Mahatma Gandhi at the death bed after being shot by Nathuram Godse
 

आजभोलि महात्मा गान्धीको हत्यारा गिरोहको नाइके नाथुराम गोड्सेको गुणगान गाउन जुन प्रयास भइरहेको छ, त्यो नौलो कुरा होइन । गोड्सेको सम्बन्ध राष्ट्रिय स्वयंसेवक संघसँग थियो भन्ने बताइन्छ, त्यसैले गान्धीको हत्यापश्चात सो संघमाथि भारतका तत्कालिन गृहमन्त्री सरदार बल्लभभाइ पटेलले प्रतिबन्ध लगाइदिएका थिए ।

अपितु संघले गोड्सेसँगको आफ्नो सम्बन्धलाई सँधै अस्वीकार गर्दै आएको छ र आफ्नो यो स्पष्टीकरणलाई पुष्टि गर्नका लागि उसले गोड्सेलाई गान्धीको हत्यारा पनि मान्दछ र सो कार्यलाई निन्दनीय घोषित पनि गर्दछ । तर प्रश्न उठ्छ कि आखिर त्यस्तो के कारण छ, जसलेगर्दा केन्द्रमा भारतीय जनता पार्टी सत्तारुढ भएपछि नै गोड्सेको महिमामण्डन गर्ने सिलसिला तीब्र बन्यो ?

यही सिलसिलामा एकाएक उसको नामको मन्दिर बनाउने प्रयास शुरु भयो । उसको जन्मजयन्ती र पुण्यतिथि मनाउन थालियो । उसलाई ‘चिन्तक’ र यहाँसम्म कि ‘स्वतन्त्रता सेनानी’ र ‘शहीद’ पनि भन्न थालियो । यहाँ प्रश्न उठ्छ कि तीन वर्ष पहिले केन्द्रमा नरेन्द्र मोदीको सरकार बनेपछि गोड्सेका भक्तहरुका यी सबै क्रियाकलापहरुको शुरुवात हुनु संयोग मात्रै हो वा यो सबै गतिविधि कुनै सुविचारित योजना अन्तर्गत भइरहेको छ ?

गान्धीको जुन हत्याराको यसरी महिमामण्डन गरिराखिएको छ, त्यसको बारेमा के कुरा जान्नु अभिरुचीपूर्ण छ कि ऊ गान्धीको हत्या गर्नुअघिसम्म के थियो ? के ऊ चिन्तक थियो, प्रख्यात राजनेता थियो, हिन्दु महासभाको जिम्मेवार पदाधिकारी वा स्वतन्त्रता सेनानी थियो ?

Nathuram Godse who killed Mahatma Gandhi
नाथुराम गोड्से, जसले महात्मा गान्धीको गोली हानी हत्या गरेको थियो

वास्तवमा नाथुराम गोड्से यति धेरै उचाइको छेउछाउसम्म पनि कहिल्यै पुग्न सकेको थिएन । पुणे शहरमा रहेको उसको टोल सदाशिव पेठ बाहिर उसलाई कसैले चिन्दैन्थ्यो । जबकि त्यतिबेला उसको उमेर चालिस वर्षको छेउछाउ थियो । नाथुराम एउटा स्कुल छोडेर भागेको विद्यार्थी थियो । नूतन मराठी विद्यालयमा माध्यामिक तहको परिक्षामा फेल भएपछि उसले पढाई छोडेको थियो । उसको मराठी भाषाको ज्ञान केवल कामचलाऊ थियो, अंग्रेजीको ज्ञान हुने त झन प्रश्नै उठ्दैन ।

उसका पिता बिनायक गोड्से हुलाकका कर्मचारी थिए, जसको मासिक तलब पाँच रुपैयाँ थियो । ऊभन्दा पहिले जन्मेका उनका सबै छोराहरु मरेकोले नाथुराम आफ्नो पिताको प्यारो थियो । त्यसैले अन्धविश्वासबाट प्रभावित भएर आमाले नाथुरामलाई एक छोरीलाई जस्तैगरी लालनपालन गरेकी थिइन् । उसको नाकमा नत्थी लगाइयो, जसलेगर्दा उसको नामनै नाथुराम रह्यो । उसको बानीव्यहोरा र क्रियाकलापहरु पनि केटीहरुको जस्तै हुन पुगे ।

