कोरोना भाइरस, खुला पत्र, छवी सुवेदी, chhabi subedi, coronavirus, letter
 

निष्ठुरी कोरोना,

रातको बाह्र बजेको छ। हावा थामिएको छ । माथि आकाशमा बादल बिस्तारै वामे सर्दैछ । निद्रा लागेको छैन । पारिपट्टिको क्वारेन्टिन (क्वारेन्टाइन) को गेटमा पुलिस बसिरहेको छ । उसले मोबाइलमा गीत बजाइरहेको छ । क्वारेन्टिन चुपचाप छ । सायद निदाइसक्यो ।

कोरोना,

तिमी चीन हुँदै नेपाल आउँदा धेरैलाई थाहा नै भएन । युरोपबाट आउँदा भने केही खैलाबैला भयो । जब भारत हुँदै आयौ त सुनामी नै ल्यायौ। बन्दाबन्दीले दुई महिना नाघिसक्यो। आर्थिक गतिविधि ठप्प पारेर घरभित्र कैद हुनु र आसन्न त्रासले घिटिघिटी हुँदै बाँच्नु कति डरलाग्दो होला । भन त कोरोना ।

मन गह्रुङ्गो भएको छ । आकाशको बादल हेर्छु, स्वच्छन्द उडिरहेको छ। रातको निरवतालाई चिर्दै एम्बुलेन्सको साइरन टाढा-टाढासम्म नमिठोगरी गुन्जिरहेको छ । समय समयको कुरा हुँदोरहेछ ।

कोरोना,

सँधै शासकहरुको आदेश मात्र कहाँ चल्दो रहेछ र पृथ्वीमा । कहिलेकाँही आँखाले देख्न नसकिने, कानले सुन्न नसकिने तिमीजस्तै भुसुनोको संकेत पनि मानव प्रभुत्वका निमित्त जबर्जस्त आदेश बनिदिँदो रहेछ । तिम्रो आगमन मात्रले पनि यहाँ विश्वसत्ता हल्लिएको छ । हजारौँ विनाशकारी हतियारहरु सिरानीमा राखेर शासक आइसोलेसनमा सुत्न बाध्य छ । शासकहरु तिम्रो आगमनमा एक अर्कालाई दोषी देख्छन् । एक आपसमा झगडा गर्छन् । मुख छोप्ने मास्क लुट्न बाध्य हुन्छ विश्वको महाशक्ति । कोरोना, तिम्रो तापले शासनको मुखौटो र लङ्गौटी पग्लिएको छ । उसको असली रुप उदाङ्गिएको छ।

chhabi subedi, dailekh, छवी सुवेदी
लेखक

नेपालमा प्रायः जसो चीजवस्तु दक्षिणको बाटो हुँदै आउने गरेका छन् । यहाँ लामो समयसम्म शासन गर्ने राजखलकका पुर्खा उतैबाट आएका थिए । काङ्ग्रेस र कम्युनिस्टहरु पनि त्यहीँबाट नेपाल पसे । दाल, चामल, आलु, प्याजदेखि हामीलाई दैनिक जीवनमा आवश्यक पर्ने धेरै चीजहरु दक्षिणबाट आउने गरेका छन् ।

यताबाट उता जाने मालसामान धेरै कम छ । आर्थिक वर्ष २०७४/०७५ मा भारतबाट नेपालले आठ खरब दस अरब नब्बे करोड नेपाली रुपैयाँको सामान किनेको थियो । भारतसँगको व्यापार घाटा छ खरब नेपाली रुपैयाभन्दा धेरै छ । बन्दाबन्दीपश्चात नेपालले चार अरबभन्दा बढी रुपैयाँको तरकारी मात्र भारतबाट किनेको छ । यसरी हेर्दा नेपालको भान्सादेखि सत्तासम्ममा दक्षिणको कुनै न कुनै खाले वर्चस्व छ।

नेपालका लाखौँ नागरिकले भारतको बजारमा कौडीको मूल्यमा श्रम बेच्नु परेको छ । भारतमा काम गर्ने तिनै नेपालीहरुमा पसेर तिमीले नेपालका गाउँबस्तीसम्मको यात्रा गर्‍यौ । मान्छेको गतिशील जीवन र यातायातको सुगमताले तिम्रो विश्व यात्रालाई सहज बनाइदियो ।

तिम्रो संक्रमण बढ्न थालेपछि भारतले नेपाली लगायत अन्य आप्रवासी कामदारहरुलाई घर फर्किन आग्रह गर्‍यो । भारतको निमित्त रगत, पसिना बगाउने दाजुभाइको परीक्षणको उचित व्यवस्था नै नगरी सरुवा रोगसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र मान्यताको बेवास्ता गर्दै उहाँहरुलाई नेपाल पठाइयो ।

