कम्युनिस्ट पार्टीमा व्यक्तिवाद हावी हुनु र विधिको शासनमा व्यक्ति हावी हुनु दुर्भाग्य हो । व्यक्ति बचाउनका लागि आसेपासेलाई आफ्नो भजनमण्डली गर्न सडकमा उतार्नु लज्जाको विषय हो । नेतृत्व असल र सक्षम भयो भने त्यहाँ कसैले औँला ठड्याउन पाउँदैन र त्यो हिम्मत पनि गर्दैन । कार्यशैली ठिक भएन भने नेतृत्वप्रति प्रश्न उठ्ने हो ।
अहिलेको राजनीतिक परिवेश आफू मात्रै ठिक आफ्नो भजनमण्डली गरिदिने मात्रै ठिक भन्ने गलत प्रवृत्तिले गाँजिएको अवस्था हो । आफ्नो गुटको भएपछि सात खत पनि माफ हुने । भ्रष्ट, तस्कर, कमिसनखोर, दलाल महान हुने यस्तो परिपाटीले कम्युनिस्ट पार्टी रहन्छ र चल्छ? आफू नै सर्वैसर्वा हुँ भन्ने दम्भ र अहंकारले कम्युनिस्ट पार्टीलाई जनताको पार्टी बनाउन सकिन्छ ? गफले ‘लङ्का जितेँ’ भन्ने काममा सिन्को नभाँच्ने यस्तो तरिकाबाट जनताले सुख पाउँछन्? नीति-नियम निर्माण गर्ने कार्यकर्ता जनताले नियम पालना गर्नुपर्ने नेतृत्वले जे गरे पनि हुने । के यही हो लोकतन्त्रको मूल्य मान्यता? आलोचना सुन्नै नचाहने, पचाउनै नसक्ने कम्युनिस्ट पार्टीको सदस्य वा नेता बन्न सक्छ? यावत थुप्रै प्रश्नहरु अहिले सचेत कम्युनिस्ट सदस्यको मन मस्तिष्कमा उब्जिएका छन् ।
नेपालमा कम्युनिस्ट पार्टीहरुको धेरै लामो इतिहास नभए पनि टुटफुटका थुप्रै शृङ्खलाहरु घटेका छन् । त्यसैले नेपालका कम्युनिस्टहरु जुट्न जानेका छैनन्, फुट्न मात्रै जानेका छन् भन्ने गरिन्छ । जब कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता व्यक्तिगत लोप र लालचमा फस्छन्, तब पार्टीलाई भ्रष्ट र बदनाम गराउँछन्, जसले गर्दा देश र जनताको उन्नति र प्रगतिमा वाधा पुग्छ । अहिले नेपालमा दुई तिहाइ प्राप्त कम्युनिस्ट सरकार छ । तर जनताले चाहेअनुसारको विकास र समृद्धि छैन । दुई तिहाइ बहुमत प्राप्त सरकारको बागडोर तत्कालीन नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले सम्हालिराखेका छन् । उनी गफ, उखान टुक्का माहिर छन् । त्यसैले कतिपय जनता उनको हस्यौली पारालाई खुबै मन पराउँछन् । उनी नेपाली राजनीतिका चतुर खेलाडी पनि हुन् । यसरी बहुमत प्राप्त पार्टी सरकारमा हुँदा पनि जनअपेक्षा अनुसारका कामहरु भइराखेका छैनन् ।
नेपालमा पुष्पकमलहरु राजतन्त्रको जरो उखेल्नका लागि आफ्नो जिउज्यानलाई हत्केलामा राखी तत्कालीन ज्ञाने सरकारका विरुद्ध युद्ध गरिरहँदा, खड्गप्रसादहरु आफ्नै मस्तीमा थिए । निन्द्राबाट ब्युँझिएर उनी भन्ने गर्थे ‘नेपालमा गणतन्त्र ल्याउनु र बयलगाडा चढेर अमेरिका पुग्नु एकै हो’ ।
