अध्यक्ष प्रचण्ड, Pushpa Kamal Dahal Prachanda
 

२००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना एउटा ऐतिहासिक परिघटना थियो । नेपाली समाजलाई यो बिन्दुमा ल्याइ पुर्‍याउन  मार्क्सवादी दर्शन र वर्ग संघर्षको मुख्य भूमिका रहेको छ ।

अहिले संघर्षका धेरै तीतामीठा, त्याग तपस्या र बलिदानका श्रृंखला पार गरेर देशको नेतृत्त्व गर्ने देशको सबैभन्दा ठूलो पार्टी लोकप्रिय मत सहित देशलाई समृद्धितिर नेपालीलाई सुखी र खुशी दिने अभियानको नेतृत्व गर्दैछौं । यो आफैमा एउटा परिघटना हो । एउटा परिघटनाहरु निश्चित परिस्थिति र शक्ति सन्तुलनको अवस्थामा देखा पर्ने गर्दछन् ।

नेपालका कम्युनिष्ट पार्टीको स्थापना हुँदा विश्वमा नै दर्शन र राजनीतिको क्षेत्रमा ठूला बहसका साथै वर्ग संघर्ष भएका थिए । त्यतिखेर सोभियत रुसमा समाजवादी अभ्यासको शुरुआत भएको थियो । त्यो पहिलो विश्वयुद्धको समय थियो । दोश्रो विश्वयुद्धसँगै फेरी नयाँ वर्ग संघर्षहरु चलेका थिए । यही बेला नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भयो । रुसमा समाजवादको पुनर्निमाणको महाअभियान चलिरहेको बेला चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर चीन समाजवादमा प्रवेश गरेको थियो । रुसमा समाजवादी क्रान्ति हुँदाको परिस्थिति र चीनमा नयाँ जनवादी क्रान्ति हुने परिस्थिति फरक थियो ।

नेपालमा पनि कम्युनिष्ट पार्टीको स्थापना हुँदा पुष्पलाल लगायतले चिनियाँ मोडेलमा जाने मान्यता विकास गरे । भारतमा पनि तेलांगाना लगायतका कतिपय क्षेत्रमा ठूला वर्ग संघर्ष चलेका थिए । क्रान्ति अगाडि बढेको बेला कहाँ त्रुटी भयो भन्ने कुराको ठूलो समीक्षा आवश्यक थियो ।

जस्तो भारतमा तेलंगानमा किसान आन्दोलन चलेको बेला विश्वमा समाजवादी आन्दोलन संगठित रुपमा अघि बढाउने प्रयास थियो । त्यतिबेला अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन केन्द्रमा र स्टालिनको नेतृत्व विश्वभरी नै मान्य भएको अवस्थामा थियो । तर दोश्रो विश्वयुद्द चलिरहेको बेला हिटलरमाथि विजय हासिल गरिसकेपछि अमेरिका, बेलायत र सोभियत संघको मोर्चा बनेको थियो ।

भारतमा लामो समयदेखि बेलायतको साम्राज्य थियो । भारतका कम्युनिष्टलाई स्टालिनले ब्रिटिशसँग सम्झौता गर्ने, द्वन्द्वमा नजाने सन्देश दिएपछि स्टालिनले तेलांगानामा आन्दोलनलाई सम्झौतामा टुंग्याउनु पर्छ र नेहरुसँग मिलेर जानुपर्छ भनेपछि त्यो विद्रोह रोकियो । यदि त्यो किसान विद्रोहलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले साथ दिएको भए विश्वको परिस्थिति फरक हुन्थ्यो । भारतको जनवादी क्रान्ति र अंग्रेजविरुद्धको क्रान्ति कम्युनिष्ट पार्टीको नेतृत्वमा अंग्रेजबिरुद्धको आन्दोलन सफल भएको भए विश्वमा नै समाजवादी क्रान्ति र कम्युनिष्ट आन्दोलन निकै फरकरुपमा देखा पर्थ्यो ।

यो प्रसंग किन जोडन खोजेको हो भने नेपालमा सामन्तवाद र राजतन्त्रका विरुद्ध पुँजीवादको विकासका लागि या समाजवादको आधार तयार पार्नका लागि जनताले हामीलाई किन भरोसा गरे ? जनताका किन लोकप्रियता बढ्यो भन्दा भारतले दोश्रो विश्वयुद्दका बेला गरेको गल्ती हामीले दोहारिन दिएनौं ।

