकहरूभन्दा यो पुँजीकोष अत्यधिक रहेको छ ।

ग्लोबल आइएमई बैंकले आ.व. २०७७/७८ मा ४ अरब १६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली बैकिङ्ग कारोबर गर्दै आएको छ ।

कूल २७७ अरब निक्षेप तथा २६५ अरब कर्जा लगानी रहेको बैंकको हाल ७६ जिल्लामा फैलिएका २८० शाखाहरू, ४७ राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५० एटिएम, तथा २५७ शाखारहित बैंकिङ्ग सेवा तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।