अहिले हामीले कृषि व्यावसायीकरण अभियान सुरु गरिरहका छौँ । इजरायली प्रविधिको खेतीले देशको विभिन्न भाग ढाकिरहेको छ । हामीले ओक्राल्याण्ड बिजिनेस कम्पनी स्थापना गरी देशभर प्रांगारिक (अर्गानिक) खेती गर्ने अभियान सुरु गरिसकेका छौँ । गैरआवासीय नेपालीहरुको सकारात्मक प्रयासबाट श्री युवराज गुरुङको अध्यक्षतामा मुना कृषि कम्पनी समेत सुरु भइसकेको छ । गैरआवासीय नेपाली मध्येकै रबर विशेषज्ञ श्री तिलक भण्डारीले वर्ल्ड स्टार रबर फार्म कम्पनी स्थापना गरेर झापा लगायत तराईका विभिन्न जिल्लामा रबर रोप्ने काम भइरहेको छ । यो व्यापकताकै आधारमा हामी रुग्ण अवस्थामा रहेको गोरखकाली रबर उद्योगलाई पुन सञ्चालन गर्ने प्रयासमा छौँ ।
देशलाई समृद्ध बनाउन कृषि व्यावसायीकरण अभियान सञ्चालनका लागि हामीले ओक्राल्याण्डलाई दर्विलो माध्यम बनाएका छौँ । यसरी हामीले अगाडि सारेको यो अभियानमा देशका राजनीतिक नेता, पार्टी, संघ-संस्था जे-जस्तो हैसियतमा छन्, सबैलाई एकाकार भएर कृयाशील रहन अनुरोध गरिरहेका छौँ । अहिले ओक्राल्याण्डको सञ्जाल देशभर बनिरहेको छ ।
यस अभियानमा आबद्ध हुन देशभरका कृषक युवा बुद्धिजीवी अतुर देखिएकोले पनि हाम्रो यो अभियान सार्थक हुने कुरामा हामी विश्वस्त छौँ । हाम्रो अभियान विश्वव्यापी बनाउने प्रयास अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आइरहेका यस अभियानका अगुवा खेम बिमलीको सक्रियता रहेको छ । उनले यो संस्थाको कार्यालय न्युयोर्कमा सुरुआत गरेर नेपालको सामानको बजार स्थापना गर्ने प्रयास गरिरहेका छन् । यतिमात्र नभएर फ्रान्स, जर्मनी, बेलायत र जापानमा समेत ओक्राल्याण्डको सञ्जाल बनाउन गैर आवासीय नेपालीको सक्रियता रहेकोछ । यो कम्पनी नेपाल लगायत यसको सञ्जाल विस्तार गर्ने क्रममा विदेशी विशेषज्ञहरु समेत सहभागी भइरहेका छन् । यसरी संस्थाको सञ्जाल सञ्चालन भएका देशहरुलाई अर्गानिक बनाउँदै जाने, वातावरण संरक्षण गर्ने, रोजगारी सिर्जना गर्ने, शिक्षा स्वास्थ लगायतका सामाजिक कार्यक्रमलाई उत्पादनसँग आबद्ध गरेर सञ्चालन गर्ने जस्ता बृहत कार्यक्रमहरु सञ्चालन हुने छन् ।
शिक्षा स्वास्थ्य पूर्ण रुपमा निःशुल्क गर्ने र सामाजिक संस्कृतिक क्षेत्रलाइ सबल बनाएर सबै गाउँलाई नमूना गाउँ स्थापना गर्दै जनसमुदायलाई सुरक्षित आवास व्यवस्था गर्ने । त्यस्ता क्षेत्रमा बुद्धको अष्ठमार्ग प्रशिक्षण दिएर नैतिकवान नागरिक बनाउने । भ्रष्टाचारशून्य सार्वजनिक सेवालाई व्यापकता दिने । सहकारी सञ्जाल सबै क्षेत्रमा सञ्चालन गर्ने र सबै नागरिकलाई सहकारीमा आबद्ध गर्ने । यसरी आबद्ध भइसकेका सहकारीलाई नै आधार बनाउँदै उत्पादनशील क्षेत्रमा नेतृत्व गर्ने परिपाटी स्थापित गर्ने र राजनीतिक प्रणालीलाई नै सुलभ र मितव्ययी निर्वाचन प्रणालीबाट नेतृत्व चयन गर्ने व्यवस्था सहकारीकै माध्यमबाट स्थापित गर्ने एकीकृत अभियान यो ओक्राल्याण्डको हो ।