आज तिनै खड्गप्रसाद प्रचण्डले लडेर ल्याएको गणतन्त्र नेपालका प्रधानमन्त्री छन् । अझ रोचक कुरा त के भने अघिल्लो पटक र यो पटक गरी दुईचोटि उनै प्रचण्डको बुई चढेर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्री बने । दुई-दुई पटक प्रधानमन्त्री बनाइदिएको उपलक्ष्यमा आज उनै खड्गप्रसाद र उनका भजनकृतन गाउने नेता-कार्यकर्ताहरु प्रचण्डलाई भारतको एजेन्टको बिल्ला भिराइरहेका छन् । त्यति मात्र होइन; हत्यारो, दलाल आदिआदि छाडा तथा भद्दा शब्द प्रयोग गरी प्रचण्डको सत्तोसराप गरिरहेका छन् । सामाजिक सञ्जालदेखि सत्ता अनि सडक जतासुकै खड्गप्रादको गुटका मान्छेहरु रोइकराइ गरिरहेका छन् । सत्ता बचाउनका लागि हिजो राजाको पालामा राजाको जयजयकार गरेको झल्को अहिले ओली गुटका कार्यकर्ताहरुले दिइरहेका छन् ।
अहिले न राजतन्त्र छ, न पञ्चायत । यो त लोकतान्त्रिक गणतन्त्र नेपाल हो । यहाँ जनताबाट निर्वाचित जनप्रतिनिधिहरु छन् । तिनै जनप्रतिनिधिहरुले सरकार सञ्चालनका निमित्त संसदबाट प्रधानमन्त्री चुन्ने हो । बहुमत सांसदहरुले प्रधानमन्त्री असक्षम भय विकल्प खोज्नुपर्छ भनेपछि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो । अहिले त खड्गप्रसादलाई पार्टीभित्रैबाट बहुमतभन्दा पनि अत्यधिक सदस्यले राजीनामा दिनुहोस् भन्दा ओली अझै कडा प्रतिवादमा उत्रिन्छन् । यो जस्तो कम्युनिस्ट पार्टीमा लज्जाको विषय अरु के नै हुन सक्ला र?
प्रधानमन्त्री ओली पार्टीलाई एकढिक्का बनाएर अघि बढने पक्षमा छैनन् । पार्टी फुटाल्न तयार छन् तर पार्टी एकताका लागि कुर्सी छोडन तयार छैनन् । मानौँ कि पद उनका लागि पेवा हो । यति ठुलो कम्युनिस्ट पार्टी छ । पार्टीमा नीति, विधि, विधान छ । त्यो सबै मान्न तयार छैनन् ओली । एकाधिकार मात्रै लाद्ने प्रवृत्ति ओलीमा हावी भएको छ । पार्टी संगठन, सरकारी नियुक्ति आदि सबै ठाउँमा आफ्नै गुटको भजनकृतन गरिदिने नेता-कार्यकर्तालाई भर्ती गरेका छन् । ओलीमा मात्रै होइन, उनको गुटमा भएका नेता-कार्यकर्तामा ओलीको जस्तै दम्भ र अहंकार छ । खड्गप्रसाद कुर्सीमा लम्पसार परिरहेका छन् । सत्ताको गुलियो रसले उनलाई लठ्ठ बनाएको छ । उनका विशेष दूत पूर्वसूचना तथा सञ्चारमन्त्री बास्कोटा अहिले अप्रत्यक्ष रूपमा अकुत सम्पत्ति थुपार्न लागिरहेका छन् भन्ने आरोप छ । उनलाई सत्तरी करोड काण्डले मन्त्री पदबाट भुइँमा पछारिदियो । यो त ओली सरकारको एउटा उदाहरण मात्रै हो, यस्ता थुप्रै अनियमित आर्थिक चलखेल भैरहेका छन् ओली सरकारमा ।
अहिले देश कोरोना भाइरसले आक्रान्त भैरहेको बेला राष्ट्रिय एकताको आवश्यकता छ । तर अवस्था त्यस्तो छैन दलहरुको । अहिले स्वस्थ प्रतिस्पर्धाभन्दा एकाअर्कामा घृणा फैलाइरहेका छन् । दलभित्र एक नेताले अर्का विरुद्ध, बाहिर एक दलले अर्कालाई गाली गलौज गर्ने अस्वस्थ क्रियाकलाप नियमित बनेको छ । राजनीतिमा एउटा पनि असल मानिस नभएको भ्रम पैदा हुँदैछ । राजनीतिकर्मी भनेका बदमास हुन् र तिनले मुलुकको हित गर्न सक्दैनन् भन्ने निष्कर्ष निस्किँदैछ । यसले राजनीतिकर्मी र दलीय पद्धतिमा खिया लगाइरहेको छ । अहिले हरेक पार्टीमा चाकरी र चाप्लुसी गर्नेको संख्या असंख्य छ । त्यस्ता व्यक्तिहरुमा स्वार्थ मात्र हुन्छ । नेतृत्वमा रहेकाहरु बिच बैमनस्यता, मतमतान्तर, झगडा चर्काउनुमा तिनको महत्त्वपूर्ण भुमिका हुन्छ ।