यो निकै ठूलो प्रश्न छ । हामीले सामन्तवादको विरुद्धको लँडाईमा, राजतन्त्रविरुद्धको लँडाईमा स्वतन्त्रतापूर्वक पहलकदमी लियौं । त्यसमा हामीले यो बुर्जवाको क्रान्ति हो, बुर्जुवाको पछि हामी लाग्नुपर्छ भन्ने मान्यता राखेनौं । भारतमा जस्तो ब्रिटिश साम्राज्यवादसँग सम्झौता गर्दैनौं र स्वतन्त्रता आन्दोलनको नेतृत्व नेहरुहरुलाई सुम्पिने गल्ति गरेनौं । हामीले सक्रिय र त्याग, तपस्या र बलिदानका साथ सामन्तवादविरुद्धको सशस्त्र र शान्तिपूर्ण संघर्ष गर्यौं ।

यो आन्दोलनको नेताको रुपमा, सामन्तवादविरुद्ध कम्युनिष्ट पार्टी र नेताहरु स्थापित भए । यो हामीले गरेको एकदमै मौलिक र सिर्जनशील प्रयोग थियो । यसको अर्थ र महत्त्वलाई गहिरोसँग आत्मसात गर्न अनुरोध छ ।

यदि हामीले त्यसो नगरेको भए यहाँ पनि बुर्जुवा नै आन्दोलनके नेताको रुपमा देखिने हुन्थ्यो र हामी समाजवादतर्फ अघि बढ्ने कुरा कल्पना गर्न सक्दैनथ्यौं । हामीले जे जे कुरा आधारभूत अधिकारका रुपमा संविधानमा लिपिबद्ध गर्न सक्यौं, त्यो सम्भव थिएन । संविधानमा बुर्जवाहरुको मात्रै कुरा हुन्थ्यो ।

यसअर्थमा हामीले यसमा गर्व गर्न सकिन्छ । कम्युनिष्ट आन्दोलनमा जहिले पनि दुईवटा गलत विचार र प्रवृत्तिका कारणले ठूलो क्षति विश्वभरी आएको छ । एउटा प्रवृत्ति मार्क्सवाद, लेनिनवादलाई यान्त्रिक ढकोसलाका रुपमा बुझ्ने र त्यसमा जे छ, अक्षरस त्यसको पालना गर्ने । त्यो एउटा मार्गदर्शक हो र शक्ति सन्तुलनका आधारमा देशको परिस्थितिका आधारमा, प्रकृति र मानव समाजका घटनालाई नबुझने अनि माक्र्सवादलाई धर्मशास्त्रका रुपमा लिने प्रवृत्ति छ । रुस या चीनमा भएका क्रान्तिलाई महान काम भयो भन्ने तर आफ्नो देशमा कुनै प्रयोग नगर्ने संकीर्ण घेरामा विकास भएको जडसूत्रवादी धारा छ ।

अर्को अनुभववादी धारा छ । यसलाई संशोधनवादी अवसरवादी धारा पनि छ । यसको विशेषता भनेको वर्ग समन्वय गर्ने, आन्दोलन, संघर्षलाई गतिदिने भन्दा सुधारमा मात्रै ध्यान दिने । माक्र्सवादले मात्राबाट गुणमा परिवर्तनको सम्बन्ध, रुप र सारको सम्बन्धको बारेमा जे बताएको छ, यो धाराले यो गुणात्मक परिवर्तनलाई अस्वीकार गर्दछ । क्रान्तिलाई अस्वीकार गर्दछ । प्रकृतिमा पनि कहिलेकाहिं अचानक ठूला ठूला घटना हुन्छन, देख्दा एक्कासी लागेपनि त्यो निकै ठूलो आन्तरिक मात्रात्मक संघर्षको परिणाम हो भन्ने विज्ञानले समेत पुष्टि गरेको छ । मानव समाज पनि त्यही हो । यहाँ पनि विचार, राजनीति, दर्शन, संस्कृतिमा भित्रभित्रै बहस चलेको हुन्छ, मात्रात्मक परिवर्तन भइरहेको हुन्छ र समाज एउटा बिन्दूमा गुणात्मक रुपान्तरण हुन्छ । तर यो प्रवृत्तिले मात्राबाट मात्रा र मात्राबाट मात्रा मात्र सोच्छ । यसले पनि समाज र क्रान्तिलाई ठूलो क्षति पुर्याउने गर्दछ ।

