कोरोना भाइरस, कोभिड-१९, corona virus, covid-19
 

कोरोनाभाइरस अर्थात् कोभिड–१९ को महामारीले संसार अक्रान्त छ । सन् २०१९ को डिसेम्बर महिनाको अन्ततिरबाट देखिएको यो भाइरस अर्थात् कोरोनाको जिवाणुले संसारभरि २३ करोड ५४ लाखभन्दा बढी मानिसहरू संक्रमित भइसकेका छन् भने ४८ लाख भन्दा बढी मानिसहरूको यो रोगको कारणले मृत्यु भइसकेको छ । २१ औं शताब्दीकै सबैभन्दा ठुलो र खतरनाक यो महामारीलाई अहिले केही शक्ति राष्ट्रहरूको भूरणनीतिक हतियार बनाउन खोजेको आभास भइरहेको छ । खासगरी विश्व महाशक्ति राष्ट्र संयुक्तराज्य अमेरिकाले कोरोना भाइरसको उत्पत्तिबारे दिएका केही अभिव्यक्ति र क्रियाकलापहरूबाट यो कुरा स्पष्ट भएको छ । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोरोना भाइरसलाई चिनियाँ भाइरस समेत भने ।

आधिकारीक रूपमा कोरोना भाइरस चीनमा पहिलो पटक पत्ता लागेको कुरा सत्य हो । के पनि सत्य हो भने चीनले इमान्दारीपूर्वक कोरोना भाइरससम्बन्धी विवरण आधिकारिक रूपमा बाहिर ल्याएको हो । यसैको आधारमा कोरोना भाइरसको उत्पत्तिबारे चीनमाथि दोष थुपार्नु सर्वथा गलत र अन्यायपूर्ण हुन्छ । चीनले कोरोना भाइरससम्बन्धी विवरण इमान्दारीपूर्वक सार्वजनिक गर्‍यो । यो महामारी नियन्त्रणका लागि प्रभावकारी कदम अवलम्बन गर्‍यो र आफ्नो देशभित्र यो महामारी नियन्त्रण गर्न सफल पनि भयो । कोरोना महामारीको नियन्त्रण गर्न प्रभावकारी रूपमा सफल भएकोमा विश्व स्वास्थ्य संघ लगायतका विभिन्न अन्तर्राष्ट्रिय संघ संस्था तथा कैयौं देशले चीनको मुक्तकण्ठले प्रशंसा गरेका छन् र महामारी नियन्त्रणमा चीनबाट सिक्नुपर्ने कुरा समेत व्यक्त गरेका छन् । तर यसको ठिक विपरीत संयुक्त राज्य अमेरिका लगायत केही पश्चिमी राष्ट्रहरू कोरोना भाइरसको महामारीलाई राजनीतिकरण गर्न र चीनलाई दोषी देखाउन प्रयत्नरत छन् । रोग र महामारीले कुनै भूगोल भन्दैन, कुनै जाति र देश भन्दैन । यसले सम्पूर्ण मानव समुदायलाई आक्रमण गर्दछ । कोरोना भाइरस विश्वकै समस्या बनेको छ र यसको निराकरण र रोकथामका लागि कुनै एक देशको एकल प्रयासले मात्र संभव छैन र हुँदैन । यसका लागि सबै देशको सामूहिक प्रयास, सहयोग र साझेदारीको जरूरत पर्दछ । त्यसैले कोरोना महामारी रोकथाम, नियन्त्रण उन्मूलनका लागि सम्पूर्ण मानवसमुदाय एक हुनुपर्ने बेलामा शक्ति राष्ट्रहरू एक आपसमा दोषारोपण र आरोप प्रत्यारोपमा उत्रनु मानव समुदायकै लागि दुर्भाग्यको विषय हो ।

कोरोना अर्थात् कोभिड–१९ भाइरसको उत्पत्तिको विषयमा पनि विवाद र दोषारोपणको खेल स्वयं शक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाबाट नै भएको छ । अमेरिकाले कोरोना उत्पत्ति चीनबाट भएको र चीनले यो रोगको बारेमा तथ्य लुकाएको आरोप लगाएको छ । यो आफैमा असत्य हो । चीनको उहानमा यो रोग देखिएको बारे स्वयं चीनले जानकारी गराएपछि मात्र विश्व समुदाय यसबारे जानकार भएको हो । विभिन्न अध्ययन र अनुसन्धानबाट प्राप्त विवरण अनुसार कोरोना भाइरसको उत्पत्ति चीन नभै स्वयं पश्चिमी देशहरू हुन् । एउटा अध्ययनले जनाए अनुसार चीनको वुहानमा यो रोग देखिनुभन्दा महिनौँ अगाडि फ्रान्सको पेरिस सहरमा केही अस्पतालमा कोरोना भाइरससँग ठ्याक्क मिल्ने लक्षणका थुप्रै बिरामी उपचारका लागि आएका थिए । त्यस्तै फ्रान्सकै वैज्ञानिकहरूको अनुसन्धानले पेरिसको ढलमा २०१९ को अगष्ट–सेप्टेम्बरतिर नै कोरोना भाइरसका जिवाणुको उपस्थिति भएका जनाएका छन् । यसबाट के प्रस्ट हुन्छ भने चीनको उहानमा कोरोना भाइरस देखिनु भन्दा दुई महिना पहिलानै कोरोना भाइरसका जिवाणु फ्रान्समा उत्पत्ति भइसकेका थिए र केही मानिस कोरोनाबाट संक्रमित भइसकेका थिए ।