विशेष गरेर कम्युनिस्ट पार्टीमा व्यक्तिभन्दा विधि प्रधान हुन्छ । तर खडगप्रसाद ओलीले त्यो सबै लत्याइदिएका छन् । उनले MCC पास गर्नका लागि निकै कसरत गरे पनि असफल भएपछि झनै कट्टर भएका छन् । उनी अहिले काँग्रेस र आफ्नै गुटका मान्छेहरुसँग निरन्तर छलफलमा छन् । नेकपाको सचिवालयमा नौ जना मध्ये छ जनाले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने भनेपछि ओली संकटमा परे । त्यसै विषयलाई लिएर बसेको स्थायी समितिको बैठकमा पनि बहुमत सदस्यले राजीनामा दिनुपर्ने धारणा राखेपछि ओली बैठकमा जानै छोडे । नेकपाका बहुमत केन्द्रीय सदस्यहरूले पनि पार्टी एकतालाई जोगाइ राख्नका लागि सबै नेतृत्वले आफ्नो हठ त्याग्नुपर्ने धारणा राखेका छन् ।
पार्टीका सदस्यहरुको मात्रै होइन, आम जनताको माग हो – कम्युनिस्ट पार्टी पदकेन्द्रित भएर फुट्नु हुँदैन । विकास र समृद्धिको ठुलो आशा र विश्वाससहित नेकपालाई जनताले बहुमत दिएका हुन् । आज तिनै जनताको आशा र विश्वासमा तुसारापात हुने संकेत नेतृत्वबाट देखापरेको सत्तामोहले प्रष्ट पारेको छ ।खड्गप्रसाद गुटका मान्छेहरु भन्दैछन् जनताले केपी ओलीको नाममा मत दिएका हुन्, नेकपाको नाममा होइन । यो जस्तो हाँस्यास्पद अरु के हुन सक्ला र? यदि त्यसो हो भने नेकपामा टाँसिइरहनुको अर्थ के छ? गम्भीर प्रश्न उब्जिएको छ । खड्गप्रसाद गुट आफू इतरका मान्छेहरु किन यसरी संकीर्णताको भावबाट प्रस्तुत भइरहेका छन ? पार्टी भावनामा बगेर चल्ने होइन, विचार र पद्धतिमा चल्ने हो । अहिले यिनीहरुको छताछुल्ल भएको भावनालाई हेर्ने हो भने यिनीहरुको काम नै प्रचण्डको खोइरो खन्ने हो जस्तै अनुभुति हुन्छ । प्रचण्ड नै सबै हुन् भन्ने पनि होइन । उनका पनि केही कमजोरी हुन सक्छन् । त्यसका लागि सभ्य भाषामा आलोचना गर्न सकिन्छ । असभ्य भाषामा गालीगलौजमा उत्रिनु कमजोर मानसिकताको उपज हो । यसले पार्टी, व्यक्ति, जनता कसैलाई पनि फाइदा गर्दैन ।
अहिलेको आवश्यकता भनेको मजबुत कम्युनिस्ट एकता हो । यो एकता प्रक्रियाबाट भाग्ने छुट कसैलाई पनि छैन । एकताका लागि नेतृत्वमा भएकाले त्याग गर्न सक्नुपर्छ र गर्नुपर्छ । नेकपा सँधै आन्तरिक किचलोमा फस्नु हुँदैन । फराकिलो सोच र विचारसहित देश र जनताको विकास र समृद्धिका लागि नेकपाले कम्मर कस्नैपर्छ । यदि यसो गर्न नसकेको खण्डमा नेकपाले जनता माझ जाँदा मुख छोप्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले गल्तिहरुलाई सच्याएर अगाडि बढ्नुको विकल्प छैन ।
(लेखक पत्रकार संगठनका कर्णाली प्रदेश सदस्य हुनुहुन्छ ।)