साठी बर्ष काटेका दुई जना छिमेकी काकाहरु कुस्ती खेल्दै लडेको देखेर हामी दङ्ग पर्यौँ । सानैदेखि मन नमिलेका जुम्ल्याहा जस्ता देखिने ती काकाहरु एउटै आमाको कोखबाट जन्मिएका थिए । उनीहरुको कुस्ती चार अङ्गुल जमिन मिचिएको र त्यसबारे छलफल नभएकोले रहेछ ।
त्यतिबेला अहिलेको जस्तो नापी नक्शा गर्ने चलन थिएन । नापी शाखा र मालपोत कार्यालय पनि अहिलेका जस्ता साधन श्रोत सम्पन्न थिएनन् । न्याय, सरकारी कर्मचारी अहिलेका जत्तिका प्रशिक्षित थिएनन् । काकाहरु आफैमा एकजना डिट्ठा र अर्का महान् समाजसेवी हुनुहुन्थ्यो । तैपनि उहाँहरुमा के त्यस्तो ‘युगो’ रहेछ कुन्नि ? बुढेसकालको कुस्तीमा त्यत्रो रहर रहेछ । उनीहरू कुस्ती लडिरहँदा तिनलाई भन्दा हामी देख्नेलाई लाज लाग्दथ्यो । कुस्ती लडिरहँदा कहिले कोहीमाथि कहिले कोही तल पर्दै रहन्थे ।
पहिले पहिले राजनीति पनि त्यस्तै थियो रे । राजतन्त्रले खप्लक्क खाएको सहने बरु कतिपय काँग्रेस कम्युनिस्टका नेता, कार्यकर्ताहरुको त्यस्तै लडाभाँती हुन्थ्यो । छिमेकी काकाहरु आफ्नो स्वार्थ बाझिएको कारणले काँग्रेस कम्युनिस्टमा बाँडिएका रहेछन् । हिजो आज त्यो रोग हाम्रो समाजमा छ कि छैन कुन्नि ? भन्दैछन् कसैकसैले अहिले त झन व्याप्त छ । राजनीति कदम कदममा राजनीतिक दलहरु माझमा मात्रै होइन गुट-उपगुटमा झैँझगडा कायम छ । के यो यथार्थता अहिले पनि जिवितै छ ?
व्यक्ति, संघ-संस्था, राजनीतिक दलहरु, सरकार जताततै झैँझगडा भयो, साधारण वा असाधारण संघर्ष भयो भने त्यो सबै वर्ग संघर्ष हो भन्न मिल्दैन । एकाध वर्ष अगावै नेपाली काँग्रेसमा त्यो गृहकलह चर्कै थियो । संस्थापन पक्षले आफ्ना प्रतिस्पर्धी नेतालाई खुइल्याउनुसम्म खुइल्याउन मन पराए । निकटम प्रतिस्पर्धी नेताले पनि संस्थापन पक्षकालाई बाँकी राखेनन् । सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलको त्यो शक्ति संघर्ष कुनै वर्गीय संघर्ष थिएन । पौडेलभन्दा देउवा धन दौलत, उमेर आदिले बलिया थिए । त्यसैले उनले अनेकौं तिकडमले अरुलाई पार्टी सभापतिमा आउन दिने कुरै भएन ।
नेपाली काँग्रेसका दोस्रो/तेस्रो तहका नेता कृष्णप्रसाद सिटौला, गगन थापाको नाम पुरक नेतृत्वमा आउँथ्यो । अहिले उदयमान हुँदै गरेका शेखर कोइराला, वीपी पुत्र डा. सशांक कोइराला पनि निकटम प्रतिस्पर्धी नेतृत्वका रुपमा नेपाली काँग्रेसमा आएको नाम हो । यति बेला पुरानो विरासत बोकेको राजनीतिक दल नेपाली काँग्रेसलाई जनताले दोस्रो दर्जाको ठाउँ निर्धारण गरिदिए । यसै कारण उनीहरु सरकार र सत्ताका लागि राजनीति गरेका होइनन् जस्तो देखिएको छ ।
कोरोनाको वर्तमान कहरले नेपाली काँग्रेसले तोकेको महाधिवेशनपछि सर्ला जस्तो छ । यस्तो अवस्थामा उक्त दलको आन्तरिक संघर्ष मत्थर भएको देखिन्छ । सत्तामा रहँदा फुट्ने हो कि भन्नेसम्मको आन्तरिक संघर्ष हुने काँग्रेसको महारोग यतिबेला सत्तासीन नेकपामा देखिन थालेको छ ।