स्वयं केही अमेरिकी स्वास्थ्य वैज्ञानिकले पनि अमेरिकामा कोरोना भाइरस चीनबाट आएको नभई पश्चिमी युरोपका केही देशबाट फैलिएको कुरा बताएका छन् । पेरिसबाट गएका यात्रुबाट न्यूयोर्कमा पहिलो पटक कोरोना प्रवेश गरेको बताएका छन् । त्यस्तै क्यानाडामा पनि पश्चिमी युरोपबाट गएका पर्यटकको माध्यमबाट कोरोनाको जिवाणु प्रवेश गरेको चर्चा छ । फ्रान्सका अवाला संयुक्त अधिराज्य, इटाली, पोर्चुगल, स्पेन आदि देशहरूबाट गएका यात्रुबाट अमेरिकाका विभिन्न सहरमा कोरोना फैलिएको भन्ने विश्वास गरिएको छ । यी तथ्यबाट के पुष्टि हुन्छ भने चीनमाभन्दा पहिले युरोपमा कोरोना थियो र कोरोनाको उत्पत्ति युरोप–अमेरिकाबाट भएको हुनसक्ने बलियो संभावना छ । एसिया र अफ्रिकी मुलुकमा पनि स्वयं युरोप र अमेरिकाबाट फैलिएको भन्ने धेरैको अनुमान छ ।

अमेरिकाले चीन विरूद्ध अझै तल्लोस्तरको आरोपमा उत्रिएर कोरोना भाइरस प्रयोगशालामा तयार गरिएको जैविक हतियार हो समेत भनेको छ । वास्तवमा यो आरोप मिथ्या साबित तब भयो जब स्वयं अमेरिकी वैज्ञानिकहरूले यसलाई खण्डन गरे । अमेरिकी सरकारले चीनलाई कोरोनाको उत्पत्ति स्थलको रूपमा प्रमाणित गर्ने हरेक उपाय असफल भएका छन् । अमेरिकी सरकारले आफ्नो गुप्तचर संस्थाहरूलाई कोरोना भाइरस उत्पत्तिबारे छानबिन गर्न आदेश समेत दिएको थियो । तर अमेरिकी गुप्तचर संस्थाहरू बिच नै यो विषयमा मतभिन्नता भयो र दुई गुप्तचर संस्थाहरूले यो विषयमा फरक फरक प्रतिवेदन बुझाए । यी प्रतिवेदनमा ठोस कुरो केही आएन । साथै कोरोना उत्पत्तिबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरूमाथि पनि कोरोनाको उत्पत्ति चीनबाट भएको हो भन्ने प्रमाणित गर्न दबाब दिइयो । कति वेज्ञानिकले धम्कीको सामना गर्नुपर्‍यो भने केही वैज्ञानिकहरू अनुसन्धान कार्यबाट बाहिरिन पर्‍यो । यसरी कोरोनाको उत्पत्ति चीनमा भएको प्रमाणित गर्ने अमेरिकी रणनीति असफल र गलत साबित भएको छ । उल्टो यो विषयले अमेरिकाको असलि नियत उदाङो भएको छ ।

महामारी प्राकृतिक कारणबाट हुन्छ । विगतमा पनि यस्ता थुप्रै महामारी संसारले भोग्नुपरेको थियो । जिवाणु प्रकृतिमा उत्पत्ति हुने चिज हो । त्यसैले कोरोना भाइरसको उत्पत्ति पनि प्राकृतिक कारणले नै भएको कुरामा संसारभरका आम वैज्ञानिक सहमत छन् । तर अमेरिका कोरोना भाइरसलाई चीनविरूद्ध भूरणनीतिक हतियारको रूपमा प्रयोग गर्न खोजिरहेको छ ।

वास्तवमा संसार कोरोना महामारीबाट आक्रान्त भएको बेलामा यसको रोकथाम गर्न र मानवजीवनको रक्षा गर्न विश्व समुदाय एक हुनुपर्ने बेलामा अमेरिकाजस्तो महाशक्ति राष्ट्रबाट एउटा कुनै देशमाथि दोष थुपार्न खोज्ने कार्य निन्दनीय छ । एक अर्कामाथि दोषारपण गर्नुभन्दा कोरोनाको उत्पत्ति र यसको निराकरण कार्यमा संयुक्त, समन्वयात्मक र सहयोगात्मक रूपमा लाग्नु आजको आवश्यकता हो । यस्तो मानव सरोकार र मानवजीवनसँग सम्बन्धित विषयलाई राजनीतिकरण र भू–राजनीतिको हतियार हैन, बरू समस्याको समानका लागि सहकार्य गर्नु पर्दछ । आग्रह–पूर्वाग्रह र आदेशमा नभई विज्ञानमा आधारित समाधान खोज्नुपर्छ । यसैमा सम्पूर्ण मानव समुदायको हित छ ।