ओली, केपी ओली, KP sharma Oli, Chairman of Nepal Communist Party (NCP), केपी शर्मा ओली, खड्ग प्रसाद शर्मा ओली
 

देश अहिले विकराल अवस्थामा गुज्रिरहेको छ । यसको एक मात्र कारण कोरोना भनिन्छ । वास्तविकता भने त्यो होइन । यो देशको दुर्दशा हुनुमा प्रधानमन्त्री ओली एक प्रमुख कारण बनिरहेका छन् । किनभने देशमा शासन गर्ने नेतृत्व सक्षम र इमान्दार हुने बित्तिकै त्यसले सबै किसिमका समस्याको समाधान गर्न सक्छ । जनता त्यस्तो नेतृत्वप्रति आश्वस्त हुन्छन्‌ । स्वयं काम गर्न आतुरतासहित समर्पित हुन्छन्‌ । उनीहरुको जागरुक उत्साह नै सबै आक्रामक शक्ति निस्तेज गर्ने हतियार बन्छ ।

जब देशको शासन व्यवस्था सञ्चालक सक्षम र इमान्दार हुन्छ, त्यहाँ कुनै पनि महामारी, प्राकृतिक विपत्ति जस्ता समस्याको समाधान गर्न केहीबेर लाग्दैन भन्ने कुरा चीनको उदाहरणले पुष्टि गरिसकेको छ । संसारकै प्रतिकृयावादी-साम्राज्यवादी शक्तिलाई चुनौती दिँदै चीनले गरेको प्रगतिबाट हामी केही नसिक्ने ?

प्रधानमन्त्री ओली अहिले चटकी जस्तो बनेर देशलाई केही सीमित मानिसहरूले चुसिरहेको टुलुटुलु हेरेर बस्ने अवस्थामा उभिएका छन् । त्यसलाई रोक्नुको सट्टा बरू सघाएको भन्ने कतिपयको आरोप छ । प्रम ओलीको यो चरित्रगत अवस्था महाकाली सन्धिलाई नेपाली जनताका लागि बरदान भनेकोबेला नै चित्रित थियो । त्यो मात्र नभएर माओवादी जनयुद्धमा जोखिम मोलेर होमिएको लाखौँ जनताको बलिदानी संंघर्षलाई निस्तेज गर्न अरु षड्यन्त्र त उनीबाट कति भयो होला भन्ने कुरा छाडौँ, उनले गणतन्त्रको माग त ‘गाडा चढेर अमेरिका जानु जत्तिकै असम्भव छ” भनेको कुरा सबैले सुनेकै हुन्‌ । यिनै एमालेको महाधिवेशनबाट चिर्वाचित अध्यक्ष ओली हुन् । यिनैले एमालेमा आबद्ध लाखौँ कार्यकर्ताको क्रान्तिकारी हिम्मतलाई मदारीले चटक देखाए जस्तै छलछाम गरेर यो हैसियत बनाएका रहेछन्‌ भन्ने कुरा यतिबेला पुष्टि भइरहेको छ ।

शिव अधिकारी, Shiva Adhikari Shiba Adhikari Darhi shiba
लेखक

यो एक्काइसौँ शताब्दी हो । जनता आज जति चेपुवामा पर्नु परेपनि आफैमा सबल र सोच्ने शक्तिले माहिर बनिसकेका छन्‌ । के सही हो र के गलत हो भन्ने कुरा तिनलाई थाहा छ । त्यसो नभएको भए महाकाली सन्धिको विरोधमा नेपाली जनता किन उत्रन्थे? महाकाली सन्धि राष्ट्रघाती हो भन्दै वामदेव गौतम एमालेबाट अलग भएकै हुन् । साँच्चै त्यो सन्धि गलत थियो । अन्यथा ओलीजीले भनेको महाकाली सन्धिपछि देशले एक खरब बिसअरब पाउँछ, जनता करमुक्त हुन्छन् भनेको हेक्का छ कि छैन । खै त कहाँ पुग्यो त्यो रकम?

प्रधानमन्त्री हुने बित्तिकै घर-घरमा ग्याँसको पाइप पुर्‍याउने, पानीजहाज चलाउने, हावाबाट बिजुली निकाल्ने, देशलाई सम्पन्न बनाउने, जेष्ठ नागरिकलाई मासिक पाँचहजार घर-घरमा पुर्‍याएर सलाम ठोकेर फर्किने जस्ता चटकी कुरा गरेको प्रधानमन्त्री ओलीले सम्झेको भए आफैलाई लाज लाग्छ होला । लाग्दैन र?