सत्तासीन नेकपामा देखिएको आन्तरिक कलहलाई हामी मिडियाकर्मीहरुले कहिलेकाँही लोकप्रियता हासिल गर्न छिमेकी काकाहरुको कुस्तिसँग दाँजेका हुन्छौँ । सरकारी खेमाको तलबभत्ता खाएर बसेका प्रेस सल्लाहकार वा बाहिर बसेकाहरुले पनि आफ्नो निजी स्वार्थलाई सर्वोपरि ठानेर कतै सरकारी राजनैतिक दलभित्र फाटो ल्याउने गरेका त छैनौँ ? यो कुरा अहिले सत्य सावित हुन थालेको छ ।
कम्युनिस्ट पार्टीमा सिकाइने गरेको वर्ग संघर्षको इतिहाससँग अहिलेको सरकारी कम्युनिस्ट पार्टीभित्र उब्जिएको कलह मेल खान्छ । विज्ञानसम्मत मार्क्सवादले भन्ने गरेको एकता, संघर्ष अनि एकता भन्ने सिद्धान्त र अभ्यासमा वर्तमान कम्युनिस्ट पार्टीको नेतृत्व सीमित रहने हो कि होइन ? अहिले पार्टीभित्र देखा परेको विपरिततामा एकता कायम हुने हो कि होइन ?
यो नियम विपरित यस पार्टीका नेता, कार्यकर्ताहरुले जनवादी केन्द्रीयताको नियम उल्लंघन गरेर जाने हुन कि होइनन् भन्ने कुराले पार्टी एकता र विभाजनको रेखा कोर्नेछ ।
यतिबेला पार्टी केन्द्रमा विचारको टकराव छ । प्रधानमन्त्री पार्टी अध्यक्ष खड्गप्रसाद ओलीले नेतृत्व गरेको एउटा समूह र अर्कोतिर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्रीहरु एवम् पार्टी शीर्ष नेतृत्वहरु रहेको समूहमा बाँधिएका छन् । घटनाक्रम पुरानो संसदीय फोहरी राजनीतिमा अल्झिने कि परिवर्तित राजनीति अनुकूलको आचरण अनुसार जाने भन्ने कुरामा विकास भयो ।
१. वर्तमाने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा र त्यसको नेतृत्वमा बनेको सरकारमा मजदुर वर्गको उपस्थिति कम र किसान वर्गको उपस्थिति नगण्य छ । मजदुर, किसान वर्गका प्रतिनिधहरुका नाममा मध्यम र निम्न मध्यम वर्गका पार्टी नेताहरुको बाहुल्यता छ । भन्न सकिएला बरु यो सरकारमा राष्ट्रिय पुँजीपति वर्ग र दलाल पुँजीपती वर्गका प्रतिनिधिहरु समेत वर्तमान सरकारमा सामेल छन् । त्यसैले गर्दा सरकार र पार्टीभित्र यसको कार्यशैलीका कारण वर्गीय संघर्ष देखा पर्यो ।
इतिहासलाई कोट्याउने हो भने पुरानो कम्युनिस्ट पार्टीले शोषित, पीडित मजदुर वर्गको हितका लागि सर्वहारा वर्गको अधिनायकत्व नभएसम्म समाजवाद आउँदैन भन्ने गरिन्थ्यो । विश्व बजारमा जनवादी क्रान्ति सम्पन्न नभैसकेको हाम्रो जस्तो मुलुकमा मजदुर, किसान, निम्न मध्यम, मध्यम वर्गदेखि राष्ट्रिय पुँजीपति वर्गसम्मलाई एकजुट पार्न जरुरी भयो । विशिष्ट भौगोलिक क्षेत्र रहेको, जातजाति, धर्म, संस्कृतिको विविधता रहेको भूराजनीतिले वर्ग संघर्षको रुपमा विविधता आएको स्वभाविकै हो ।