अहिले हामी नेपाल कम्युनिष्ट पार्टीले आत्मविश्वासका साथ जडसूत्रवादका विरुद्ध पनि संघर्ष गर्यौं र संशोधनवादका विरुद्द पनि संघर्ष गर्यौं । हामीले मार्क्सवादको मूल तत्वलाई बुझ्ने कोशिस गर्यौं । अन्तर्राष्टिय, क्षेत्रीय र देशको अवस्था र नयाँ शक्ति सन्तुलनलाई जस्तो छ, त्यस्तै बुझ्ने कोशिस गर्यौं । जसको कारणले हामी आजका मितिसम्म आन्दोलनको नेता र नेतृत्वको रुपमा कम्युनिष्ट पार्टीलाई स्थापित गर्न सफल भयौं ।

हामी कम्युनिष्टहरुको विशेषता के छ भने सत्तामा नपुग्दा सम्म समाजको निम्ति, वर्गको निम्ति, जनताको निम्ति मार्क्सवादका निम्ति धेरै दुख, त्याग तपस्या गर्ने । यहाँसम्म कम्युनिष्ट एकदम ठीक छ । तर सत्तामा पुगिसकेपछि त्यो सबैकुरा बिस्तारै बिर्सिंदै जाने । जनताको चाहना के हो, राष्ट्रको चाहना के हो, त्यसका लागि हामीले गर्नुपर्ने मेहनत के हो ? हामीले लिनुपर्ने कार्यशैली के हो भन्ने कुरामा बिस्तारै बिस्तारै बुर्जवा वर्ग हुँदै जाने । अनि आफैले गरेको त्याग, तपस्या र बलिदानको महत्वलाई अबमूल्यन गर्दै जाने ।

यो कुरामा बुर्जुवाहरु एकदमै सिपालु छन, कम्युनिष्टहरुलाई लडाईंमा त जित्न सकिंदैन, यो कुरा संसारभरीका समाजवादी क्रान्तिमा देखियो । तर उनीहरु सत्तामा गइसकेपछि कम्ष्टिनलाई विकृत पार्ने, बुर्जुवा बनाईदिने र एउटा गोली पनि नचलाईकन ढलाइदिने । एउटा गोली खर्च नगरीकन आफ्नै पुँजिवादी कित्तामा लगिदिने कुरामा बुर्जुवाहरु एकदमै सिपालु रहेछन् । पूर्वी यूरोपमा कुनै विदेशी हस्तक्षेप भएर या कम्युनिष्टहरुविरुद्द सशस्त्र संघर्ष भएर समाजवाद ढलेको होइन । कम्युनिष्ट नेताहरु नै राजा महाराजाहरु जस्तो हुँदै गएपछि राजा महाराजविरुद्द लडेका जनताहरु कम्युनिष्ट नै राजा महाराजा जस्तो बन्न थालेपछि वितृष्णा हुने अवस्था रहेको छ ।

यो अवस्था हामीकहाँ पनि देखियो । अहिले लक्षण चाहिँ त्यही देखिएको छ । अहिले पार्टीमा चलेको बहस पनि यही हो । यो कम्युनिष्ट पार्टी एकतापछि ठूलो भएको छ, जनताले म्याण्डेट पनि दिएका छन् । जनताले आशा अपेक्षा गरेका छन् , हामी यस्तो परिस्थितिलाई नेपालमा दोहारिन नदिने बरु त्यसबाट पाठ सिकेर कम्युनिष्ट आन्दोलनमा जनताको पक्षमा निरन्तर वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक बहस पार्टीमा छ ।

हिजो हामी निकै अनुशासित थियौं, त्यही भएर यहाँ आइपुगेका हौं । तर अहिले हेर्नुस त, जसलाई जे मन लाग्यो बोल्ने, संगठन र पार्टीलाई वेवास्ता गर्ने ? हामीले हिजो आएको सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी भन्ने हुन्थ्यो, अहिले त्यो उल्टिएको छ । व्यक्तिगत निर्णय जिम्मेवारी समूहको भन्ने भएको छ । यसलाई सुधार गर्ने जिम्मेवारी तपाई हाम्रो काँधमा छ । अहिले यो प्रवृत्तिलाई परास्त गरेर मनोगतवादका विरुद्ध बस्तुगत पक्ष हावी गर्नु जरुरी छ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विकास कसरी भयो र यो विज्ञानलाई स्थापित गर्न प्रगतिशील इन्जिनियरहरुको ठूलो भूमिका छ । यसो गर्न सकिएन भने प्रतिगमनलाई परास्त गर्न सकिन्न ।

एकता प्रक्रिया टुंग्याएका छौं । आउने दिनमा हाम्रो समाजलाई समाजवादतिर उन्मुख गराउने र पार्टीलाई लोकप्रिय बनाउन सबैको योगदान जरुरी छ ।

(प्रोग्रेसिभ इन्जिनियर्स एसोसियसनको कार्यक्रममा व्यक्त मन्तव्यको सम्पादित अ‌ंश)