नेपाल गणतन्त्रको युगमा प्रवेश गरेको छ । नेपाली राजनीति पुर्नगठनको उच्च चरणमा छ । अब नेपालमा पुरानो सोच र थोत्रो ढर्राबाट राजनीति चल्दैन ।
‘शीतल निवासमा पुगेपछि सबै सुविधा लिन पाइन्छ, सिंहदरबारभित्र छिरेपछि ब्रम्हलुट मच्चाउन पाइन्छ, राज्यका उच्च तहमा पुगेपछि मनपरी गर्न पाइन्छ, नेता बनेपछि सबै स्वार्थ पूरा गर्न पाइन्छ, नेताहरूको चाकडी गरे छिटो ठूलो मान्छे भइन्छ, भ्रष्टचारीहरूसित मिलेपछि रातारात धनी भइन्छ, विदेशी प्रभुले भनेको माने शक्तिशाली भइन्छ’ भन्ने मनोग्रन्थीको अब यो देशमा काम छैन ।
‘संघ, प्रदेश र स्थानीयका साथै संघीय संसद, राष्ट्रिय सभा, प्रदेश सभा भनेका राष्ट्रिय ढुकुटी दोहन गर्ने माध्यम होइनन् । राष्ट्र सेवा, जनसेवामा उत्कृष्टता प्रदर्शन गर्ने, राजनीतिक स्थायित्व, सुशासन, उत्पादनमा अभिबृद्धि, तीव्र विकास र समृद्धिका उच्च साधन हुन्’ भनेर पुष्टि गर्न नसके जनताले फेरि त्यसको विकल्प खोज्छन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा मात्र होइन, समाजवादको सजीव रूपरेखा हो । यो कुरा लागु गर्न चाहनेहरू नेतामुखी होइन जनमुखी, विदेशमुखी होइन राष्ट्रमुखी, बिनासमुखी होइन विकासमुखी, स्वार्थमुखी होइन सेवामुखी, शोषणमुखी होइन श्रममुखी, झुटमुखी होइन सत्यमुखी, षडयन्त्रमुखी होइन लोकतन्त्रमुखी, धनमुखी होइन ज्ञानमुखी बन्नै पर्दछ ।
तर अचम्मको कुरा के छ भने यतिबेला यसबारेमा राज्यका विभिन्न तहमा पुगेका शासक, प्रशासक, जनप्रतिनिधि र राजनीतिक नेताहरू युगको माग, जनताको चाहानामा जति गम्भीर र जिम्मेवार बन्नुपर्ने हो, त्यो त्यति सजग र होसियार बनेको देखिँदैन । संघीय लोकतान्त्रिक गणतन्त्र सत्तामा पुग्ने भरेङ मात्र होइन । यो जनताको युग हो, जनताभन्दा माथि कोही छैन । सबैलाई चेतना भया ।