नेपालका कम्युनिस्टहरुले त्यही कडीलाई समातेर आरम्भ गरेको सशस्त्र र शान्तिपूर्ण आन्दोलन अनेकौँ कमजोरी र गल्तिका बाबजुद सत्य साबित भयो ।
त्यसैले अहिले केही मात्रामा भए पनि नेपालीहरुले लैङ्गिक, उपेक्षित तप्काका नागरिकहरुले क्षेत्रीय विभेद, जातजातीय लगायतका पुरानो असमानतालाई न्युनीकरण गर्न मद्दत गरेको छ । यो वर्ग संघर्षको नयाँ रुप थियो भन्नु पर्दछ । त्यस्तो नगरिएको हँदो हो त नेपालको ठुलो हिस्साले सामन्तवादको अन्त्य र जनवाद उन्मुख पुँजीवादी राज्यक्रान्तिलाई सहयोग र साथ दिँदैनथे होला ।
२. कम्युनिस्ट पार्टीबाट मजदुर, किसानका संगठनहरु निर्माण र तिनलाई जनवादी, समाजवादी क्रान्तिका लागि तयार पार्नुपर्ने प्रशिक्षण अहिलेका कम्युनिस्ट पार्टीहरुले दिन सकेका छैनन् ।
नयाँ संरचना सहितको समाजवाद उन्मुख जनवाद भनेको जनताको जनवाद नै हो । जनताको जनवादी व्यवस्था ल्याउन वर्तमान सम्झौताको सम्विधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै लग्नु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रमुख दायित्व हो । यो कार्यभार सम्पन्न गर्न नेकपालाई निकै ठुलो अवसर प्राप्त भएको छ । यो कुरा नेपालमा परम्परागत रुपमा शासन गर्दै आएका जो कसैलाई मन परेको छैन ।
हामीले राजतन्त्रलाई हटायौँ तर आफै राजतन्त्रको चरित्र देखायौँ भने के होला ? हामीले हिजोका दिनको राज्य व्यवस्थाबाट शोषण, अन्याय, अत्याचार, कमिसनखोरी, विभेद र उपेक्षाको चर्को बिरोध गर्यौँ । फलतः त्यही विरोध र त्यसो गर्ने वर्गसँग संघर्ष गर्यौँ तर अहिले आफै शासक बनेर त्यही प्रवृत्ति दोहोर्यायौँ भने के होला ?
हिजो निष्ठाको राजनीति गर्यौँ, गर्न सिकायौँ । आज जथाभावी दलाली, कमिसनखोरी, अनियमितता र ठेक्कामुखी मुनाफाखोरी गर्न थाल्यौँ भने के होला ? यस्तो क्रियाकलापमा अल्झिनुले न त संविधान कार्यान्वयनमा इमान्दारिता देखिन्छ, न देश र समाजप्रति इमान्दारिता । त्यसैले यस्तो प्रवृतिलाई निरुत्साही गर्न जरुरी छ ।
३. कम्युनिस्टहरु सिद्धान्तका ओठेभक्त होइनन् भन्ने कुरा भारत र अन्य देशका कम्युनिस्टहरुले बुझ्नु पर्दछ । नेपालमा कम्युनिस्टहरु कसरी सफल भए ? बहुमतको सरकार निर्माण गर्न कसरी सके भनेर विश्व कम्युनिस्ट आन्दोलनले अध्ययन गर्नु पर्दछ ।
पिरलो त बरु के हो भने यस्तो सुनौलो अवसर प्राप्त गरेका नेपालका कम्युनिस्टहरुले आफ्नो पाँच वर्षे कार्यकाल सफलतापूर्वक कसरी गुजार्लान् ? भन्नेमा चिन्ता जाहेर गर्न नपरोस् भन्ने हो । सरकारी निकायमा बसेका वा त्यसको वरिपरिबाट सत्ताको दुरुपयोग, आर्थिक दोहन गर्न थाल्ने हो भने वर्तमान सरकार आफ्नो कार्यकाल पूरा गर्छ कि गर्दैन भन्न सकिने अवस्था छैन ।