यता नेपालले भारतबाट फर्किने नागरिकहरुका लागि आवश्यक परीक्षणदेखि क्वारेन्टिन, आइसोलेसन आदिको पूर्वतयारी गरेको थिएन । बन्दाबन्दीको शुरुआतमा सामाजिक सञ्जालमा देखापरेका क्वारेन्टिनहरु भारतबाट नेपाली नागरिकहरु फर्किनेबेलासम्म गायव भइसकेका थिए या त हात्तीको मुखमा जीरा साबित भएका थिए । क्वारेन्टिन सम्झेर दुःखी बनेको तिमी क्वारेन्टिन देखेपछि भने खुशीले दङ्ग परे हौला । कमजोर व्यवस्थापन र भिडभाड तिम्रो निमित्त राम्रो अवसर थिए ।

मेरो मनमा अनेकौँ तर्कहरुको ज्वारभाटा चल्छ । भारत जानुहुने दाजुभाइलाई नेपालमै काम लगाउन सकिन्न र ? भारतबाट आयात गरिने कृषिजन्य वस्तु लगायत धेरै वस्तु त हामी यहीँ उत्पादन गर्न सक्थ्यौँ । बिडम्बना भन्नुपर्छ बन्दाबन्दीमा तरकारी समेत भारतबाट आइरहेको छ । तर नेपालमा उत्पादित तरकारीले बजार पाउँदैन । त्यतिकै सडेर जान्छ । स्थानीय उद्योगले कच्चा पदार्थ पाउँदैन । हाम्रो जडिबुटी, ढुङ्गा, लोक्ता आदि कच्चा पदार्थ सस्तोमा भारत जान्छ । भारतीय पुँजीले नेपालको बजारमा एकछत्र राज गरेको छ । यसको बदलामा सीमित बिचौलिया र सत्ताधारीहरुले कमिसन पाउने बाहेक अरु कुनै फाइदा छैन ।

भारतको बजारले तिम्रो बिस्कुन नेपाली आगनमा सुकाइरहेको यो क्षण लिपुलेक, कालापानी र सुस्ताको घामछाँया पनि त्यतिकै चर्चामा छ। उहिल्यै नक्शाबाट छुटेको उक्त भूभाग समेटेर नेपाल सरकारले नक्शा जारी गरेको छ। यो कदमले आम नेपालीको रोग प्रतिरोध क्षमतालाई बढाउन मद्दत गरेको छ । अर्थात खुशी थपेको छ । धेरै नेपालीको अपेक्षा छ, यो खुशी तिम्रो कहरभन्दा लामो समयसम्म, अनन्तसम्म टिकोस् ।

थाल ठटाए पनि, दियो जलाए पनि या जुनसुकै धार्मिक अनुष्ठान गरे पनि तिम्रो प्रवाहलाई भारतले पूरै रोक्न सकेन । धार्मिक आस्थाका केन्द्रहरुमा भिडभाड हुनबाट रोक्न ताला लगाइयो भने पुजारीहरुले मास्क लगाउनुपर्‍यो ।

कोरोना,

तिमीले सबैभन्दा धेरै दुःख गरिब मजदुरहरुलाई दियौ । भनिन्छ, भारतमा झन्डै चालिस करोड मानिस दैनिक कमाइमा बाँच्छन् । बन्दाबन्दीले उनीहरुको दैनिक रोजगार छिन्यो । आफ्ना गाउँहरु छाडेर सहर पसेका मजदुरहरूसँग आफ्नो भन्नु त्यही सुदुरको गाउँ बाहेक केही रहेन । सहरहरुबाट पुलिसको आँखा छलेर मानिसहरु बाध्यकारी क्याराभानमा निस्किए । कैयौँ दिनसम्मको यात्रामा भोक र थकानले तिमीले भन्दा बढी सताए । विशाल अर्थतन्त्रको मेरुदण्ड मजदुरवर्गको क्याराभान आधुनिक इतिहासको ठूलो परिघटना हो । यसका परिणामहरु हेर्न केही समय कुर्नु पर्नेछ ।

