केपी बा, Prime Minister KP Sharma Oli Left Review Online
 

महेन्द्र मोरङ आदर्श क्याम्पस विराटनगरमा २०३६ सालतिर हाम्रा एकजना दाहाल थरका सहपाठीले एउटा स्थानीय निकायमा अस्थायी खरिदार पदको जागिरका लागि फारम भरेका थिए । फारममा चिनेको सुपरिचित व्यक्तिको नाममा सूर्यबहादुर थापा र नातामा सो व्यक्ति बा लेखेका थिए । सूर्यबहादुर थापा त्यस बखत नेपालका प्रधानमन्त्री थिए । अन्तर्वार्तामा जागिरका निवेदकलाई सोधियो तपाईँ दाहाल सूर्यबहादुर थापासँगको नातामा बा लेख्नुभएको छ, कस्तो बा ? उनको जबाफ थियो – मित बा ।

bharat pokharel, economist, tu, professor, भरत पोखरेल
लेखक

केपी शर्मा ओली अहिले नेपालका प्रधानमन्त्री छन् । उनलाई मधुशालादेखि रंगशालासम्म केपी बा भन्ने छोराछोरीहरूको बगाल नै छ । यो सत्ता दुरुपयोगको पुरानै परिपाटी हो । केपीका संसदीय विरोधीहरू संसद पुनःस्थापनापछि पनि सत्ताको गल्लीमा धतुराउँदै डुमेरो लाइरहेका छन् । केपीको सत्ता विवर्जन गर्ने छाँट देखिँदैन । असफल पार्टी अध्यक्ष र प्रधानमन्त्री सफल केपी बा बन्लान् ? मूल्याङ्कन आउने समयले गर्ने नै छ ।

बेलायतकी महारानी अलेक्जेन्ड्रिना भिक्टोरियाले लामो समय सन्‌ १८३७ देखि १९०१ सम्म ६४ वर्ष शासन गरिन् । उनका पाँच छोरी र चार छोरा गरी नौ सन्तान थिए । उनीहरूको बिहाबारी युरोपका धेरै देशका राजघरानाहरूसँग भएको थियो । सन्‌ १८४० मा उनी पहिलोपल्ट आमा, १८५९ मा हजुरआमा र १८७९ मा जिज्यूआमा बनिन् । सन्‌ १८१९ मा जन्मिएकी भिक्टोरियाको ८२ वर्षको उमेरमा १९०१ मा मृत्यु हुँदा युरोपभरि उनका छोराछोरी, नातिनातिना र पनातिपनातिना गरी ३७ जना जीवितै थिए । त्यसैले उनलाई युरोपकी हजुरआमा भनियो । इतिहास खोतल्ने हो भने आम मानिसका असंख्य यस्ता उदाहरण पाइन्छन् तर चाटुकारहरूले सत्ताकै स्वार्थ सिद्ध गर्ने हो – ती भिक्टोरिया हुन् अथवा केपी ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)