असफल प्रधानमन्त्री, प्रधानमन्त्री केपी शर्मा ओली, kp sharma oli
 

प्रधानमन्त्री ओलीका हिजोका  हुङ्कारका सन्देशहरु यी हुन्‌:

१. सभामुखलाई एमसीसी अघि नबढाएको भन्ने आरोप लगाएर उहाँलाई महाभियोगको तरबार देखाउएर धम्काएर, झुकाएर र चुकाएर एमसीसी पास गराउने ।

२. एमसीसी पास गर्ने-गराउने क्रममा संशोधनबिना पास गर्न हुन्न भनेर अडान लिएका एमाले सांसदहरुलाई सकेसम्म त झुकाएर पारित गर्न लगाउने । नझुकेर तठस्थ बसे वा फ्लोर क्रस गरे ह्विप उल्लङ्घन गरेको अभियोगमा सांसदबाटै हटाउने कारबाही गर्ने । फलस्वरुप पार्टीभित्र बसेर हैरान-परेसान पारिरहेका सांसद नभएका नेताहरुलाई कि त झुकेर चुप लागेर बस्न बाध्य पार्ने कि भने फुटेर जान बाध्य पार्ने ।

३. झुक्न, बिक्न र चुक्न नजानेका सच्चा, स्वाभिमानी माओवादी क्रान्तिकारी देसभक्त छवि भएका सभामुख हुनाले उहाँ कसै गरे पनि नझुकेमा विधेयक पनि अघि नबढाउने र ‘यस्ता सभामुखको औचित्य समाप्त भएको’ भनी उहाँविरुद्ध महाभियोग दर्ता गराएर तत्काल निलम्बनमा पार्ने ।

Narayan Sharma, Kamal Prasad
लेखक

४. यसै क्रममा एमसीसीबारे अपेक्षाकृत तठस्थ र मौन देखिएका र संशोधन नगरी पास गर्न हुन्न भन्ने माओवादी केन्द्रका राष्ट्रवादी-देशभक्त देखिएका नेता-सांसदहरुलाई कित्ता स्पष्ट गर्न बाध्य पार्ने । यसरी माओवादी केन्द्रका पास गर्ने र नगर्ने भन्ने सांसदहरू बिच झगडा पारिदिने, कारबाही गर्ने अवस्था सिर्जना गरिदिने र फुटाएर केहीलाई आफूतिर ल्याउने, केहीलाई पलायन गराउने र प्रचण्डलाई थप निरीह र कमजोर पार्ने ।

५. सभामुख नै नडराएमा र नझुकेमा उहाँलाई महाभियोगको प्रस्तावबाटै निलम्बनमा पारेर संसदलाई सभामुखविहीन पार्ने ।

६. उपसभामुख पनि रिक्त रहेकोले संसद बोलाउने र सञ्चालन गर्ने कोही नहुने स्थिति बनाउने ।

७. यो स्थितिमा सभामुख र उपसभामुख दुवै नभएको यो संसदले विधेयक पनि पास पनि गर्दैन भने नगर्ने संसदले बजेट पनि पास गर्दैन भन्ने पार्ने र यस्तो संसद जसले सरकारको समर्थन पनि गर्न सक्तैन, विरोध गरेर विश्वासको मत फिर्ता लिएर ढाल्न पनि सक्तैन भने यस्तो निकम्मा संसदको पूर्णत: औचित्य समाप्त भएको साबित गरी संसद विघटन गर्नुको विकल्प नभएको पुष्टि गर्ने, अनि संसद पुन:विघटन गर्ने र एकलौटी सरकार चलाएर राज्यसत्तामा हालीमुहाली गरी चुनाव जित्ने र फेरि अर्को पाँच वर्ष मनपरी गर्ने  ।

के हामी यस्तो अहङ्कारयुक्त हुङ्कार सुनेर थरथरी काम्दै चुपचाप बस्ने हो सार्वभौमसत्ता सम्म्पन्न भनिएका संसद, सम्मानित सभामुख, माननीय सांसद, संसदीय व्यवस्थाका खम्बा पार्टी र जण्ड नेता प्रचण्डसहित सर्वशक्तिमान जनता पनि ? हैन भने त उठौँ, जुटौँ र लडौँ, बढौँ । कम्तीमा एमसीसी खारेज गराऔँ  ।यस्तो त अति भो !

(लेखक नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य हुनुहुन्छ ।)