उत्तरतर्फको छिमेक चीनमा भने मजदुरहरुको अनन्तसम्मको क्याराभान निस्किन परेन । अमेरिकाले रोजगार गुमेकाहरुलाई भत्ताको व्यवस्था गर्‍यो । भारतले बन्दाबन्दीको लामो समयपश्चात रोजगार गुमेकाहरुका निमित्त रेल सञ्चालनमा ल्यायो । त्यही रेल चढेर तिमी मेरो गाउँसम्म आइपुग्यौ । यात्रा तिम्रो कठिन रह्यो या सहज तिमिलाई नै थाहा होला । तिम्रो आगमन भने हाम्रो निमित्त कठिनसाध्य भएको छ । लामो समयपछि घर फर्किएका आफन्तहरु घर जान पाएका छैनन् । कतिलाई तिम्रो संक्रमणले क्वारेन्टिनबाट आइसोलेसन पुर्‍याएको छ । दुल्लुस्थित क्वारेन्टिनमा एकजनाको अचानक मृत्यु भएको छ । ती युवाको मृत्यु त के कारणले भयो थाहा छैन, तर जिम्मा तिम्रै आएको छ । तिम्रो उपस्थितिका कारण अन्य स्वास्थ्य समस्याहरुले मनपरि गर्न पाएका छन् । यो अवस्थामा अन्य रोगको उपचार दुर्लभ छ । किटको अभाव छ, जनशक्तिको अभाव छ । तसर्थ परीक्षणमा ढिलाई भएको छ । अबको एक महिनामा तिम्रो संक्रमणको उच्च रुपको सामना हाम्रो देशले गर्नु त छँदैछ ।

वस्तुस्थितिले मानिसको चेतनामा प्रभाव पार्छ । धारणा बनाउन मद्दत गर्छ । तिम्रो कारणले क्वारेन्टिन, आइसोलेसन, स्यानिटाइजर जस्ता नामहरु सर्वसाधारणको जिब्रोमा झुन्डिएका छन् । मानिसहरुले हात मिलाउन छाडेका छन् । भिड नगरी काम गर्न सकिने विकल्पहरुको खोजी हुन थालेका छन् । स्वास्थ्य सेवाले महत्त्व पाएको छ । ओझेलमा परेका अस्पतालहरुले भेन्टिलेटर र आइसियु कक्ष पाएका छन् । स्वास्थ्य र विज्ञानको विषयमा नीति निर्माताहरु घोत्लिन बाध्य भएका छन् ।

मानिसलाई तिमीले त चिनेकै छौ नि ? यो सजिलै हार मानेर भाग्ने प्राणी होइन । यो त सास रहेसम्म कठिनाईहरुसँग लडिरहन्छ । उपायहरुको खोजीमा डटिरहन्छ। तिम्रो कारण पुजीवादलाइ थोरै मात्रामा भए पनि संकट परेको छ। यसले आफूलाई टिकाउन विभिन्न बहाना खोजिरहेको छ ।

हिजो अस्पतालमा एकजना डाक्टरले तिमीलाई प्रयोगशालाबाट पोखिएको भाइरस भन्दै थिए । तिम्रोबारे थुप्रै मिथकहरु, भ्रमहरु योजनाबद्ध हिसाबले प्रचारमा ल्याइएका छन् । तिमी प्रयोगशालाबाट पोखिएको भन्ने प्रचारसँग म भने सहमत छैन । अमेरिकी सत्ताले आफ्ना केही मानवताविरोधी हर्कतहरुको ढाकछोप गर्न, चीनको बढ्दो प्रभावलाई कम गर्न यस्तो आरोप लगाएको हुनुपर्छ । उसले अकारण विश्व स्वास्थ्य संगठनमाथि लान्छना लगाएको छ । पुँजीवादको संक्रमण तिम्रो संक्रमणभन्दा कम घातक हुँदैन । यसले आफ्नो सम्पर्कमा आउने सबै सामाजिक प्रणालीलाई ध्वस्त गरिदिन्छ ।

कोरोना,

तिमी के बाट मानिसमा सर्‍यौ ? त्यो खोजको विषय हो । तिमीबाट मानिसले निजात पाउने कुरा पनि अनुसन्धानकै कुरा हो । तिमी त्यति धेरै घातक छैनौ र पनि विश्वमा यसपटक धेरै चर्चा र महत्त्व पायौ । तिम्रो देश, भेग र नागरिकता त हुँदैन । तर पनि तिमीले सुरुमा त्यस्ता देशहरुको सैयर गर्‍यौ, जुन देशहरु विश्व क्यानभासमा कुनै न कुनै हिसाबले चर्चामा रहेका मुलुक थिए । त्यसकारणले तिम्रो भाउ बढ्यो । अब मानवजातिलाई तिमीले धेरै सताउनु हुँदैन । मानवबस्तीबाट विदा हुनुपर्छ र आफ्नै प्राकृतिक होस्टमा रहनु राम्रो हुन्छ ।

तिम्रो विदाईमा आतुर,
एक मनुवा ।

(लेखक नपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता हुनुहुन्छ ।)