हामीलाई विश्वास छ, आफ्नो आधा शताब्दीको जीवन कम्युनिस्ट आन्दोलनमा बिताएका प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्यस्तो अवस्था आउनु दिनु हुने छैन भन्ने कामना गरौँ । सरकार सञ्चालनमा देखिएका त्रुटी सच्याएर अगाडि बढ्न सकिन्छ । सरकार र पार्टी सञ्चालनका विधि, प्रक्रियालाई पछ्याउँदै अहिले नेकपा र उसको सरकार चल्नुको अर्को विकल्प छैन ।
पिछडिएको नेपाली समाज र मुलुक विकासका लागि कम्युनिस्टहरु झन् बढी निष्ठावान बन्नुपर्ने हो । त्यो नैतिक जिम्मेवारी सरकार र पार्टीको नेतृत्वमा रहेकाले बुझेनन् र निजी स्वार्थ, गुटगत स्वार्थका लागि पार्टी र देश नै बन्धक राख्न खोजे ।
कोरोनाजस्तो रोगसँग जोगाउन सफल भएको ढोल पिटिरहँदा अनावश्यक अध्यादेश प्रकरण उठाइयो । सांसद किनबेच हुनसक्नेसम्मका पुराना फोहोरी राजनीतिक खेलहरु खेलिए ।
४. ‘कम्युनिस्टहरु लोकतान्त्रिक हुनै सक्दैनन्, उनीहरुले विधिको शासन मान्दैनन्’ भन्ने आरोप हिजो नलागेको होइन । अहिलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले त्यो आरोपलाई झुठो सावित गर्नुपर्ने अवस्था आएको छ ।
यतिबेला पार्टीमा फाटो ल्याएर आफ्नो स्वार्थसिद्ध गर्न चाहने अनेकौँ शक्तिहरु सलबलाएका छन् । नेकपाको आन्तरिक संघर्ष यतिबेला जनवादी केन्द्रीयताको सिद्धान्तको आधारमा टुङ्गाउनु पर्ने वाध्यता आयो । पार्टीभित्र उठेको गम्भीर मतभेदलाई समाधान गर्ने त्यो उत्तम कार्यविधि अपनाउन प्रधानमन्त्री गुट नमानिरहेको र अन्य नेताहरुले माग गरेका हुनाले सचिवालय बैठक बस्नु परेको र त्यसपछि स्थायी समितिको बैठक बस्नुपरेको हो ।
प्रम ओली समूहका नेताहरु यस कुराबाट बेखबर छैनन् । यस्तो बेलामा पार्टी पद्धति, प्रचलित प्राकृतिक नियम र विधि, विधान बमोजिम चलेमा समस्या आउँदैनन् । कोही कसैको उक्साहटमा लागेर एकैछिन त्रुटी गरेछन् भने पनि त्यसलाई तत्कालै सुधार्ने सामर्थ्य राख्नुपर्ने हो । हामीलाई थाहा छ, श्रमजीवी वर्गका प्रतिनिधि पनि सत्तामा वा सरकारमा पुगेपछि पुँजीपति वर्गमा रुपान्तरित हुन सक्दछन् ।
अहिले प्रधानमन्त्री र कतिपय मन्त्रीहरु पार्टीको आन्तरिक बागडोर आफ्नै हातमा सम्हालिरहन र सत्तामा टाँसिरहन खोजेको देखिन्छ । सत्ताधारी वर्गीय संघर्ष यतिबेला दलाल नोकरशाही र क्रान्तिकारीहरुको बिचको संघर्षमा परिणत भएको मान्नु पर्दछ । त्यसैकारण पार्टी सञ्चालन कार्यविधिबाट निर्देशित भइरहँदा सांसद किनबेचसम्मको अवस्था नदोहरियोस भन्ने आम कार्यकर्ता र जनता चाहन्छन् ।
पार्टीभित्रको जनवादी पद्धतिलाई अपनाएर आउने परिणामलाई नेतृत्व गणले स्वीकार्नु पर्दछ । परिपक्व नेतृत्वले यतिबेलाको यो विवादलाई देश, जनता र स्वयम् पार्टीको हितमा बदल्ने छन् भन्ने आशा पार्टीका कार्यकर्ता र आम नेपाली नागरिकले गरेका छन् ।
(लेखक प्रेस स्वतन्त्रताका लागि संघर्षरत सामाजिक अभियन्ता हुनुहुन्छ ।)