संसद विघटन जस्तो राजनीतिक महाअपराध गरेर लाज पचाइकन पुनः संसदमै छिर्न खोज्ने अपराधी मानसिकताले भरिएको प्रवृत्तिलाई नै ओली प्रवृत्ति भन्दा फरक पर्ने छैन । २०७७ पौष ५ गतेदेखि फागुन ११ गतेसम्म करिब दुई महिना ६ दिनसम्म जनताको शासन गर्ने एकमात्र उच्च थलो संसदलाई ओलीले अपहरण गरे र भने बैशाख १७ र २७ गते चुनाव हुन्छ । जनताले ५ वर्षका लागि चुनेर पठाएको संसदलाई बिचमै अपहरण गरेर आफूले गरेको काम मात्र ठिक भन्दै वकालत गर्न छोडेनन् र आफूलाई सक्कली कम्युनिस्ट भन्न पनि छोडेनन् अर्थात आफू मात्र ठिक र अरू सबै गलत ।
देश चलाउने कार्यकारीले सबैलाई समेटेर लानुपर्ने वाध्यात्मक परिस्थितिलाई ठाडै अस्वीकार गरेर आफै मात्र सर्वेसर्वा र अरू दोस्रो दर्जाको भएको दम्भ देखाउँदै आफ्नै पार्टीभित्र पनि समानान्तर गतिमा हिँड्नु जरूरी नठानेका र जबर्जस्ती पेलेर लैजाने मनोविज्ञान विकसित गरेर संसदलाई अपहरण गरे । यो कुरा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ को बर्खिलाप थियो । म किटानीका साथ भन्न सक्छु । झण्डै दुई महिना छ दिनसम्म संसदलाई अपहरण गर्ने कुख्यात अपराधी खड्गप्रसाद ओलीलाई सँजायको भआगिदार हुनुपर्छ किनकि अपराध त सर्वोच्च अदालतले प्रमाणित गरिदिइसक्यो र अब मेरो यसै लेखमार्फत कुख्यात अपराधी खड्गप्रसाद ओलीलाई कैद सजाय होस् भनेर राज्यका संयन्त्र र आम नेपाली नागरिक समक्ष अपिल समेत गर्न चाहन्छु ।
खड्गप्रसाद ओली संघीय लोकतान्त्रिक गणतन्त्रका प्रमुख दुश्मन रहेछन् । यिनले संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने शब्द नै खारेज गर्ने दुष्ट्याँइ गरेकाछन् । यिनी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको अपराधी हुन् र यिनी सँजायका भागिदार पनि हुन् ।
कम्युनिस्ट आन्दोलनलाई निस्तेज पारेर सिध्याउने दाउमा रहेका खड्ग ओलीलाई सर्वोच्च अदालतले नराम्रोसँग झापड हानेर भन्यो अब उप्रान्त यस्तो दुस्साहस नगरेस् । सायद अब ठ्याक्कै त्यस्तो दुस्साहस त गर्न नसक्लान् तर सांसद किनबेचदेखि संसदलाई दिशाहीन बनाउनेतर्फ लाग्ने वातावरण अवश्य बनाउनेछन् किनकि न त यिनलाई यो संघीय लोकतान्त्रिक गणतन्त्रको माया छ, न त यो संसदको नै । यिनलाई त केवल विकासको नाममा नागरिकहरूलाई झुक्याएर भएपनि एक मिनेट बाँकी छँदासम्म पनि नैतिकहीन शासन गर्ने दाउमा देखिन्छन् ।
आफूले चालेको चाल असफल हुने बित्तिकै नैतिकताको आधारमा राजीनामा दिने चलन लोकतान्त्रिक मुलुकहरूबाट सिक्नुपर्ने ठाउँमा उल्टो निर्लज्ज र ङिच्च दाँत देखाउँदै आफैले अपहरण गरेको संसदका सांसद खरिद विक्रि गर्ने कार्यमा निर्धक्क लागेर फेरि एकपटक संसदलाई पङ्गु बनाउन खोजेको कुरा खड्ग ओलीका पक्षमा लागेका सांसदहरूले बुझेनन् वा ओलीको चकलेटी गुलिया कुरामा फसे भने मुलुक फेरि राजनैतिक दुष्चक्रको भुमरीमा फस्नेछ । त्यसैले देशलाई ओलीगमन वा पश्चगमनबाट जोगाउने हो भने प्रत्येक सांसदले एकपटक राष्ट्रलाई शिरमा राखेर गम्भीर भएर सोचौँ र ओली वा ओली प्रवृत्तिलाई परास्त गरौँ ।
