कुनै पनि देशमा समाजवादको स्थापना वा समाजवादउन्मुख हुने बित्तिकै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिक्रियावादी मिलेर अन्तरध्वंसका कामहरू गर्दछन् । अक्टोबर क्रान्तिपछि रूसमा साम्राज्यवादीहरू मिलेर रूसी प्रतिक्रियावादीहरूलाई सहयोग गरे र गृहयुद्धलाई चर्काए र हस्तक्षेप गरे । सोभियत संघ र पूर्वी युरोपेली देशहरूमा अस्थायी हार स्वाभाविक नभई साम्राज्यवादीहरूको अन्तरध्वंस, आर्थिक नाकाबन्दी, कूटनैतिक र सैद्धान्तिक आक्रमण तथा अनेकौँ मनोवैज्ञानिक र मन्त्र युद्धहरूका कारणले भएको हो ।
त्यस्तै प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको विरोधमा पनि संयुक्त राज्य अमेरिकाबाट अनेक प्रकारका आक्रमण र युद्ध अभ्यासलाई निरन्तरता दिइरहेका छन् । राजनीतिक, आर्थिक, सांस्कृतिक र मनोवैज्ञानिक आक्रमण चालु छ । क्युबाको समाजवादी गणतन्त्रमाथि त्यस्तै आक्रमण र अन्तरध्वंसका गतिविधिलाई अमेरिकाको अगुवाइमा चालु नै राखिएको छ । नेताहरूको हत्या, हिंसा, अन्तरध्वंस, आर्थिक नाकाबन्दी, झुठ्ठा प्रचार अभियान वा मनोवैज्ञानिक तयउ मन्त्रयुद्ध र सैनिक आक्रमणको तैयारीमा समेत साम्राज्यवादीहरू लागिरहेका छन् । त्यसको विरोधमा संसारका सबै क्रान्तिकारीहरू, प्रजातन्त्रवादीहरू, कम्युनिस्टहरू, मजदुर, किसान, सर्वहारावर्ग र व्यापक प्रगतिशील जनता सचेत भएर संघर्ष गर्नु आवश्यक छ ।
विश्व दुई ध्रुवीय होस् वा एक ध्रुवीय, समाजवादउन्मुख नेपालले आफ्नो स्वतन्त्रता र स्वाधीनताको दृढ रक्षाका लागि निरन्तर संघर्ष गरिरहेको छ ।

पहिलो संसद विघटन प्रयास सर्वोच्च अदालतले विफल पारिदियो र यो दोस्रो घिनलाग्दो आक्रमण फेरि भएको छ । यसपटक अदालतले के गर्छ, अदालतमाथि कुनै बाह्य प्रभाव छ वा छैन ? हेर्न बाँकी नै छ । पहिलो निर्णयलाई स्वागत गरेपछि दोस्रो निर्णय पनि स्वागत गर्न करै लाग्छ भन्ने मनोविज्ञानको दिन खोजिएको छ ।
स्वतन्त्र नेपालका लागि एमसीसीको एउटा पोको पास गराएर देशलाई अकल्पनीय मुठभेडतर्फ धकेल्न र भारतीय विस्तारवादको चाहनाअनुसारको नागरिकता विधेयक पास गराएर भारतीय दलालहरूलाई सत्तामा राखेर अन्तमा सिंगो देशलाई भारतमा बिलय गराउने पूर्वाभ्यासको कडी नै २०७८ जेठ ८ गतेको मध्यरातको षडयन्त्र हो भनेर कुनै नेपालीले बुझेन भने अर्को कुनै दिन हामी भारतीय भइसकेका हुनेछौँ । कहिल्यै कसैको गुलाम नभएको हाम्रो मुलुक र हामी भारतीयको गुलाममा परिणत भैसकेको हुनेछौँ । यति कुरा चाहिँ अदालतमा रहेका सम्मानित न्यायाधीशहरूको खप्परमा छिरेछ र देश दुखेछ भने षडयन्त्रकारीको षडयन्त्र तत्काललाई विफल हुनेछ । नत्र अबका दिनमा अझ जुझारू र व्यापक संघर्ष नगरी षडयन्त्रलाई चिर्न सकिने छैन ।