जनता सामु देशलाई नै स्वर्गमा बदल्छु भनेर प्रधानमन्त्री हुने, कुर्सीमा पुगिसकेपछि आफूले कबुल गरेको पाँचहजार बृद्धलाई दिन नसक्ने एउटै उदाहरण के काफी छैन र उनको मदारी चरित्र चिन्नलाई? प्रधानमन्त्री हुने बित्तिकै सबै सभासद्‌ले नेपाली झण्डासहितको पानी जहाज चढ्न टिकट बुक गरिहाल्नुस् भनेको होइन ? त्यो कुरा अहिले उनले बिर्सिएजस्तो छ । त्यसैगरी पाँच वर्षभित्र पूर्वपश्चिम विद्युतीय रेल चलाउँछु भनेको हो कि होइन? काठमाडौँ-केरुङ हुँदै पोखरा-लुम्बिनीसम्मको उत्तर-दक्षिण रेलको कुरा कहाँ पुगेर अड्किएको छ ? तेल उत्खनन्‌ गर्ने कुरा, फलामखानीको कुरा के भयो? यो सोध्न मिल्छ कि मिल्दैन प्रधानमन्त्रीज्यू? सबै यी मदारीले खेल देखाउँदाका चमत्कार जस्ता भएनन्‌ र?

प्रम ओलीले सिर्जना गरेको यो अत्यासलाग्दो अवस्था एउटै पार्टीमा बसेर पनि समाल्न गाह्रो हुँदै गएको र जनता यो कोभिड महामारीमा पनि सिटामोल पाउन नसक्ने र गरिब मजदुर वर्गको त बिहान बेलुका चुलोसम्म बल्न छोडेको अवस्था सह्य नभएर प्रचण्डले यसो नगर्न सचेत गराउँदै लिखित सुझाव दिएका हुन्‌ । त्यसलाई सुझावको रुपमा लिन ओलीले आँट गर्न सकेनन्‌ । प्रचण्डले भनेझैँ एमसीसी संसदको अनुमोदनविना कार्यालय खोलेर बजेटमा प्रवेश गराएर, पञ्चवर्षीय योजनामा समावेश गरेर प्रवेश गराउनु देशका लागि कहाँसम्मको गद्दारी हो? जनता कोभिड आतङ्कले ग्रसित भएको बेला ओम्नी समूहलाई उपचार सामग्री झिकाउने नाउँमा करोडौँको घोटाला गरेको त सबैले थाहा पाएकै छन्‌ । प्रचण्डले यो गर्नु राम्रो भएन सुधार्नुस् भन्नु के गल्ति थियो त? यति होल्डिङलाई राष्ट्रिय सम्पदा सुम्पिएर आफ्नै साझेदारी कम्पनी जस्तो व्यवहार देखाउनुबाट राष्ट्रका लागि कति ठूलो योगदान गरेको जस्तो लाग्छ ओलीज्यू? आफू राष्ट्रको ढुकुटी २७ करोडसम्म खर्च गरेर उपचार गराउने तर जनताले यो कोभिडमा मास्कसमेत नपाउने अवस्था कसले निम्त्याएको हो? के आफू दरबारमा बसेर दुधभात खाए गरिब जनताले पनि दुधभात खान पाउँछन्‌ ? यस्तो प्रश्न त पहिले राजा महाराजाले जनतालई सोध्ने गर्थे भन्ने सुनेको कुरा हो । के प्रम ओलीले आफूलाई महाराजा नै ठान्या हो त?

गल्ति कोट्याउँदै जाँदा आफ्नै पार्टीको अध्यक्षलाई समेत जानकारी नदिएर भारतीय गुप्तचर प्रमुखलाई रातारात भेट गर्नु, कालापानीको जमिन फिर्ता गर्न कुटनीतिक पहल गर्नुको सट्टा ठोरी अयोध्या हो भनेर अनावश्यक विवाद गर्नु र कालापानीको समस्या ओझेलमा पार्नु जस्ता षडयन्त्र गर्न ओलीबाहेक कुनै अर्को प्रधानमन्त्रीले सोच्नसक्ने कुरा थियो र? नेपालको भूमि मिचेर बाटो बनाउने भारतको दुष्कर्मलाई चुनौती दिन कब्जामा परेको भूमि नेपालको नक्सामा समावेश गर्न पार्टीले र जनताले दबाब दिँदा “जग्गै फिर्ता लिन्छु नि, नक्साले जग्गा फिर्ता आउने हो र” भनेको पनि यिनलाई सम्झना होला? आखिर पार्टीको दबाब र सडक आन्दोलनपछि नक्सा निकालियो र नक्सा अनुमोदन गर्न संसदमा सबै दलको अभूतपूर्व एकता देखियो । यो गरिमामय ताकतलाई कुटनीतिक माध्यम बनाएर त्यो जमिन फिर्ता लिन पहल समेत नगर्नु कहाँसम्मको गद्दारी हो ? जमिन फिर्ता लिनु त कता हो, नक्सा समेत चीनले बनाइदियो भन्ने भारतीय सेना प्रमुखलाई बोलाएर नेपालको मानार्थ महारथी दर्जा दिनुले नेपाली जनताको मुटुमा काँडा बिझे सरह पीडाबोध भएको छ ।