नाथुरामपछि उसका मातापिताका अरु तीन जना छोरा जन्मिए, जसमा एउटा थियो गोपाल, जो नाथुरामसँगै गान्धी हत्याको सहअभियुक्त थियो । नाथुरामको युवावस्था कुनै विशेष घटना वा विचारका लागि जानिँदैन । त्यो समयमा उसको उमेरका युवाहरु भारतमा क्रान्तिको दियो जगाउन लागिपरेका थिए, जेलनेल भोग्दै थिए, शहीद भइरहेका थिए । स्वाधीनता संग्रामको यो हलचलसँग नाथुरामको कुनै सरोकार थिएन । ऊ आफ्नै नगर पुणेमा रोजीरोटीको खोजीमा लागि रहन्थ्यो । यही सिलसिलामा उसले साँगली शहरमा दर्जीको पसल पनि खोलेको थियो । उसले पहिला सिकर्मीको काम पनि गरिसकेको थियो र फलफूलहरु ठेलामा राखेर बेच्ने काम पनि गरिसकेको थियो ।

पुणेमा सन् १९१० मा जन्मेको नाथुरामको जीवनको पहिलो विशेष घटना सेप्टेम्बर १९४४ मा घटेको थियो, जब हिन्दु महासभाका नेता लक्ष्मण गणेश थट्टेले सेवाग्राममा धर्ना दिएका थिए । त्यो समयमा महात्मा गान्धी भारतको विभाजनलाई रोक्नका लागि मोहम्मद अली जिन्नासँग वार्ता गर्न मुम्बई जान लागेका थिए । ३४ वर्षीय नाथुराम थट्टे समर्थक प्रदर्शनकारीहरुमा सहभागी थियो । उसको उद्देश्य (खंजर) चक्कुले बापु (गान्धी)माथि हमला गर्ने थियो तर आश्रमवासीले उसलाई गिरफ्तार गरेका थिए ।

उसको जीवनको दोस्रो ठूलो घटना त्यसको एक वर्षपछि अर्थात् सन् १९४५ मा घटेको थियो, जब बेलायती वायसरायले भारतको स्वतन्त्रताको विषयमा छलफलका लागि राजनेताहरुलाई सिमलामा आमन्त्रित गरेका थिए, त्यतिबेला नाथुराम पुणेको एउटा नामै नसुनिएको पत्रिकाको संवाददाताको रुपमा त्यहाँ उपस्थित थियो ।

Mahatma Gandhi who was shot 3 buleets at his chest by Nathuram Godse
छातीमा गोली लागी मृत्यु भएका महात्मा गान्धीलाई अन्तिम श्रद्धाञ्जली दिँइदै

गान्धीको हत्यापछि जब पुणेस्थित नाथुरामको निवास र मुम्बईमा उसको घरमा छापा मारियो, त्यतिबेला घातक हतियारहरुको भण्डार फेला परेको थियो, जसलाई उसले हैदरावादमा हुन लागेको निजाममा हमला गर्ने बहानामा जम्मा पारेको थियो । यो फरक कुरा हो कि यी हतियारहरुको उपयोग उसले कहिल्यै गरेन । मुम्बई र पुणेका व्यापारीहरुबाट आफ्नो हिन्दु राष्ट्र संगठनको नाममा नाथुरामले अनगिन्ती पैसा जुटाएको थियो, जसको हिसाबकिताब उसले कहिल्यै कसैलाई दिएन ।

उपरोक्त सबै तथ्यहरुलाई मिहिन ढंगले केलाउँदा के निष्कर्ष निस्कन्छ भने थोरै मात्रै पढाइलेखाई भएको नाथुराम गोड्से एउटा आवरा खालको मानिस थियो, जसलाई कतिपय हिन्दु उग्रवादीहरुले गान्धीको हत्याका लागि भाडामा राखेका थिए । जेलमा भएका उसका चिकित्सकीय प्रतिवेदनहरु (मेडिकल रिर्पोटहरु) के थाहा लाग्यो भने ऊ मस्तिष्क माइग्रेन (आधासीसि) नामको रोगबाट ग्रसित थियो । यस्तो ३८ बर्षीय बेरोजगार, अविवाहित और मानसिक रोगले ग्रस्त नाथुराम कुनै पनि हालतमा सामान्य मनःस्थितियुक्त व्यक्ति थिएन ।

उसले गान्धीको हत्याका लागि पहिलो प्रयास सन् १९४८ जनवरी २० मा गरेको थियो । उसले आफ्नो सहयोगी मदनलाल पाहवासँग मिलेर नयाँ दिल्लीको बिरला भवनमा बम हानेको थियो, जहाँ गान्धी दैनिक प्रार्थना सभा गरिरहेका थिए । बमको निशाना चुकेको थियो । पाहवा प्रक्राऊ पर्यो तर नाथुराम भाग्न सफल भयो र मुम्बईमा लुकेर बस्यो ।

