Narendra Jung Peter,नरेन्द्रजंग पिटर
 

यो सन् २००२ तिरको कुरा हो, भेनेजुयलामा शिक्षा र स्वास्थ्य, घरबार लगायतमा निशुल्क हुनुपर्ने आवाज जब बोलिभारियन क्रान्तिले उठायो । ह्युगो चाभेजले यस्तो आवाज अगाडि बढाए, त्यसबेलादेखि नै अमेरिकी साम्राज्यवादले भेनेजुएलामाथि आँखा लगाउन थालेको थियो ।

ह्युगो चाभेज आफैमा एक रेडियो पत्रकार थिए । उनले आफ्ना विचारहरु घन्टौं लगाएर रेडियोबाट जनतालाई बाँडिरहन्थे ।

हामीलाई थाहा छ, भेनेजुएला संसारको सबैभन्दा धेरै तेल उत्पादन गर्ने देश हो । यस्तो धेरै तेल उत्पादन गर्ने देशमाथि साम्राज्यवादीले गिद्धेदृष्टि लगाइरहेका थिए ।

शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता जनतासँग प्रत्यक्ष जोडिएका विषयहरुमा जब चाभेजले समाजवादी नीति अगाडि सारे, त्यसबेलादेखि नै भेनेजुएलामाथि नयाँ नयाँ प्रताडना गर्न थालियो । छद्म रुप गरेका नक्कलीहरुलाई चाभेजको विरुद्ध अगाडि बढाइयो । निकारागुआ, बोलिभिया, क्युवा र भेनेजुएलाजस्ता देशहरुलाई अनेक भ्रमहरु खडा गरेर सखाप गर्न खोएिको छ ।

मिडियाको कुरा गरौं, आजै मात्र पनि भेनेजुएलाको पक्षमा विश्वका २ देश मात्र छन् भनेर बीबीसीले लेखेको छ । जबकि हाम्रा दुवै छिमेकी देशहरु, चीन र भारत, टर्की, रुस लगायतका विश्वका धेरै देशहरु भेनेजुएलाको पक्षमा अगाडि बढेका छन् ।

हिजो मात्र मादुरोले अमेरिकी जनताहरु, मानवअधिकारवादीहरु, प्रेसजगत र आम अमेरिकीलाई सम्बोधन गर्दै भनेका छन् – यो लँडाईले भियतनामलाई निम्ता गर्दैछ । हाम्रो अपराध केही पनि होइन । हाम्रो अपराध के हो भने निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, निःशुल्क घरबारका लागि आवाज उठाउनु नै हाम्रो अपराध हुनपुगेको छ । शक्तिका हुकुमलाई हामीले नमान्नु नै हाम्रो अपराध हुनपुगेको छ । तर हामीलाई हाम्रो सार्वभौमसत्ताको सुरक्षा गर्ने अधिकार छ – मदुरोले भनेका छन् । कर्पोरेट राजनीतिवाट प्रेरित भएर तेलका भोका ब्वााँसाहरुले गरेको यो आचरण खेदजन्य छ ।

भेनेजुएला शतप्रतिशत साक्षर देश हो । यहाँ स्वास्थ्य, शिक्षा र घरबार निःशुल्क छ । २२ जनवरीमा अमेरिकामा राखिएको भेनेजुयलाको सात अरब पैसा जो छ त्यसलाई चलाउन नपाउने भनेर एउटा यस्तो निर्णय गरियो । चलाउने हो भने विपक्षी नेता गुइएदो – जसले आफैले आफैलाई राष्ट्रपति घोषणा गरेको छ र अमेरिकाले उसैलाई समर्थन गरिरहेको छ – को सिफारिसमा मात्र चलाउने भनेर अमेरिकाले त्यस्तो निर्णय गरिदिएको छ । यस्तो विभत्सताको विरुद्धमा, सिधै अर्काको देशमा लगाइएको गिद्धेदृष्टिको विरुद्धमा, महाशक्तिका नाममा गरिएको यस्तो भयानक ताण्डव नृत्यलाई हामीले विरोध गरेनौँ भने आन्तरिक राष्ट्रवादको पक्षमा पनि आवाज उठाउन सक्दैनाँै । यसको विपक्षमा हामी रहेनौँ भने भ्रष्टाचारको पनि विरोध गर्न सक्दैनौँ । निर्मला र वाइडबडी केसको पनि विरोध गर्न सक्दैनौँ ।

नयाँ नयाँ कोन्ट्राहरु, डलरवादीहरु, एनजिओको आवरणमा अर्कै काम गर्नेहरु नयाँ नयाँ रुपमा आउन सक्छन् अथवा कुनै राजनीतिक पार्टीका नाममा लोकप्रिय नाराकासाथ यो आउन सक्छ । त्यसो हुँदा यो १५ हजार ४४ किलोमिटर टाढाको देश भेनेजुएलासँगको हाम्रो सम्बन्ध हिमाल र महासागरपारिको देशको रुपमा मात्र होइन, मानवताको हिसाबले, समाजवादी चिन्तन अंगालिरहेको देश हुनुको नाताले, साम्राज्यवादीहरुको नाकैमुनि बसेर साम्राज्यवादलाई चुनौति दिने देश भएको नाताले हामीले भेनेजुएलाको समर्थन गर्नुपर्दछ ।

यो केवल भेनेजुएला र अमेरिका बिचको मात्र टकराव होइन । दुईवटा चिन्तनको टकराव हो । समाजवादी चिन्तनधारा र कर्पोरेट राजनीतिक चिन्तनधारा बिचको समस्या हो । यसलाई यसरी बुझ्नुपर्दछ ।

अमेरिकी साम्राज्यवाद हरेक पटक नयाँ नयाँ आवरणमा प्रस्तुत हुने गरेको हामीले देखिराखेका छौं । इराक, लिबिया लगायतका देशका उदाहरण हाम्रासामु छन् । अफगानिस्तानबाट फर्किँर्दै गर्न थालेको अमेरिकी साम्राज्यवादलाई पनि हामीले हेर्यौँ । यो एउटा सामान्य विषय मात्र होइन । मानवताको पक्षमा उभिने कि युद्ध पिपासुहरुको पक्षमा उभिने भन्ने विषय हो । र, हाम्रो अगाडि आएको नयाँ चुनौति पनि हो । भेनेजुएलाको पक्षमा उभिने भनेको हामै समस्याहरुको पक्षमा उभिनु हो । स्वदेशी कोन्ट्रा र प्रतिकृयावादीहरुको विरुद्धमा उभिनु हो । युद्धको विपक्षमा तथा शान्ति र मानवताको पक्षमा उभिनु आजको हाम्रो दायित्त्व हो । संसारभर जहाँ जहाँ अन्याय अत्याचार भएका छन्, तिनको विपक्षमा र न्याय र समानताको, मानवताको पक्षमा उभिनु आज सबैको् कर्तव्य हो । यसबारेमा सबैजना गम्भिर हुनका लागि मेरो विनम्र अनुरोध छ ।

(२०७५ माघ १७ गते काठमाडौँमा सम्पन्न भेनेजुएलासँग ऐक्यबद्धता कार्यक्रममा साम्राज्यवाद विरोधी मोर्चाका संयोजक नरेन्द्रजंग पिटरले राख्नुभएको मन्तव्यको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ  – सम्पादक ।)