सरकार भ्रष्टाचारको चरम दलदलमा छ । जनताले सार्वजनिक सेवा पाएका छैनन्‌ । जथाभावी आफ्ना मान्छेको नियुक्ति र रकम-कलमको हिसाब किताबले जनता चुसिएका छन्‌ । अन्यथा त्यति राम्रो काम गर्ने उदाहरण बनेका कुलमान घिसिङलाई प्राधिकरणको जिम्मा नदिएर आफ्नो सालो हितेश शाक्यलाई दिने तयारी किन? आफ्नै साली राजदूत, सालो काठमाडौँ नगर प्रमुख भएको बिर्सेर प्रचण्डलाई चाहिँ आफ्ना नातागोतालाई संरक्षण गरेको दोष लगाउने? जनयुद्धमा बन्दुक बोकेका छोरा, बुहारी र छोरीले योग्यताअनुसारको काम पाउँदा के टाउको दुःखेको हो?

अहिले १७ देशको भ्रष्टाचार गतिविधि छानबिन गर्दा नेपाल पहिलो भ्रष्टाचारी देश भयो, राजनीतिक मनोमानी नै भ्रष्टाचारको कारण बन्यो, प्रधानमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको कुरा मंसिर १० गते ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रकाशित गरेको थियो तर यते प्रतिवेदनलाई मंसिर १४ गते सरकारले खारेज गर्‍यो भनेर उम्किन सकिन्छ र? ओलीजी यो गर्न सुहाउँछ ? के भ्रष्टाचार गरेको कुरा अख्तियारमा उजुरी दिँदा ‘त्यो पत्रु उजुरी हो’ भनेर अख्तियारलाई नै प्रभावित गरिरहेको कुरा जनताले थाहा पाएका छैनन् भन्ने लागेको छ कि कसो? यो पनि मदारी प्रवृत्तिकै चटक भएन र?

प्रचण्डले जनयुद्धको नेतृत्व गरेबापत आफ्नो ‘टाउकाको मोल’ तोकिँदा पनि त्यतिकै शक्तिशाली बनेर दरबारियालाई निस्तेज पारेर ल्याएको यो संघीय गणतन्त्रलाई धरासायी बनाउने दुष्प्रयास नगर्नुस्‌ । राजावादीलाई जति उचाले पनि त्यो कपासको भारी हो, त्यहाँ पुग्दैन भन्ने कुरा ओलीजी समयमै बुझ्ने कोशिस गर्नुहोस्‌ । सबै समस्या छलफलबाट समाधान गरौँ । भागेर, लुकेर बद्‌मासी त चोरले मात्र गर्छ । त्यस्तो चोरी राजनीतिमा काम लाग्दैन ।

यदि आफूले गरेका काम सही भएको भए पार्टी बैठकमा छलफल गर्ने आँट आउनु पर्ने थियो त ? खै, त्यो हुन सकेन । पार्टी बैठकबाट आफू भाग्ने, अनि पार्टी फुटायो प्रचण्डले भनेर लामो बखेडा निकाल्ने मदारी चाल कसले बुझेको छैन र?

प्रधानमन्त्री ओलीज्यू, अब तपाईंको शारीरिक अवस्थाले पनि साथ दिएन, पार्टीले साथ दिने गरी काम गर्न पनि सक्नु भएन । तसर्थ आफ्ना निकटस्थहरूलाई पोस्नकै लागि देशलाई बर्बादीको खाडलमा नहाल्नोस्‌ । राजनीतिबाटै सन्यास लिएर आराम गर्दा देश र जनताका लागि सरकारको नेतृत्वकर्ताको रूपमा आफूले प्रत्यक्ष-अप्रत्यक्ष गरेका गम्भीर जनअपराधको प्रायश्चित गर्ने मौका मिल्छ । तपाईँले आफ्नो अपराधबाट मुक्ति पाउनसक्ने एउटै बाटो यही हो ।

राष्ट्रिय एकता र पार्टी एकतामा भाँजो हाल्ने काम नगर्दा राम्रो हुन्छ । सबै एकजुट भएर देश बनाउनपट्टि लाग्ने वातावरणका लागि प्रधानमन्त्री ओलीले अब राजीनामा दिएर राजनीतिबाट अलग हुनुपर्छ । अन्यथा जनताले यो गम्भीर अपराधको छिनोफानो गर्न कठघारामा उभ्याउने दिन टाढा छैन ।

(लेखक कृषि विकास बैंकका पूर्वउपमहानिर्देशक तथा  विकास अर्थशास्त्री हुनुहुन्छ ।)