दश दिनपछि ऊ आफ्नो अधुरो काम पुरा गर्नका लागि फेरि दिल्ली आयो । नाथुरामलाई उसका प्रशंसकहरुले एक धर्मनिष्ठ हिन्दुको रुपमा पनि प्रचार गर्ने गरिएको छ, तर ३० जनवरीको साँझको एउटा घटनाले साबित गर्छ कि नाथुराम कस्तो र कति धर्मनिष्ठ थियो । गान्धीमाथि ३ गोली प्रहार गर्नुभन्दा अगाडि उसले उनको बाटो छेकेर उभिएको थियो ।

नातिनी मनुले नाथुरामलाई एकातिर हट्नका लागि आग्रह गरेकी थिइन् किनभने गान्धीलाई प्रार्थनाकब लागि ढिला भइरहेको थियो । धकेलाधकेलमा मनुको हातबाट पूजाको माला र आश्रमको भजन गाउने भजनको पुस्तिका भुईंमा खसको थियो । तर नाथुराम २०औँ शताव्दीको सबैभन्दा जघन्य अपराध गर्नका लागि भजनको पुस्तिकालाई कुच्दै अगाडि बढेको थियो ।

नाथुराम गोड्सेसँग अलिकति पनि सहानुभूति राख्ने मानिसहरुले यो क्रुर हत्याराको बारेमा एक अर्को प्रमाणित तथ्यमा ध्यान दिन आवश्यक छ । गान्धीलाई मार्नुभन्दा दुई साताअघि नाथुरामले ज्यादै नै ठूलो राशी खर्च गरेर आफ्नो जीवनका लागि बीमा गरेको थियो, ताकि ऊ पक्राउ परेमा वा मारिएमा उसको परिवार आर्थिक रुपले लाभान्वित हुन सकोस् ।

एउटा कथित ऐतिहासिक मिशन लिएर हिँडेको भनिएको व्यक्ति बीमा कम्पनीबाट फाइदा लिन चाहन्थ्यो । अदालतमा मृत्युदण्डबाट बँच्नका लागि नाथुरामको वकिलले दुई प्रत्यक्ष साक्षीको बयानमा विरोधाभासको सहारा लिएका थिए । तीमध्येको एउटाले भनेको थियो – पिस्तोलबाट धुवाँ निस्केको थिएन । अर्कोले भनेको थियो – गोली चलाएपछि धुवाँ निस्केको थियो । नाथुरामको वकिलले तर्क गरेको थियो कि धुवाँ नाथुरामको पिस्तोलबाट निस्किएको थिएन । अतः हत्या कोही अरुकै पिस्तोलले भएको हुनसक्छ । घटनाको प्रकृति मुम्बईको कुनै फिल्म जस्तो बनाउने एक असफल प्रयास उनीहरुले गरेका थिए । वकिलको चाहना थियो कि नाथुराम शंकाको सुविधा लिएर छुटोस् ।

Nathuram godse and the Murderers of Mahatma Gandhi at the Court
नाथुराम गोड्से र महात्मा गान्धीका हत्याराहरू अदालतमा

गान्धीको हत्या गरेर गिरफ्तार भइसकेपछि खाकीको भेस्ट लगाएको नाथुरामले आफूलाई मुसलमान बताउने कोशिस गरेको थियो । यसबाट नाथुरामको उद्देश्य कति नीच (पिचासको जस्तो) थियो भन्ने कुरा अनुमान गर्न सकिन्छ । यसको पछाडि उसको चाहना मुसलमानलाई देशभरका जनताको रिसको निशाना बनाउने र उनीहरुको विरुद्धमा हिंसा भड्काउनु थियो । ठीक त्यसैगरी जसरी इन्दिरा गान्धीको हत्यापछि सिखहरुसँग भएको थियो ।

राष्ट्रको नाममा गरेको आफ्नो सम्बोधनमा तत्कालिन प्रधानमन्त्री जबाहरलाल नेहरुले हत्याराको नाम उल्लेख गरेनन्, जसको कारण प्रष्ट छैन । तर उनको सम्बोधनको लगत्तै गृहमन्त्री सरदार बल्लभभाइ पटेलले आकाशवाणी भवनमा पुगेर रेडियोमार्फत देशवासीलाई भनिदिए कि ‘वापु’को हत्यारा एक हिन्दु हो । यसो गरेर सरदार पटेलले मुसलमानहरुलाई बिनाकारण भारतीय जनताको कोपभाजनमा पर्नसक्ने खतराबाट बचाइदिए ।

