वर्ष २०२४ विश्व चुनाव-वर्ष भन्दा अतिशयोक्ति नहोला । यो वर्ष विश्वका ७६ देशहरूमा संसद, सिनेट, हाउस अफ रिप्रजेनटेटिभ, नेसनल एसेम्ब्ली, हाउस अफ कमन्स, नेसनल काउन्सिल अफ प्रोभिन्सेस, लोकसभा, राज्यसभा, च्याम्बर अफ डेपुटिज, राष्ट्रपति र जनमत संग्रहका चुनावहरू हुँदैछन् ।
विश्वका ४९ प्रतिशत मतदाताहरूले यो वर्षको चुनावमा मतदान गर्न सक्नेछन् । विश्वका सबैभन्दा बढी जनसंख्या भएका १० देशहरूमध्ये ७ देशहरूमा यो वर्ष चुनाव हुँदैछ । १ अर्ब ४० करोड जनसंख्या भएको भारत, ३४ करोड २० लाख जनसंख्या भएको अमेरिका, २८ करोड जनसंख्या भएको इन्डोनेसिया, २४ करोड ५० लाख जनसंख्या भएको पाकिस्तान, २१ करोड ८० लाख जनसंख्या भएको ब्राजिल, १७ करोड ५० लाख जनसंख्या भएको बंगलादेश, १४ करोड ४० लाख जनसंख्या भएको रुसमा यो वर्ष चुनाव हुँदैछ ।
यो वर्ष चुनाव हुने धेरै देशहरूले चुनावको मिति तोकिसकेका छन् भने केही देशहरूले चुनावको मिति तोक्न बाँकी पनि छ । युक्रेनमा मार्च ३१ मा चुनाव तोकिएको छ तर रुससँगको युद्धका कारण त्यहाँ चुनाव नहुने जस्तो छ । वर्ष २०२४ को चुनावको सुरुवात चाहिँ बंगलादेशमा आज ७ जनवरीबाट आरम्भ भएको छ । यो वर्ष चुनाव हुने केही रणनीतिक महत्त्वका देशहरू पनि रहेका छन् । मेक्सिको, टर्की, संयुक्त अधिराज्य, फिनल्यान्ड, इरान, पोर्चुगल, दक्षिण कोरिया, पानामा, रवान्डा, अल्जेरिया, बेल्जियम, मोजाम्बिक, क्रोएसिया, घाना, रोमानिया, दक्षिण अफ्रिका, श्रीलंका, भेनेजुएला, ताइवान आदि ।
विश्वमा चुनावका दर्जनभन्दा बढी प्रक्रिया छन् । विश्वका विभिन्न देशहरूले चुनावका विविध मोडेल अपनाएका छन् । चुनावमा मनी, मसल, गनको दुरुपयोग त सुनेकै हो, अब यसमा प्रविधि पनि जोडिएको छ । अमेरिकी २०१६ को चुनावमा रुसी प्रविधिको चर्चा अहिले पनि चल्दैछ, भारतमा इभिएम मेसिनको दुरुपयोगको मुद्दा जहिले उठ्ने गरेको छ । अब विश्वमा चुनाव चाहिने नचाहिने बारे पनि बहस चल्न थालेका छन् । सन् २०१६ मा अमेरिकी चुनावमा हिलारी क्लिनटनले डोनाल्ड ट्रम्पभन्दा २८ लाख मत बढी ल्याएकी थिइन तर उनको पराजय भयो, कारण थियो अमेरिकी चुनाव प्रणाली एलेक्ट्रोल कलेज ।
धेरै देशहरूमा एउटा चुनावले परिणाम आउँदैन । अनि पटकपटक चुनावले पैसा र समयको बर्बादी बढेको छ । कुल मतको २०-३० प्रतिशत मत ल्याउने पार्टीहरू निरङ्कुश बनेका छन् । रुसमा पुटिन सन् २००० देखि राष्ट्रपति-प्रधानमन्त्री-राष्ट्रपति बनेका छन् तर देश उँधो गतिमा छ । टर्कीका रिसेप एर्दोगान २००३ देखि २०१४ सम्म प्रधानमन्त्री र २०१४ देखि हालसम्म राष्ट्रपति रहँदा टर्कीमा निरङ्कुशता बढेको छ । बंगलादेशमा अवामी लिगकी शेख हसिना २००९ देखि प्रधानमन्त्री छिन, परिणाम यस्तो प्रतिकुल छ कि खालिदा जियाको मुख्य प्रतिपक्ष बंगलादेश नेस्नलिस्ट पार्टीले आजको चुनाव नै बहिष्कार गरेको छ । भारतमा नरेन्द्र मोदी २०१४ देखि प्रधानमन्त्री छन् र उनको अनुदार छवि उजागर हुन थालेको छ । हाम्रै देश नेपालमा संसदमा सबैभन्दा बढी सिट ल्याउने पार्टी तेस्रो सिट ल्याउने बत्तीसेको सत्ताको टेको भएको छ । दोस्रो सिट ल्याउने पार्टी सत्ताको औडाहामा देश दौडाहा गरिरहेको छ । चुनावले कतै चैन आएन । एलेक्सन इज डेड, लङ लिभ दि एलेक्सन । भविष्यमा एकदिन यही नारा त रहने होला !