नेकपा, केन्द्रीय समिति, बैठक, Nepal Communist Party, NCP, Central Committee Meeting
 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माघ १५ देखि सुरु भएको केन्द्रीय कमिटीको बैठक विभिन्न निर्णयहरु गर्दै २१ गते सम्पन्न भएको छ । उक्त बैठकले आफ्ना नेता कार्यकर्ता हरुलाई विभिन्न दिशानिर्देश गर्दै नेपाली जनताहरुको चाहना अनुरुप नेकपा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेको छ ।

देशका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा ( माओवादी केन्द्र) र नेकपा (एमाले) को एकता पश्चात बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को यो केन्द्रीय कमिटीको दोस्रो बैठक हो । तसर्थ पनि नेकपाका नेता, कार्यकर्ता लगायत सम्पूर्ण जनमानसले यस बैठकलाई नजिकबाट नियालिरहेका थिए । जनताको आशा बमोजिम नेकपा केन्द्रीय कमिटीको बैठक फलदायी भएको सर्वत्र महशुस गरिएको छ ।

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटिको बैठक अत्यन्त हार्दिक, व्यवस्थित र जनवादी बातावरणमा सञ्चालन भएको थियो । उक्त बैठकमा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथि व्यापक छलफल भएको थियो । उपस्थित केन्द्रीय सदस्यहरुलाई १५ समूहमा विभाजित गरेर छलफल भई उक्त प्रतिवेदनहरु पारित गरिएको हुँदा प्रतिवेदनमा सम्पूर्ण विषयहरुले स्थान पाएको आभाष गरिएको छ । तसर्थ पनि बेैठक अत्यन्त महत्वपूर्ण भएको निष्कर्ष निकाल्न सकिन्छ ।

milan afanta, shishir shrestha
लेखक

साँचो अर्थमा भन्ने हो भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपालको सबैभन्दा ठुलो, जनताले आशा र भरोसा गरेको अनि लाखौँ नेता र कार्यकर्ताले सुसज्जित एकमात्र पार्टी हो । हामी कम्युनिस्टहरु जडसुत्रवादी धारलाई अन्त गर्दै एक्काइसौँ शताब्दीको विश्व अनुकूल अधि बढनु पर्दछ । यो नै हाम्रो दूरदर्शिता हो । त्यसलाई पार्टीले अवलम्बन गरेको पनि छ । यस सम्बन्धमा हामी कार्यकर्ताहरु सचेत छौँ र समग्र केन्द्रीय समिति पनि नेपाललाई समृद्ध बनाउने विषयमा एकमत छ र अध्यक्षद्वयले पनि मनन गर्नु भएको छ । आज हाम्रो पार्टीलाई नेपाली जनताले दुई तिहाई बहुमतका साथ सत्तामा पुर्‍याई दिएको छ । तसर्थ हामीले अत्यन्तै बुद्धिमत्तापूर्वक काम गर्नुपर्दछ । नेतृत्वमा आउने अलिकति विचलनले पनि देश समस्याको खाडलमा फस्ने हुँदा पनि हामी कार्यकर्ता मात्र होइन नेतृत्व पनि अत्यन्तै सजकता साथ अघि बढ्नु पर्ने देखिन्छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठकमा विभिन्न विषयमा व्यापक छलफल भएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय राजनीतिक विषयलाई गहन रुपमा गाँसिएको सीमा सुरक्षा, नागरिकता र एमसीसीको विषयमा पार्टीले ठोस निर्णय लिएको छ । नेपाली समाजमा नेपाली मोडलको समाजवाद निर्माण गर्ने विषयमा केन्द्रीय समितिमा व्यापक प्रश्नहरू उठेका छन् । त्यसको साथै पार्टीलाई विधि र विधानमा सञ्चालन गर्ने, राष्ट्रव्यापी रुपमा पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने विषयमा केन्द्रीय कमिटी एकमत देखिन्छ । जुन अनुरुप अहिले पार्टीले कार्यकर्ता प्रशिक्षण कार्यक्रम अघि सारेको छ । जसबाट लाखौँ कार्यकर्ताहरुले लाभ लिनुपर्ने देखिन्छ ।

नेपाली समाजमा भ्रष्ट्राचारले जरो गाडेको विषयमा नेकपा केन्द्रीय कमिटीमा चिन्ता जाहेर गरियो र यसको नियन्त्रणमा अविलम्ब सरकार र पार्टी अघि बढ्ने निर्णय उक्त बैठकले गरेको छ । हामी आशा गरौँ नेकपा केन्द्रीय कमिटीको बैठक पश्चात पार्टी अन्त्यन्तै गतिशीलताका साथ नेपाली जनता सामु अझ लोकप्रिय हुनेछ । जनताको प्यारो पार्टी बन्ने छ ।

नेकपाको केन्द्रीय कमिटी बैठकले गतः आम निर्वाचनमा नेपाली जनताबाट प्राप्त अभूतपूर्व समर्थन र विश्वासलाई ऐतिहासिक अवसर र अग्नि परीक्षाका रुपमा लिएर जनभावना अनुरुप विकास निर्माण, सुशासन, जनसेवा र समृद्धिका दिशामा अझ दृढ, गतिशील, स्वच्छ र निष्ठापूर्ण ढंगले समर्पित हुन नेपाल सरकार, प्रदेश सरकारहरु, सबै स्थानीय तह र जन प्रतिनिधिहरुलाई आह्वान गरेको छ ।

नेपालको केन्द्रीय कमिटीको बैठकले विश्व परिस्थितिको मूल्याङ्कन गर्दै पूर्व सोभियत संघको विघटन पश्चात अमेरिकाको एकलौटी वर्चश्व चीन महाशक्तिको रुपमा उदय हुँदै गएपछि कम हुँदै गएका कारण अमेरिकी वर्तमान ट्रम्प शासकले विश्वमा कमजोर मानसिकता प्रदर्शन गर्ने गरेको छ र चीनको सी चिनफिङ सरकार पनि अझ परिमार्जित ढङ्गले अघि बढ्नुपर्ने देखिन्छ ।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाको विश्वमा घट्दो लोकप्रियता र चीनमा राष्ट्रपतिको रुपमा सी चिनफिङको उदयपछि विश्वमा चीनको बढ्दो प्रभावको पार्टी बैठकले अत्यन्तै सान्दर्भिक निर्णय लिएको छ । त्यसो त चीनको कम्युनिस्ट सरकारबाट नेपालको कम्युनिस्ट सरकारले यथेष्ट लाभ लिनुपर्ने देखिन्छ ।

अन्तमा, नेकपाको केन्द्रीय कमिटी बैठकले गरेको दिशानिर्देशलाई पालना गर्न नेकपाका सम्पूर्ण नेता-कार्यकर्ताहरु जनतासँग हातेमालो गर्दै अघि बढ्न तत्पर रहेका हुनुपर्छ । नेपाली जनताको प्यारो नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) लाई नेपाली जनतामाझ अझ बढी सशक्त र लोकप्रिय बनाउनुपर्छ ।