IMCWM, कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको अन्तर्राष्ट्रिय बैठक
 

आजभन्दा ७ वर्ष अघि २०१३ को नोभेम्बर ८ देखि १० सम्म विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरुको १५औँ अन्तर्राष्ट्रिय बैठक पुर्तगाल (पोर्चुगल) को राजधानी लिस्बनमा सम्पन्न भएको थियो । त्यस बैठकमा विशद छलफल गरिएका महत्त्वपूर्ण र सान्दर्भिक विषय वस्तुहरुमा पुँजीवादको गहिरिँदो संकट, श्रमजीवी वर्ग र कम्युनिस्टहरुको भूमिका, श्रमजीवी वर्ग तथा जनताका अधिकारहरुका निम्तिको संघर्षका विभिन्न कदमहरु, साम्राज्यवादको आक्रमण र अन्तर्राष्ट्रिय शक्तिहरुको पुनर्संयोजन, राष्ट्रिय प्रश्न, तथा वर्गीय मुक्ति र समाजवादका लागि संघर्ष जस्ता वर्तमान विश्वका अत्यन्तै महत्त्वका अन्तर्राष्ट्रिय विषयहरु थिए ।

विश्वका ६१ देशका ७७ पार्टीहरु सहभागी भएको त्यस बैठकमा विभिन्न कारणले सहभागी हुन नसकेका थप १४ पार्टीहरुले शुभकामना पठाएर त्यो महत्त्वपूर्ण बैठकको सफलताको कामना गर्दै ऐक्यबद्धता जनाएका थिए । बैठकले अरु पनि महत्त्वपूर्ण विषयमा छलफल गर्नुका साथै पुँजीवादको अझ गहिरिँदो संकट र विश्वस्तरका शक्तिहरुको जटील पुनर्संयोजनका कारण उत्पन्न हुने साम्राज्यवादी आक्रमणका बारेमा निकै गम्भीरतापूर्वक र गहन विश्लेषण गरेको थियो ।

यसका अतिरिक्त त्यो संयुक्त विश्व बैठकले विश्वका श्रमजीवी जनताले चलाइरहेको प्रतिरोध र संघर्षलाई उच्च सम्मानकासाथ सलाम गर्‍यो । मुक्ति आन्दोलनको वर्तमान अवस्थाको वास्तविकतालाई ठम्यायो र एकाधिकार तथा साम्राज्यवाद विरोधी वर्तमान आन्दोलनको दिशामा आएको व्यापक परिवर्तन र त्यसले समाजवादी आन्दोलनलाई पुग्ने योगदानको बारेमा पनि चर्चा गरिएको थियो ।

Lok Narayan Subedi, लोकनारायण सुवेदी
लेखक

बैठकले लेहमन बद्रर्सको कंगालीकरणसँगै २००८ उत्पन्न विस्फोटक स्थितिबाट उत्पन्न संकटका बारेमा उल्लेख गर्दै त्यसको प्रकृति र प्रवृत्तिले त्यो संकट पुँजीवादीहरुले भन्ने गरेजस्तो टर्दै र समाधान हुँदै गएको नभई कम्युनिस्टहरुले भनेजस्तो अतिउत्पादन र पुँजीको अति केन्द्रीकरणको संकटकै पुष्टि गरेको औँल्यायो । यो संकटले वास्तवमा पुँजीवादी अन्तरविरोध अझ चर्केको र त्यो पुँजीवादभित्रको उत्पादनको समाजिकीकरणको चरित्र र पुँजीको अतिकेन्द्रीकणको तीव्र अन्तरविरोधलाई नै दर्शाएको प्रष्ट पारेको थियो । यसले पुँजीवादको ऐतिहासिक सीमितता र पुँजीवादबाट समाजवादको विकल्पमा जाने संघर्षको सामयिक विकल्प अर्थ्याएको थियो ।

त्यस बैठकले मुख्य साम्राज्यवादी शक्तिहरुको ठूलो पुँजी र तिनको अन्तर्राष्ट्रिय र केन्द्रित राष्ट्रइतर संरचनाको सम्यताको विकासले दिएका सामाजिक, आर्थिक र श्रमिक अधिकारहरुमाथिको हस्तक्षेपकारी कटौती गरेर जनताको जीवनयापन र जीवनस्तरमा पारिरहेको गम्भीर संकट यसरी जनता र राष्ट्रको स्वाधीनता र स्वतन्त्रतामाथि गरिँदै गरेको युद्धको घोषणाको भर्त्सना गरेको छ । यो बैठकले खासगरी पुँजीवादका यस्ता कदमले विकासशील देशहरुका बहुसंख्यक जनसाधारणमाथि थोपर्दै लगेका गलत कदमहरुको उल्लेख गर्दै तिनका आर्थिक सामाजिक अधिकार कटौती गरिएको कुरालाई विशेष उल्लेख गरेको थियो ।

त्यस संयुक्त बैठकले मुख्य साम्राज्यवादी शक्तिहरु र नेटोको बढ्दो सैनिकीकरण, युद्ध पिपासा र अरु देशहरुको सार्वभौमिकता र अखण्डतामाथिको बढ्दो हस्तक्षेपको विशेष उल्लेख गर्दै यसले दमनकारी शक्तिहरु संगठित हुँदै र आक्रमणलाई बढाउँदै लगेको र त्यसबाट पुँजीवादमा आएको संकटलाई अर्कोतिर मोड्ने असफल प्रयास गरिरहेको यथार्थ औँल्याएको छ र यस क्रममा विकासशील र अल्पविकसित देशहरुका श्रोत साधनलाई एक वा अर्को किसिमले नियन्त्रण गर्ने बाटो लिएको दर्शाएको छ । यस स्थितिले गर्दा सामाजिक र जनक्रान्ति विश्वव्यापी रुपमा पुनः टड्कारो बन्दै जाने प्रष्ट पारेको थियो ।