यसअघिको अदालतको फैसलालाई षडयन्त्रकारीले टेरेन, बरू त्यसैलाई आधार मानेर दोस्रोपटक षडयन्त्र रच्यो, नेपालीको आर्थिक युद्धलाई चर्काउन नयाँ तथा थप उपाय षडयन्त्रको अवलम्बन गर्यो । आन्तरिक विध्वंसका लागि प्रत्यक्ष आर्थिक र भौतिक तथा धार्मिक सहयोगमा उल्लेखनीय बृद्धि गर्ने र प्रचारबाजीलाई बढाउने, गलत सुचना सम्प्रेषणमा बृद्धि गर्ने नीति लिई बजेट, नीति तथा कार्यक्रम ल्याउने र नेपाली क्रान्तिद्वारा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्नु नै यो षडयन्त्रको मुख्य कडी हो ।
षडयन्त्रकारीको अर्को चाल संकटकाल लगाएर अन्य सबै राजनैतिक पार्टीका शीर्ष नेताहरूलाई झुठ्ठा मुद्दा लगाई थुन्नेसम्मको काम निकट भविष्यमै हुन सक्नेछ । यसबाट न काँग्रेस, न कम्युनिस्ट, कसैलाई षडयन्त्रकारीले छाड्ने छैनन् । यो षडयन्त्रको चौथो कडी हुनेछ – पहिलो पौष ५, दोस्रोपटक जेठ ८ को मध्यराति, तेस्रो अब आउने अदालतको फैसला र चौथो संकटकाल हुँदै क्रमिक रूपमा अन्त्यमा संघीय लोकतान्त्रिक गणतन्त्रको अन्त्य ।
अबको बाटो सहज छैन । संघर्षको विकल्प पनि छैन । संघर्षको आँधीबेहरीले मात्र षडयन्त्रकारी पतन हुनेछ । क्रान्तिलाई ध्वस्त पार्ने, सबै सामाजिक र आर्थिक उन्नतिलाई तिरस्कृत गर्ने, हामीलाई हाम्रो स्वतन्त्रता र सार्वभौमिकताबाट वञ्चित गर्ने, दलाल पुँजीपतिलाई सल्लाहकार बनाएर जनतालाई दमन गर्ने, नेपालमा भारतीय दबदबा कायम गर्न विगतमा अपनाइएका विभिन्न तरिकालाई असफल पार्न भारतीय बिस्तारवादको योजना र अमेरिकन एमसीसी पारित गर्न यो षडयन्त्रमूलक योजना हो भनेर नेपाली जनताले बेलैमा बुझेनन् भने हामी हाम्रा सन्ततिलाई स्वतन्त्र नेपाल होइन, भारतीय राज्यको रूपमा दिनेछौँ । त्यतिखेर षडयन्त्रकारीको समर्थन गर्ने, षडयन्त्रकारीका पिछलग्गुहरूले पनि आफैलाई धिक्कार्नेछन् । यदि यी षडयन्त्रकारीलाई बेलैमा पछारेनौँ भने हाम्रो नेपाली अस्तित्व समाप्त हुने निश्चित छ ।
अहिलेको मध्यरातमा जनता सुतेका बेला गरिएको कालो कर्तुत पौष ५ को भन्दा खतरनाक छ । पौष ५ एकदम ठिक थियो भन्ने निरन्तरता मात्र नभई पूरै संघीय लोकतान्त्रिक गणतन्त्रमाथि बोलिएको धाबा हो । कम्युनिस्ट-कम्युनिस्ट लडे । अब जित्ने पालो हाम्रो हो भनेर अरू पार्टीले पुरानै तरिकाले सोचिरहेका छन् भने तिनले पनि एकपटक राष्ट्रलाई छातीमा राखेर घोत्लिउन् किनकि राष्ट्र रहे मात्र हाम्रो स्वच्छ प्रतिस्पर्धा होला । राष्ट्रनै नरहे के को प्रतिस्पर्धा ?