उत्पादन कार्यक्रमबाट सबै गाउँ नमूना गाउँमा परिणत हुन सकून् । एक देशका मात्र नभएर संसारकै मानव समुदाय एकरुपताका साथ समृद्ध बनून् । नेपाल एकमात्र हिमाली देश भएको र यहाँ भएका जडिबुटी, हिमाली क्षेत्रका फलफूल, वनस्पतिजन्य घरेलु उत्पादन, यहाँका विविध जातिको जनवारको आकर्षण लगायतले विश्वमा नेपाल एउटा सिंगो विश्व विद्यालयको रुपमा स्थापित होस् र यसै देशमा विश्वका बौद्धिक समुदाय, विद्यार्थी लगायत अध्ययन-अनुसन्धान गर्नेहरुको अध्ययन र अनुसन्धान क्षेत्र नेपाल बन्न सकोस् भन्ने हाम्रो अभियानको हो । यो अभियानले नेपालको हिमाली उत्पादन संसारभर सञ्जाल स्थापना गरेर विक्रि गर्ने । यसरी उत्पादन क्षेत्रको सक्रियता हुँदैगर्दा युवाहरुका लागि रोजगारी स्वदेशमै प्रशस्त हुने र कार्यक्रमको विस्तार हुने क्रममा कामदारको अभाव रहेमा विदेशी युवाहरुलाई समेत रोजगारीको अवसर दिनसक्ने गरी नेपाललाई विकास गर्ने पनि हाम्रो लक्ष्य हो ।
देशमा उर्जाको विकास गर्ने, नवीकरणीय उर्जाको प्रयोगबाट नदीको पानी प्रत्येक बिहान डाँडा-डाँडामा तानेर सिँचाइ गर्ने जसले गर्दा प्रत्येक डाँडाकाँडा हराभरा हुनसक्ने छन् । यसका साथै सिञ्चित भइसकेपछि हरेक डाँडाकाँडा उर्वर बन्न सक्छन् । यसरी विकसित उर्वर अवस्थामा सार्वजनिक वनजंगल क्षेत्रमा समेत जडिबुटी, बेसार, अलैँची, टिमुर र विभिन्न खालको आन्तरिक उत्पादनहरुको प्रयोगबाट आम्दानी लिनसक्ने गरी सबै क्षेत्रको सदुपयोग गर्ने पनि ओक्राल्याण्डको अभियान हो ।
विद्युतको पर्याप्त उपलब्धताले डाँडा काँडामा सडक सञ्जालभन्दा पनि रोप वे तथा केबुल कारले जोड्ने र यसै माध्यमबाट सबै क्षेत्रको उत्पादन बजारसम्म पुर्याउने व्यवस्था मिलाउन सकिने भएकोले यस्तो सञ्जाल तयार गर्न सरकार र प्रत्येक प्रदेश सरका र स्थानीय स्तर समेतलाई सक्रिय बनाउन हामी क्रियाशील रहेका छौँ ।
प्रत्येक गाउँमा आपूर्ति केन्द्र स्थापना गरी घर-घरमा उत्पादन भएका वस्तुहरु खरिद गर्ने, संकलन गर्ने र उत्पादकलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराउने व्यवस्था मिलाउने जस्ताकाममा ओक्राल्याण्ड केन्द्रित रहने छ । साथै देशभर उद्यमशीलता विकास केन्द्र स्थापित गरी सबै उमेरका सक्रिय नागरिकलाई तालिम प्रदान गर्ने र प्रत्येक व्यक्तिलाई सहर्ष उत्पादन कार्यक्रममा आबद्ध गराउने कार्यक्रम सञ्चालन गर्ने यो अभियानले प्रयास गरिरहेको छ । यसरी सबै मानव समुदाय समान रुपमा समृद्ध भइरहेपछि बुद्धको जन्मभूमि नेपालबाट विश्वशान्तिको अभियान सञ्चालन गरिनेछ । यसरी विश्वशान्ति अभियानबाट युद्ध, काटमार हुने क्रम बन्द गरेर दिगो शान्ति स्थापना गर्न सबैलाई सक्रिय राख्ने ओक्राल्याण्डको कार्यक्रम हो ।