कुनै पनि सच्चा क्रान्तिकारी वा आन्दोलनकारी जेलमा आफ्ना लागि सुविधाहरुको माग गर्दैन । तच नाथुरामले गान्धीलाई मारेपछि अम्बाला जेलभित्र पनि आफ्ना लागि सुविधाहरुको माग गरेको थियो, जसका लागि ऊ कुनै पनि तरिकाले योग्य थिएन । त्यसै पनि ऊ स्नातक वा पर्याप्त शिक्षित नहुनुको कारणले पञ्जाब जेलको नियमावली अनुसार उसलाई साधारण कैदीको रुपमा नै राखिनु पर्दथ्यो ।

नाथुराम र उसका सहअभियुक्तहरुको देशभक्तिको पाखण्डको एक अर्को उदाहरण हेर्नुहोस्ः ऊ स्वतन्त्र भारतको वासिन्दा थियो र उसलाई भारतीय कानुन अनुसार नै अपराधका लागि मृत्युदण्डको सजाएँ सुनाइएको थियो । तैपनि उसले आफ्नो मृत्युदण्डको फैसलाको विरोधमा लण्डनको प्रिवी काउन्सिलमा अपिल गरेको थियो । उसको बेलायती वकिल जोन मेगा थियो । बेलायती न्यायाधीशहरुले उसको अपिललाई खारेज गरिदिएका थिए । गान्धीको हत्याको षडयन्त्र रच्दै गर्दा नाथुरामको भाइ गोपाल गोड्से पनि सहभागी थियो, जसले अदालतमा आफू गान्धी हत्याको योजनाबारे अञ्जान र बेकसुर रहेको बयान दिएको थियो ।

अदालतले उसलाई आजीवन कारावासको सँजाय सुनाएको थियो । गोपालले जेलभित्र हरेक वर्षको गान्धी जयन्तीको कार्यक्रममा अग्रसरतापूर्वक सहभागी हुने गर्दथ्यो । यस्तो उसले प्रायश्चितका लागि होइन, आफ्नो सँजाय अवधिमा छुट पाउनका लागि गर्दथ्यो किनभने जेलको नियम अनुसार यस्तो गर्दा सँजाय अवधि मिनाहा हुन्थ्यो र यसरी गोपाल गोड्से आफ्नो सँजायको पूरै अवधिभन्दा पहिले नै रिहा भएको थियो ।

महात्मा गान्धीलाई मुश्लिमपरस्त मान्नेहरु यो तथाकथित हिन्दु हृदयसम्राटको पुणेमा सदाशिव पेठस्थित घरको नम्बर ७८६ थियो, जसको अर्थ हुन्छ – बिस्मिल्लाहिर रहमार्निरहिम । सदाशिव पेठमा ऊ प्रायः कुर्लने गथ्र्याे कि उसको दाइ नाथुराम शहीद हो । उसले आफूलाई पनि एक राष्ट्रभक्त आन्दोलनकारी बताउँथ्यो र निशंकोच भन्ने गर्दथ्यो कि एउटा अर्धनग्न र कमजोर बूढोको हत्या गरेकोमा उसलाई कुनै पश्चाताप अथवा अफसोच छैन ।

नाथुरामसँगै फाँसी दिइएको अर्को अभियुक्त थियोः नारायण आप्टे । नाथुरामको सबैभन्दा नजिकको साथी र सहकर्मी । ब्रिटिश वायुसेनामा नोकरी गरिसकेको आप्टे पहिले गणित शिक्षक थियो । उसले आफ्नी एक क्रिश्चियन छात्रा मनोरमा सालवीलाई कुमारी आमा बनाउने दुष्कर्म गरेको थियो, जबकी उसका धर्मपत्नी र एक विकलांग छोरो पनि थिए । मदिराप्रेमी (जँड्याहा) आप्टेले गान्धीको हत्या गर्नु एक दिन अगाडि अर्थात् १९४८ जनवरी २९ को रात पुरानो दिल्लीको एक वेश्यालयमा बिताएको थियो र उसले त्यो रातलाई आफ्नो जीवनको स्मरणयोग्य रात बताएको थियो । यो तथ्य ऊसँग सम्बन्धित अदालती दस्तावेजमा संलग्न छ ।