योजनाबाट एकपछि अर्को सफलताको प्रशंसा प्राप्त गरेको महसुस गरेको षडयन्त्रकारी र तिनका भारतीय विस्तारवादका सारथीहरूले निरन्तर गरिरहेका छन् । कोभिडको महामारीमा पनि दिपावली गरिरहेका छन् । योजना तथा षडयन्त्रको कार्यान्वयनबाट हात लागेका सफलताको प्रशंसा गर्दै नेपाली क्रान्तिको अन्तरध्वंस तथा अन्त्य नजिक्याउन यो योजनालाई ठोस आधार बनाइएको छ । नेपाली क्रान्तिलाई चाँडोभन्दा चाँडो पतनका लागि षडयन्त्रकारी हेर्दा भारतविरोधीझैँ लाग्नेछन् तर तिनै पात्रले जनकपुरमा एउटै भेषमा नागरिक अभिनन्दन लिएको कुटनीतिक संकेतको सबैले बेवास्ता गरेकाछन् । यिनले या त बुझेनन् या त यिनको पनि उद्देश्य एउटै हो ।
ढाकिएका सबै कुरा खुल्नेछन् । सबै गोप्य कुराहरू उदाङ्गिने छन् । संविधानका धाराहरू जतिसुकै स्वर्ण अक्षरले लेखिए पनि तानाशाह चरित्रले त्यसलाई निरन्तर आफ्ना पक्षमा ब्याख्या गरिरहने छन् । तिनको मूल उद्देश्य भनेको नेपाली क्रान्तिलाई भड्खालोतिर धकेल्नुनै हो । संविधान, लोकतान्त्रिक गणतन्त्रलाई पङ्गु र ध्वस्त पार्नु नै हो भन्ने बुझेर आफ्नो मुलुक निमिट्यान्न र समाप्त हुने खतराबाट जोगाउने दायित्व फेरि एकपटक नेपाली जनताको काँधमा आएको छ । जनतामा भएको तागत देखाउने बेला आएको छ । हामी यो वा त्यो पार्टीको भनेर वैचारिक लडाइँपछि लडौँला । अहिले देश, संविधान, संघीय लोकतन्त्रलाई बचाउन एकजुट भएर लाग्ने बेला हो । षडयन्त्रकारी तथा ओली विद्या कदमको डटेर सामना गर्न सकिएन भने हामी नेपाली जनता नेपाली नै रहने छैनौँ । ओलीका पुच्छरहरू पनि सँगसँगै बग्नेछन् र पर्पुरोमा हात लगाएर त्यतिखेर भन्न सक्ने छैनन् “ओली जिन्दावाद” ।
अर्को देशको जनतालाई पराजित गर्न खोज्नु, त्यहाँको राजनीतिक, आर्थिक र सामाजिक संरचनालाई जनताको हित विपरीत परिवर्तन गर्न खोज्नु, प्रभुत्व जमाउन खोज्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन हो र यस्तो कार्य फासीवादी विचार भएकाले मात्र सोच्न सक्दछ तर सुरूमा नै संविधान मन नपरेर नाकाबन्दी लगाएर त्यसैको आधारमा उछालेर जनमत प्राप्त गर्न सफल षडयन्त्रकारी ओली नै उसको प्यारो हो भनेर जनकपुर अभिनन्दनले प्रष्ट पारिसकेको देखिन्न र ? खै हाम्रा आँखा ? मध्यरातमा संविधानको घाँटी निमोठ्ने त्यही कार्यको निरन्तरता हो भनेर हामीले कहिले बुझ्ने ? कि सल्लाह गर्दा गर्दै देशै डुबिसकेपछि मात्र ए हो रहेछ भनेर बुझ्ने ?