हामी यो देशलाई भ्रष्टाचार लगायत सबै खाले विकृतिलाई निर्मूल गर्ने अभियानमा छौँ । यति मात्र नभएर ओक्राल्याण्ड अभियान सञ्जाल बनिरहेका देशहरुलाई समेत भ्रष्टाचार मुक्त राख्ने र सबैखाले विकृति निराकरण गरेर शान्त र समृद्ध समाजको नमूना गाउँ स्थापना गर्ने ओक्राल्याण्ड अभियान हो । हामी विश्वशान्तिको अभियानमा छौँ । शान्तिको आधारभूमि सामाजिक समृद्धि हो । यो समृद्धिको कर्मरेखा हामी लुम्बिनीबाट निर्धारण गर्ने लक्ष्यका साथ क्रियाशील छौँ । बुद्धभूमि लुम्बिनीलाई प्रेम गर्ने विश्व समुदायले आफ्ना बालबच्चाको जन्मथलो बनाउने चाहना राखिरहेको पाएकोले हामी लुम्बिनीमा जन्मकेन्द्र अथवा (Birth Centre) बनाउने प्रयासमा छौँ ।
राष्ट्रिय समृद्धिका लागि अन्तर्राष्ट्रिय अभियान सञ्चालन सानो कुरा भएन । तर पनि केही बुद्धिजीवी भन्नेहरुको लागि यो गफ हुन सक्छ । तर हामी हिम्मतका साथ आफैभित्र उर्जाशील सौर्यसहितको ताकत समर्पण लिएका निर्माण अभियन्ताका लागि जसले जे भने पनि हामी मतलब राख्दैनौँ किनभने हामीलाई यो राष्ट्र समृद्ध बनाउनु छ । यो देशका जनतालाई सुखी बनाउन उत्पादनमा क्रियाशील राख्नुछ । यस काममा हामीलाई उद्यमी व्यवसायी तथा समाज सेवाका एक शिखर पुरुष श्री अजेय सुमार्गीले आफ्नो भवनमा ‘थाहा पुस्तकालय तथा अन्तर्राष्ट्रिय अनुसन्धान प्रवर्द्धन केन्द्र’ स्थापना गरेर साथ दिइरहेका छन् । यो संस्थाको सञ्चालनमा म लेखक स्वयंले जिम्मेवारी लिएको छु । एउटा व्यापारीले यति ठुलो त्याग गर्नुलाई सानो योगदान मानिरहेको छैन ।
यो अभियानको सान्दर्भिकताका लागि दोश्रो विश्वयुद्धको समाप्तिपछि विश्व पुनःनिर्माणको अभियानको रुपमा सञ्चालन गर्नुपर्ने अवस्थामा स्थापित ‘मार्शल प्लान’लाई सम्झनु पर्छ । यही मौका छोपेर अमेरिकाका चतुर तत्कालीन विदेश मन्त्री जर्ज मार्शलले पुनःनिर्माणको योजना बनाएर यो योजनाको बारेमा सन् १९४७ जुनमा हार्वड विश्वविद्यालयमा आफ्नो महत्त्वपूर्ण भाषण पनि दिए । आखिर उनकै योजना अनुसार अमेरिकाले दोश्रो विश्वयुद्धपछि ध्वस्त भएको युरोपका संरचनाको निर्माण तथा उद्योग व्यवसायको पुनःस्थापनाका लागि सहयोग दिएको हो । यसरी यो योजना सन् १९४८ मार्च १३ मा सिनेटबाट र सोही वर्षको मार्च ३१ मा कार्यक्रमले पूर्ण रुपमा राजनीतिक स्वीकृति प्राप्त गरेको हो । यसै योजनालाई तत्कालीन राष्ट्रपति हेनरी एस ट्रुमेनले अप्रिल ३, १९४८ मा दस्तखत गरेपछि लागू भएको थियो । यो योजनाअनुसार बेलायतलगायत केही युरोपियन देशहरुले यो यसबाट सहयोग लिए भने तत्कालीन सोभियत प्रभावमा रहेका पूर्वी युरोपका देशहरु र सोभियत संघले यो सहयोग लिएनन् । पूर्वी युरोपको पुनःनिर्माणका लागि भने सोभियत संघले छुट्टै ‘मोलोटोभ योजना’ बनाएर सहयोग गरिरहेको थियो ।