बेलायती संसदीय अभ्यासअनुसार सांसदको गणितीय भागबण्डामा प्रधानमन्त्री टिकेको हुन्छ । यही संसदको गणितीय अभ्यासलाई ओलीजस्ता तानाशाहले गलत प्रयोग गरेकै कारणले आज संसदीय व्यवस्था नै धरापमा परेको हो । र, सर्वोच्च अदालतले त्यसलाई बदर नगरेको भए अर्थात् संसद पुनर्स्थापना नभएको भए देश एउटा अँध्यारो कालखण्डमा प्रवेश गर्ने पक्का थियो । धन्यवाद छ, सर्वोच्च अदालत र प्रधान न्यायाधीश तथा न्यायाधीशको टिमलाई ।
खड्ग ओलीले कम्युनिस्ट विरोधी शक्तिलाई उचालेर नेपाली कम्युनिस्टलाई कलङ्कित बनाइसकेको र आगामी दिनमा कम्युनिस्टको बचेखुचेको साख पनि दलालहरूको पोल्टामा पार्ने निश्चित छ । संसदमा चुनिएर पुग्नुभएका जति पनि सांसदहरू हुनुहुन्छ, तपाईंहरू फागुन १० गतेसम्म अपहरित हुनुहुन्थ्यो भन्ने कुरा बिल्कुलै नभुल्नुहोला । तपाईंहरूलाई सर्वोच्च अदालतले अपहरणमुक्त गरेको कुरा पनि नबिर्सिनुहोला । अनि एकपटक छातीमा हात राख्नुहोस् र देशलाई शिरमा राख्नुहोस । अनि मात्र अपहरणकारी ओलीलाई समर्थन गर्ने कि नगर्ने सोच्नुहोला । के खड्ग ओली, तपाईं र देशको अपराधी होइनन्? अदालतले त ओलीको कदमलाई गैरसंवैधानिक भनिसक्यो त । यति गम्भीर प्रकृतिको अपराधलाई तपाईंहरूले कसरी आँखा चिम्लन सक्नुहुन्छ? सबै दलका सबै सांसदहरूलाई मेरो गम्भीर ध्यानाकर्षण र प्रश्न छ?
आ-आफ्नो मन परेका व्यक्तिहरूको समर्थन वा आलोचना गर्दै गरौँला । अहिलेलाई अपहरणकारी ओली प्रवृत्तिलाई परास्त गरौँ । नत्र आगामी चुनावमा कुन मुखले भोट माग्न सकिएला? जनताको अदालतलाई नकार्न सक्नुहुन्छ? प्रतिगामी कदम भनेर सिद्ध भइसकेपछि पनि प्रतिगमनको समर्थन गर्नु आफैलाई प्रतिगमनको मतियार सिद्ध गर्नु होइन र? के तपाईं पनि अपहरणकारीको पङ्क्तिमा लामबद्ध भएर आफूलाई उभ्याउन चाहनुहुन्छ?
हिजो ज्ञानेन्द्रको तानाशाही कदमलाई साथ दिने तुलसी गिरी, कीर्तिनिधि विष्टदेखि अरू थुप्रै तानाशाहका मतियारहरूलाई आज जनताले कुन स्थानमा पुर्याइदिए? भोलि तपाईंहरू पनि त्यही स्थानमा पुग्न चाहनुहुन्छ? एकपटक ती भोट दिने आम नागरिक प्रति वफादार बनेर हेर्नुहोला । नत्र इतिहास यति निर्मम हुन्छ कि तपाईं पनि नैतिकहीन शासक ओली र ज्ञानेन्द्रको वृत्तमा पुग्ने निश्चित छ ।
पुराना सामन्ती विचारधाराका अनुयायी, तानाशाहहरु, दलाल पुँजीपतिहरू, नोकरशाहहरू जस्तालाई यस्ता कुरा मन नपर्नु कुनै आश्चर्य हुँदै होइन । यसैलाई त द्वन्दात्मक भौतिकवाद भनेर मार्क्सले वैज्ञानिक व्याख्या गरे । सँगसँगै यो पनि भने प्रतिक्रान्तिकारी पनि पार्टीभित्रै घुलमिल भएर बसेका हुन्छन् । यो नै कम्युनिस्ट पार्टीभित्रको डरलाग्दो पक्ष हो । आफ्नै सहयात्रीले सत्तामा पुगेपछि वर्ग परिवर्तन गरेपछि उत्पन्न हुने संकट नै कम्युनिस्ट पार्टीको महारोग हो र त्यो प्रवृत्तिलाई नै ओली प्रवृत्ति भनेर चिनाइरहनु परोइन । तपाईंलाई पनि ओली वृत्तभित्र आफूलाई राख्न, चिनाउन पक्कै मनपर्ने छैन भन्ने विश्वास आम नागरिकले लिनेछन् । यहाँहरूले सपथ खाँदा संविधान र जनताको हितलाई ध्यानमा राखिनेछ भनेको कुरा पनि बिर्सनु हुँदैन । प्रतिगमन, संसद अपहरणकारीको पक्षमा वकालत, पक्षपोषण गर्नु हुने छैन भन्नेमा आम नागरिक विश्वस्त छन् ।
(लेखक वाम बुद्धिजीवी हुनुहुन्छ ।)