काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री क. पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) का राजदूत जो योङ मानले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
झण्डै एक महिना अगाडि नेपालका लागि प्रजग कोरियाका राजदूतको रुपमा कार्यभार सम्हाल्नु भएका राजदूत मानले आइतबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा पुगेर शिष्टाचार भेटवार्ता गर्नु भएको हो ।
भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र नेपालको बिचमा निकै घनिष्ट र सुमधुर सम्बन्ध रहेको बताउँदै नेपालका लागि प्रजग कोरियाको राजदूतको रुपमा राजदूत मानको कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा अध्यक्ष प्रचण्डले, “उत्तर कोरियाका महान नेता किम इल सुङको नेतृत्वमा भएको कोरियाली मुक्ति आन्दोलनबाट नेपालको राष्ट्रिय र वर्गीय मुक्ति संघर्षमा धेरै शिक्षा प्राप्त भएको उल्लेख गर्दै प्रिय नेता किम जोङ इल पनि नेपाली जनताका लागि प्रेरणाका स्रोत रहेको” जनाउनु भयो ।
उहाँले कोरियाली जनताका सर्वोच्च नेता किम जोङ उनको नेतृत्वमा प्रजग कोरिया निकै आशालाग्दो ढङगले अगाडि बढिरहेको र विगत लामो समयदेखिका समस्याहरुलाई कुटनीतिक तवरले वार्ताद्वारा हल गर्न भएको प्रयत्नको स्वागत र समर्थन गर्नुभयो ।
अध्यक्ष प्रचण्डले “सर्वोच्च नेता किम जोङ उनको नेतृत्वमा उत्तर कोरिया शान्ति, समृद्धि र प्रगतिको दिशामा अगाडि बढ्ने र कोरियाली समाजवादी व्यवस्था थप सुदृढ हुनेमा आफू विश्वस्त रहेको” बताउनु भयो ।
शिष्टाचार भेटवार्ताका अवसरमा राजदूत जो योङ मान र अध्यक्ष प्रचण्डको बिचमा दुई देशका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र कोरियाली श्रमिक पार्टी (वर्कस पार्टी अफ कोरिया) को बिचमा द्विपक्षीय सम्बन्धको विषयमा छलफल भएको थियो ।
सो भेटवार्ताका क्रममा प्रजग कोरियाका राजदूत जो योङ मान, कन्सुलर किम जोङ ह्योक, कन्सुलर एट्यासे रो ह्वाङ, नेपाल-कोरिया मैत्री संघका महासचिव पी.आर. पन्त तथा क. गंगा दाहाल सहित अध्यक्ष प्रचण्डको स्वकीय सचिवालयका सदस्यहरुको उपस्थिति थियो ।
सोहि दिन साँझ नेपालका लागि चिनियाँ राजदूतले पनि अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेट गर्नुभएको थियो ।