गान्धी हत्याकाण्डको चौथो अभियुक्त विष्णु रामकृष्ण करकरे हतियारको तस्कर थियो । उसको लालनपालन एक अनाथालयमा भएको थियो । गोड्सेसँग उसको परिचय हिन्दु महासभाको कार्यालयमा भएको थियो । अर्को एउटा अभियुक्त दिगम्बर रामचन्द्र बड्गे थियो, जो सरकारी साक्षी बन्यो र क्षमा पायो । उसले पुणेमा शस्त्र भण्डार नामको पसल चलाउँथ्यो । पुड्को, कालो वर्णको र ठूलाठूला आँखा भएको बड्गेले आफ्नो बयानमा बिनायक दामोदर सावरकरलाई हत्याको षडयन्त्रको सुत्रधार बताएको थियो तर पर्याप्त प्रमाण नजुटेपछि सावरकर रिहा भएको थियो ।

यतिबेला केही बौलाहा र अज्ञानी मानिसहरु योजनाबद्ध तरिकाले नाथुराम गोड्सेलाई उच्च कोटिको चिन्तक, देशभक्त र अदम्य नैतिक उर्जाले भरिएको व्यक्तिको रुपमा प्रचार गर्नमा जुटिरहेका छन् । यो प्रचार सामाजिक सञ्जालको माध्यमबाट चलाइएको छ । उनीहरुको यो प्रचारको आधार नाथुरामको दश पृष्ठको वक्तव्य हो, जुन एकदमै युक्तिसंगत, भावुक र ओजश्वी शब्दमा तयार पारिएको थियो र त्यसलाई नाथुरामले अदालतमा वाचन गरेको थियो । त्यो वक्तव्यमा उसले गान्धीलाई किन मार्यो भनेर ब्याख्या गरेको थियो । कैयौँ प्रकारका झुठहरुले भरिएको सो वक्तव्यमा दुई ठूला र हाँस्यास्पद झुठ थिए ।

Mahatma Gandhi at the death bed after being shot by Nathuram Godse
महात्मा गान्धी, अन्तिम श्रद्धाञ्जली दिँइदै

एउटा झूठ यो थियो कि महात्मा गान्धीले गौहत्या (गाईको हत्या) को विरोध गर्दैन्थे र अर्को, उनी राष्ट्र भाषाको नभई अंग्रेजीको पक्षधर थिए । परन्तु यो वक्तव्य गोड्सेले आफै तयार पारेको थिएन । उसले तयार गर्नसक्ने पनि थिएन किनभने उसलाई न मराठी भाषाको राम्रो ज्ञान थियो, न त हिन्दीको, अंग्रेजीको त झन् बिल्कूलै थिएन ।

बरु, त्यो समयमा दिल्लीमा कैयौँ यस्ता हिन्दुवादीहरु थिए, जसको हिन्दी र अंग्रेजीमा समान अधिकार र प्रवाहमयी शैलीको राम्रो अभ्यास थियो । यस बाहेक उनीहरु वैचारिक तार्किकतामा पनि पारङ्गत थिए । उनीहरु मध्येकै कसैले नाथुरामको तर्फबाट यो वक्तव्य तयार पारेर जेलमा पठाएको अनुमान लगाउन सकिन्छ, जसलाई नाथुरामले अदालतमा वाचन गरे होला ।

आप्टेको फाँसीको दिन (१५ नोभेम्बर १९४९) अम्बाला जेलको आफ्नै आँखाले देखेको प्रत्यक्ष दृश्य हालका न्यायमूर्ति जिडि खोसलाले आफ्नो संस्मरणमा लेखेका छन्, जसका अनुसार गोड्से तथा आप्टेलाई हात पछाडि बाँधेर फाँसीको तख्तामा लैजाँदै गर्दा गोड्से लर्खराइरहेको थियो । उसको घाँटी सुकेको थियो । ऊ डराएको र विक्षिप्त देखिएको थियो । आप्टे उसको पछिपछि हिँडिरहेको थियो । उसको निधारमा पनि डर र चाउरी प्रष्ट देखिइरहेको थियो ।

यस्ता ‘बहादुर’, ‘चरित्रवान’ र ‘देशभक्त’ थिए, यी हिन्दु राष्ट्रका स्वप्नद्रष्टाहरु, जसले एक निशस्त्र, बूढो, परम सनातनी हिन्दू र रामका अनन्य आजीवन भक्तको छाति गोलीले छियाछिया पारेको थिए । यस्ता हत्याराहरुलाई प्रतिष्ठित गर्ने प्रयास लाजलाग्दो कुरा त हुँदै हो, यस्तो प्रयासमा सत्तामा बस्नेहरुको मौनता पनि कम लाजमर्दो र खतरनाक चाहिँ होइन ।

(वरिष्ठ भारतीय पत्रकार अनिल जैनको प्रस्तुत लेखलाई  भारतबाट प्रकाशित हुने जनज्वारबाट लिई अनुवाद गरिएको  हो ।)