वास्तवमा अमेरिकाले दोश्रो विश्वयुद्धपछि मार्शल प्लानको चलाखीपूर्ण कदमपछि अमेरिकामा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व पुनःनिर्माण तथा विकासको लागि बैंक लगायतका संस्थाहरुको अधिपत्य जमाएर संसारको श्रोत परिचालनको भूमिका लिएकोले त्यस देशले सर्वशक्तिमान अवस्थामा पुग्ने बाटो बनाएको हो । यसै क्रममा अमेरिकी सरकारलाई बौद्धिक रुपमा साथ दिन डग्लास हवाई कम्पनीले अमेरिकी सैन्य शक्तिको प्रवर्द्धनमा सहयोग गर्न सरकारलाई अनुसन्धान तथा सुझाव दिने, देशको आर्थिक संरचना सबल बनाउन र उद्योग व्यवसायलाई सहयोग गर्नुका साथै अन्तर्राष्ट्रियस्तरका संघ-संस्थालाई समेत सल्लाहकारको भूमिकामा रहेर काम गर्ने गरी यो संस्था नाफारहित विश्वव्यापी नीति ज्ञान भण्डार (ग्लोबल पोलिसी थिंक ट्याङ्क) को रुपमा स्थापना गरिएको हो । स्थापनापछि यो संस्थालाई अमेरिकी सरकारले नै वित्तीय सहयोग गर्नुका साथै उद्योगी व्यापारी तथा अन्तर्राष्ट्रिय संघ-संस्थाले यसको सञ्चालनमा सहयोग रहेको छ ।
यसैको सम्झना दिलाउने खालको संस्था स्थापना गर्न समाजसेवी तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त उद्यमी श्री अजेयराज सुमार्गीले थाहा पुस्तकालय तथा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना गरेका छन् । यसरी स्थापित पुस्तकालयलाई हामीले अमेरिकाको र्याण्ड कर्पोरेशनकै स्तरमा सरकारलाई बौद्धिक खुराक दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा-सम्मेलन गराउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातीप्राप्त उद्यमी, व्यवसायी तथा विद्वानहरुलाई सम्मान प्रदान गर्ने जस्ता कामबाट नेपालको मात्र नभएर विश्वकै गरिवी निवारणका लागि रोजागारीका अवसर प्रशस्त गर्दै वातवरणीय संरक्षणमा विद्यमान स्रोत परिचालन जस्ता विविध कार्यक्रम लिएर यो संस्था-सञ्चालन गर्ने जमर्को गरिरहेका छौँ ।
अहिलेको अवस्थामा सुमार्गीको जडिबुटी अनुसन्धानमा सक्रियता र कृषि व्यावसायीकरणमा ग्रामीण कृषकहरुलाई प्रोत्साहित गर्ने कार्यक्रमबाट समेत हामी हौसिएका छौँ । यिनै सुमार्गीमाथि चौतर्फी आक्रमणको बाबजुद भूकम्पबाट पीडित जनतालाई राहत व्यवस्थापनमा अरबौँ खर्चेर १८ जिल्लाका पीडित जनताको घरदैलोमा पुग्ने अग्रसरता थियो । यसका साथै कोभिड-१९ को समस्यामा परेका मजदुरहरुलाई राहका लागि आफ्नो व्यावसायिक केन्द्र ‘अल इन वन मार्ट’बाट सयौँ टन दाल-चामल वितरण गर्ने काम समेत गर्नुले सुमार्गीको सुमार्ग अझ फराकिलो बनेको छ । यद्यपि एउटा व्यापारीले यति ठुलो योगदान गरिरहँदा सरकार कहाँ छ र यस्ता व्यवसायीलाई सरकारले कस्तो व्यवहार गरिरहेको छ भन्ने कुरा सोच्नुपर्दा यो सरकारलाई विचरा सरकार भन्नु बाहेक अरु के सकिएला र ?