हाम्रो संविधानको मोडलअनुसार समाजवादउन्मुख समाजको निर्माण गर्नु हो, यसलाई रोक्ने जिम्मा षडयन्त्रकारी ओली र बिद्याले पाएका छन्, चाहे त्यो वीपीको समाजवाद होस् वा चाहे हाम्रो संविधानले परिकल्पना गरेको समाजवाद होस् ? कस्तो समाजवाद हो ? त्यसको बहस यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बचाउन सकिएछ भने फुर्सदमा स्वस्थ बहस र प्रतिस्पर्धाबाट गरौँला ।
हामीले दुवै अर्थमा षड्यन्त्रकारी ओलीलाई समर्थन गर्नुहुँदैन ।
१) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मनपरी अपव्याख्या ।
२) भारतीय विस्तारवादले नेपाली संविधानमाथि बोलेको धाबाको निरन्तरता ।
भन्नुपर्दा यी दुवै एउटा सिक्काका दुई पाटा हुन् । स्पष्ट छ कि भारतीय विस्तारवादी नीति र त्यसका स्वार्थका पछाडि दगुर्ने नेपाली पहरेदार वा भनौँ नेपाली क्रान्ति विरोधीहरूको नेतृत्वकर्ता ओली विद्याले अघिसारेका संविधानविरोधी कदम र संविधान घोषणा गर्दा ताका भारतले गरेको मौन विरोध, अहिलेको संविधान मिचेर पङ्गु बनाउने कार्य यसैको निरन्तरता नै हो । एक व्यक्तिले यसलाई डरलाग्दो पाराले अघि बढाएको कुरालाई बुझौँ । वामपन्थीभित्र रहेको दक्षिणपन्थी धारलाई भारतीय विस्तारवादले राम्रोसँग परिचालन गरिरहेको छ । यो कुरालाई बुझौँ । भारतीय विस्तारवाद र ओली-विद्याको यो कदमलाई नबुझेर ओली-विद्याकोपछि लाग्नेले पनि यो कुरा बुझौँ । तपाँई हामी एकजुट भएर यस्ता घृणित कार्यको घोर विरोध गरौँ ।
सञ्चार माध्यमले पनि भारतीय विस्तारवाद र ओली-विद्याको यो निकृष्ट घिनलाग्दो राष्ट्र र संविधान विरोधी कार्यको घोर विरोध गरौँ । जनताको आँखामा लगाएको पट्टी खोल्नेतर्फ एकजुट होऔँ । संविधानलाई व्यक्तिको स्वार्थमा प्रयोग भइरहेको छ भन्ने सत्य तथ्यलाई उजागर गरौँ । कसैको पक्ष-विपक्षमा होइन, एकपटक संविधानको अक्षरसः अध्ययन गरेर २०७८ जेष्ठ ७ र ८ गतेको नाटकीय पटाक्षेपको खुलेर विरोध गर्दै आन्दोलनको ज्वारभाटा उछाल्न कम्मर कसेर लागौँ । ओली-विद्याको नेतृत्वले भारतीय विस्तारवादको पक्षपोषण गरिरहेको चरितार्थ जनतामाझ पुर्याउने दायित्व तपाईंको काँधमा आएको छ । यही संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नै प्रेस स्वतन्त्रता दिलाएको कुरा नबिर्सौं । देशले तपाईंको स्वच्छ पत्रकारिता खोजेको छ । धरहरा, रानीपोखरी र जनकपुरको रेल सुतेको कुरा जनतामाझ पुर्याऔँ । यसरी नै संविधानका धाराहरू मिचिँदै गर्दा एकदिन प्रेस पनि मिचिनेछ । भलै अहिले प्रेसको पालो नआए पनि दिन टाढा छैन । एकदिन प्रेस पनि निमोठिनेछ । यसमा दुई मत नमाने हुन्छ ।
भारतीय विस्तारवादको नीति अनुरूप ओली-विद्याले चालेको संविधान विरोधी कार्य क्षमायोग्य छैन । यिनलाई राज्यविरोधीको मुद्दामा सजायँ त हुनैपर्छ तर त्यसो हुनलाई पनि संविधानको अक्षरसः पालना हुनैपर्छ । त्यो आन्दोलनको आँधीबेहरीबाट मात्रै सम्भव छ । सबै राजनैतिक पार्टी र ओली-विद्याको पार्टीभित्र पनि अधिकांश राष्ट्रवादी समाजवादीहरूले पनि गम्भीर भएर सोच्नैपर्छ । नत्र अब राज्यआतङ्कबाट तपाँई पनि अछुतो रहनुहुने छैन, ढुक्क हुनुभए हुन्छ । ओली र विद्यालाई संविधान र राष्ट्रको सुरक्षा गर्न संविधानले कल्पना गरेको संवैधानिक अङ्गमा स्थापित गरिएको हो । त्यही संविधान र राष्ट्रलाई भारतीय विस्तारवादको नीतिअनुरूप मार्न वा च्यात्न पठाएको होइन । ओली र विद्याले गराउने कुनै पनि निर्वाचन स्वच्छ र धाँधलीरहित हुने छैन । तपाईं पनि मिल्काइनु हुनेछ । यस कुरामा शंका नगरे हुन्छ । यो निर्वाचन पनि भारतीय विस्तारवाद र ओली-विद्याको मोडलअनुसार तयार गरिएको छ ।
हाल गरिएको षडयन्त्रमूलक घोषणा भारतीय विस्तारवादको निरन्तरताको एउटा पाटो हो भन्ने कुरा आम सर्वसाधारणले बुझ्नु पर्दछ । बृद्धभत्ता ५००० पुर्याएर जनतालाई ललिपप खुवाउने योजना यसपालिको नाटकीय बजेटमा अवश्य देख्न पाइनेछ । के त्यसले तपाईं हाम्रो जीवनको सबै लक्ष्य पूरा हुनेछन् ? के त्यसले भारतीय विस्तारवादलाई विस्थापित गर्छ ? के हामी समाजवादमा पुग्न सक्छौँ ? नेपालमा संविधान जारी हुनासाथ भारतीय नाकाबन्दीको विरोध गर्ने ओली र जनकपुरमा हामी एउटै हौँ भनेर दिएको सन्देशलाई हामीले हेर्नुपर्दैन ? हाम्रो संविधानमाथि प्रत्यक्ष हस्तक्षेप गर्न भारतीय विस्तारवादको ह्याउले भ्याउँदैन । त्यसैले ओली-विद्यालाई प्रयोग गरिएको हो भन्ने कुरा घामजत्तिकै छर्लङ्ग भइसकेको अवस्थामा अब हामी आम नागरिकले पनि उत्तिकै सक्रिय भएर आन्दोलनको आँधीबेहरी सिर्जना नगरे भोलि उठ्दा हामी भारतीय भइसक्ने छौँ । त्यसैले जागौँ, उठौँ, भारतीय विस्तारवाद र ओली-विद्याको संविधानप्रतिको षडयन्त्रमूलक कार्यको घोर विरोध गरौँ । यिनलाई सत्ताबाट थुतेर सडकमा ल्याऔँ । राजनीतिक आस्थाको आधारमा विचार र मतको छलफल जितहार गर्दै गरौँला । हामी दास भएर नाश हुन चाहन्नौँ । आजको मूल नारा यही हो ।
नेपाल विरूद्धको अघोषित नाकाबन्दी निस्सन्देह भारतीय विस्तारवादले गरेको अपराध हो । संविधान सभाबाट पारित संविधान यिनलाई मन परेको छैन । अहिलेसम्म पनि संविधानको समर्थनमा एक शब्द खर्चेको पाइएन । संविधान जारी नगर भनेको नेपालको संविधान सभाले मानेन । प्रधानमन्त्री पाउँछस् नभनेको भए ओलीले पनि मान्ने थिएनन् भनेर कैयौँ नेताको मुखबाट सुनिएकै हो र यसको ओलीले पनि कतै खण्डन गरेको पाइएको छैन र यो लेख पढेपछि खण्डन गरेछन् भने पनि त्यो कुकृत्य चाल मात्र हो भनेर ठम्याउन सकिन्छ । अब आएर एकपछि अर्को चाल चल्दै संविधानलाई भारतीय विस्तारवादको योजनाअनुरूप च्यात्दै आएको छ । यहीँनेर आम नेपालीले बुझ्नुपर्ने हुन्छ कि ओली-विद्या केवल भारतीय गोटी मात्र हुन् । जे देखिन्छ, त्यो हैन । उनले गरेका कुकृत्यले इशारा गर्दछ कि भारतीय विस्तारवादलाई यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान मन परेको छैन र ओली-विद्यालाई पनि मन परेको छैन । एकपटक होइन, पटक पटक । यो संयोग मात्र होइन । सावधानीपूर्वक जनतालाई मुर्ख बनाएर चालिएको भारतीय विस्तारवादको पक्षपोषण हो । एक्लैले बुझेर पुग्दैन, तीन करोड नेपालीले बुझेर सिङ्गो मुलुक जुरुक्क उठ्ने बेला आयो । जय संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल ।
(लेखक वामपन्थी अभियन्ता हुनुहुन्छ ।)









