Novel Coronavirus, COVID-19
 

सबै कुराका राम्रा र नराम्रा पक्ष हुन्छन् । द्वन्द्वात्मक भौतिकवादले हामीलाई त्यही सिकाउँछ । कोरोना भाइरसले पनि ती दुबै कुरा बोकेर आएको देखियो । चारैतिर कोरोना भाइरस आतंक मच्चिएको समयमा यसका राम्रा कुरा भन्दा अलि असहज जस्तो लाग्छ । तर यो सत्य हो ।

हिजो शुक्रबार, मुसलमानहरूमा जुमेका नमाज अदा गर्ने दिन । तर, कट्टर इस्लामिक देश साउदी अरबको मक्का मदिना मात्रै हैन, इरानका मस्जिदहरूमा पनि प्रार्थनामा नजान अनुरोध गरियो । दक्षिण कोरियामा सिन्चियोन्जी चर्चका प्रमुख ली मान हीले त घुँडा टेकेर माफी मागिसके । हिन्दु, जैन, बौद्ध र यहुदीहरूबाट त्यस्तै घोषणाका आधिकारिक खबर आइसकेका छैनन् ।

अपितु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस बर्ष होली नखेल्ने घोषणा गरिसके । अब आशंकित वा संक्रमित बिरामीहरू भगवान भरोसे वा पशुपतिनाथले रक्षा गर्लान् भनेर कसैले पनि टेकु (सरूवा रोग अस्पताल) जानुको सट्टा पशुपतिनाथको मन्दिर जाने छैनन् । परिवार, टोल-छिमेक र प्रशासन पनि सचेत छ, हुन्छ ।

Narendra Jung Peter
लेखक

रोगव्याधीबाट भगवानले बचाउने आस देखाएर ‘तिम्राभन्दा हाम्रा भगवानले चट्ट निको पार्छन्’ भनेर धर्मको नाममा बिरामीको शोषण गर्ने सामाजिक संस्कारको विरूद्ध मन्दिर, मस्जिद र चर्चमा नियमित पूजा-अर्चना गर्न जाँदा समेत रोग सर्नसक्ने हुनाले त्यसो नगर्न अनुरोध गर्दै सरकारहरू र त्यसमा पनि कट्टरपन्थीको रूपमा चिनिएका समुदायबाटै निर्देशन र पहल गर्नु मानवजातिको इतिहासमा एउटा ठूलो उपलब्धि हो । यो एउटा जागरणसहितको उपलब्धि हो । यो अध्यात्मवादको दर्शनमाथिको ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादको र धार्मिक अन्धविश्वासमाथि विज्ञानको विजय हो । यो वास्तवमा दशकौँसम्म प्रशिक्षण दिएर पनि प्राप्त गर्न नसकिने  वैचारिक रूपान्तरणको उदाहरण हो ।

खानपान, रहनसहन, तडक-भडकप्रति मान्छे सचेत हुन थाल्यो । माहामारीले राजनीतिक सीमा, जाति, धर्म, संस्कार र संस्कृतिमा भेद गर्दो रहेनछ भनेर वर्चश्वशालीले अल्पमतप्रति गर्ने घृणा र आवेगी उत्तेजनाको बदला मनवतावादको आवश्यकताबोध गरायो ।

औषधी, मास्क, टवाइलेट पेपर, स्टेरिलाइजरजस्ता सामान पनि कब्जा गर्ने कालोबजारी धनपिपासुलाई पनि मर्नुपर्छ भन्ने जानकारी गरायो ।

कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या चीनमा करिब ३,०७० पुग्यो भने सो संख्या इरानमा १४७, दक्षिण कोरियामा मृत्यु ४८ र संक्रमित ७,०४१, फ्रान्स मृत्यु ११ र संक्रमित ७१६, स्पेन मृत्यु १० र संक्रमित ५००, जापान मृत्यु ६ र संक्रमित ४३५, अमेरिकामा मृत्यु १७ र संक्रमित ३३५, इटालीमा मृत्यु १४८ र संक्रमित ४,६३६, अस्ट्रेलियामा मृत्यु २ र संक्रमण ६३ पुगेको छ । यसबाहेक संक्रमितहरू अफगानिस्तान ४, अल्जेरिया १७, एन्दोरा १, अर्जेन्टिना ८, आर्मेनिया १, अष्ट्रिया ६६, अजरबैजान ३, बहराइन ५६, बेलारुस ६, बेल्जियम १०९, बोस्निया ३, ब्राजिल १३, कम्बोडिया २, क्यामरुन १ र क्यानडा ५१ रहेका छन् । शंकास्पद बिरामीहरू भारतमा ३० छन् । संसारभरि संक्रमितहरूको संख्या १,०४,१०२ पुगेको छ भने मृत्यु हुनेको संख्या ३,५२६ पुगेको छ। कोरोना भाइरसको संक्रमण अहिलेसम्म ७० देशमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले संकटकाल (इमर्जेंसी) घोषणा गरिसकेको छ । कोरोनाबाट चीनपछि इसाई हेडक्वाटर भ्याटिकन सिटी रहेको इटाली सबैभन्दा अक्रान्त छ।

शक्ति र धनले मात्रै सुरक्षित हुँदैन । ‘मर्नुपर्नेहरू केवल असहाय र गरिब मात्रै हुन्’ भन्ने कुरा झुठो साबित गर्‍यो । शक्ति राष्ट्रहरू पहिला तमासा हेरेका थिए । अहिले भने उनकै आँगनमा पुगिसक्यो । पश्चिमाभूमिलाई स्वर्ग र सुरक्षित सोच्नेहरूलाई आफ्ना सोच फेर्न विवस गराउँदै गयो । स्वास्थ र शिक्षा बेलगाम तरिकाले बजारलाई छोड्दा आउने महासंकट कस्तो हुँदोरहेछ ? भनेर पुनर्विचार गर्नुपरेकाले मानव समाजलाई वास्तविक लोककल्याणकारी राज्य (समाजवादी) अपरिहार्य छ भन्ने फेरि प्रमाणित गर्‍यो । यो अर्को उपलब्धि हो ।

(लेखक वामपन्थी विश्लेषक तथा साम्राज्यवाद विरोधी मोर्चा, नेपालका संयोजक हुनुहुन्छ -सम्पादक।)