यिनै सुमार्गी हुन् जसले पशुपति क्षेत्रमा झण्डै १० करोड खर्चेर भव्य भवन बनाएर कोषलाई हस्तान्तरण गरे । भक्तपुर तेलकोटको जंगललाई झण्डै बृन्दावनको स्वरुप दिन श्रीवन नामाकरण गरी भव्य धार्मिक पर्यटकीय स्थल निर्माण गरे । नवलपरासीको त्रिवेणीधाम, वागलुङको पञ्चकोट तथा म्याग्दीको गलेश्वरदेखि मुस्ताङको मुक्तिनाथसम्मको मन्दिर क्षेत्र परिसरको सुधारमा सुमार्गीको योगदान अतुलनीय छ । भन्न मन लाग्छः अहिले मृत राजतन्त्र फर्काएर राजा हुन्छु भन्दै हिँड्ने धनी व्यापारी ज्ञानेन्द्र शाहको समेत यस्तो कुनै उल्लेखनीय काम देखिँदैन । तर पनि उनी राजा हुने रहर अझै बोकिरहेका पाइन्छन् । उनको तुलनामा बरु उपेन्द्र महतोले पशुपतिमा किरियापुत्रीका लागि भवन बनाएर केही योगदान त गरे नि ।
अजेय सुमार्गी यो राष्ट्रका सच्चा सेवक हुन् भन्ने कुरा उनले देहरादुनको नालापानी ऐतिहासिक किल्लामा रहेको वीर बलभद्र कुँवरको स्मारक संरक्षणका लागि त्यस क्षेत्रमा संरक्षण समिति नै बनाएर आर्थिक सहयोग गरिरहेका छन् । के यो कुरा सानो हो र, यो उदारताको हामी सँधै अवमूल्यन गर्ने गर्छौँ ? उद्यमी व्यवसायीलाई निराश बनाउने मात्र गरिरहँदा देश बन्दैन । देश बनाउन हामीले सञ्चालन गरिरहेका कृषि आधुनीकरण ओक्राल्याण्ड अभियान लगायत नमूना गाउँ विकास कार्यत्रममा सरकारको साथ र सहयोग रहनु पर्छ । यस्तै अजेय सुमार्गी, उपेन्द्र महतो, विनोद चौधरी, पशुपति शमशेर, जीवा लामिछाने, शेष घले, भवन भट्ट, चन्द्र ढकाल लगायतका व्यापारीलाई उचित कदर गरेर देशको औद्योगीकरणमा लगानी गर्न प्रोत्साहित गर्ने र यिनीहरुकै माध्यम बनाएर अन्तर्राष्ट्रिय संघ-संस्थाबाट जनहितका आवश्यक क्षेत्रमा लगानी भित्र्याउने वातावरण दिने बित्तिकै यो देशका धेरै समस्याको समाधान हुन्छ । यसर्थ अब सरकारले उद्यमी, व्यापारी, धार्मिक संघ-संस्थाका गुरुहरु, हिमाली, पहाडी तथा तराई क्षेत्रका जातजाति, धर्म -संस्कृतिका बहुआयामिक आधारभूमिलाई लिएर राष्ट्रको सम्पन्नताका लागि क्रियाशील हुनुबाहेक अर्को विकल्प छैन ।
अहिले देश बनाउन हामीले केही महत्त्वपूर्ण अवधारणा अघि सारेर यहीअनुसार क्रियाशील पनि छौँ । हाम्रा कार्यक्रमः
१. नमूना गाउँ विकास कार्यक्रम,
२. उद्यमशीलता विकास कार्यक्रम,
३. तराई विशेष सामाजिक सुरक्षा तथा विकास कार्यक्रम,
४. पुनःनिर्माण तथा पूर्वाधार विकास बैंकको स्थापना र सञ्चालन,
५. गाउँ सहर विकास तथा सामाजिक सुरक्षा कार्यक्रम,
६. सहकारीको माध्यमबाट ओक्राल्याण्ड, नयाँ प्रविधिका कृषि तथा स्रोत परिचालन र आय बृद्धि अभियान,
७. प्राकृतिक संपदा संरक्षण तथा सार्वभौमिकताको रक्षा तथा बुद्धको शान्ति भूमिबाट विश्वशान्ति तथा समृद्धिको कार्यक्रम,
यी विविध कार्यक्रमलाई हामी मूर्तरुप दिएर नेपाललाई सिङ्गो विश्वविद्यालयको स्वरुप दिन खोजिरहेका छौँ । हाम्रो कार्यक्रममामा सबैको साथ रहोस् । यो कोभिड-१९ को महामारीबाट शिक्षा लिँदै समृद्धिको अभियानमा सबै एकजुट भएर लागौँ ।
(लेखक विकास अर्थशास्त्री तथा कृषि विकास बैंकका पूर्वउपमहानिर्देशक हुनुहुन्छ ।)
