साम्राज्यवादी प्रभाव, दवाव र हस्तक्षेपका यस्ता घटना विरुद्ध चलिरहेका र विकसित हुँदै गएका विश्वभरिका आन्दोलनहरुप्रति ऐक्यबद्धता जनाउदै सहभागीहरुले शान्ति, सामाजिक समृद्धि, राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथिको दख्खल हस्तक्षेपको जोड्दार विरोध जनाउनुका साथै पुँजीवादको यो चौतर्फी वर्वताका विकल्प फेरिन वैज्ञानिक समाजवाद नै हो भन्ने कुरा औँल्याएका थिए । यस क्रममा उनीहरुले पुँजीवादी एकातिधार, शोषण र जनविरोधी वर्वरताका विरुद्ध विश्वभरिका श्रमजीवी जनता तिनका सहयोगी सबै तह र तप्काका मित्र शक्तिहरुको मोर्चा र एकतामा आवश्यकता अझ बढ्न गएको औँल्याउँदै उनीहरुका श्रमजीवी जानताका सबै तह र तप्का हक, हित खासगरी रोजगारी, श्रम तथा सामाजिक अधिकार तथा राज्यहरुको सामाजिक भूमिकाका पक्षमा सर्वाधिक जोड दिएका थिए ।

सहभागी सबैले त्यस बैठकमा मूलतः साम्राज्यवादी दख्खल हस्तक्षेपका विरूद्ध र खासगरी मध्यपूर्वका जनताको संघर्षप्रति ऐक्यबद्धता जनाए भने त्यो क्षेत्रमा भइरहेका सबै किसिमका साम्राज्यवाद विरोधी संघर्ष खासगरी राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय एकताका लागि संघर्ष र विशेषतः इजिप्ट र ट्युनिसियामा चलेका त्यस्ता संघर्षप्रति उच्च सम्मान प्रकट गरेको छ भने त्यस क्षेत्रमा चलिरहेका प्यालेस्टाइनीहरु र सिरियाली जनताको संघर्षप्रति पनि विशेष ऐक्यबद्धता जनाएको थियो ।

एउटा खास ढाँचाभित्रका निरन्तरका प्रतिरोध र शक्तिहरुको एकत्रीकरणका अतिरिक्त विश्वका विभिन्न क्षेत्रमा साम्राज्यवादी हैकम र हस्तक्षेप विरोधी क्रान्तिकारी संघर्षहरुको जुन महत्त्वपूर्ण विकास हुँदै आएको छ । ती संघर्षहरुप्रति पनि बैठकले उच्च मूल्यांकन गर्दै विश्वभरिका कम्युनिस्ट तथा अरु प्रगतिशील शक्तिहरुको खासगरी ल्याटिन अमेरिकी जनताको संघर्षहरुप्रति सम्मान प्रकट गरेको छ र ती संघर्षहरुमा विकसित भएको पारस्परिक सहयोग र ऐक्यबद्धतालाई उल्लेखनीय भन्दै सम्मान जनाएको छ । ती प्रेरणादायी छन् भनेको थियो । सहभागीहरुले क्युवाको प्रतिरोध र यसको समाजवादीकरणका साथै भेनेजुयला र बोलिभियाका जनताको संघर्षलाई पनि सलाम व्यक्त गरेको थियो ।

त्यो बैठकले लोकतान्त्रिक स्वतन्त्रताका लागिको संघर्षहरु, दक्षिणपन्थीहरुको बढ्दो प्रभाव बिरुद्धको संघर्ष, जातिबाद, धार्मिक कट्टरता र पाखण्ड, तथा कम्युनिस्ट विरोधी शक्तिहरुका गतिविधिहरुका विरुद्धको संघर्षको विशेष उल्लेख गर्दै तिनलाई सुदृढ र व्यापक बनाउनुपर्ने आवश्यकता औँल्याएको थियो । यो बैठकले खासगरी युरोपेली महाद्वीपमा भइरहेका विभिन्न सरकार र संस्थाहरुका कम्युनिस्ट विरोधी हर्कत, दमन र अभियानहरुको उल्लेख गर्दै तिनका विरुद्ध कम्युनिस्ट तथा अन्य क्रान्तिकारी जनसमुदायको संघर्षप्रति एकताको भावना जाहेर गरेको थियो ।

विश्वभरिका प्रगतिशील संघर्षहरुका ठोस अनुभवहरुले साम्राज्यवादको बढ्दो दख्खल हस्तक्षेप र प्रभुत्त्व तथा जनतामाथि भइरहेका विभिन्न किसिमका दमन र उत्पीडनका विरुद्धको संघर्षलाई अघि बढाउन र अझ सुदृढ तुल्याउन तथा यसरी विश्व एकाधिकारवादी पुँजीवादका विरूद्धको संघर्षलाई अघि बढाउन सकिने निष्कर्ष निकालेको छ र वास्तवमा समाजवाद नै पुँजीवादी संकटबाट मुक्तिको सही विकल्प हो भन्ने कुराको पुनर्पुष्टि गर्दै तर विगतमा र अहिले पनि समाजवादी सिद्धान्त र व्यवहारका बारेमा जस्तो किसिमले तोडमोड गरिएका छन्, जस्ता गम्भीर गल्तीहरु दोहोर्‍याएका छन् र जसरी समाजवादी आन्दोलनलाई शिथिल र दिशाहीन तुल्याउने खालका गतिविधि भइरहेका छन् । तिनबाट उचित शिक्षा लिएर अघि बढ्न सक्दा मात्र समाजवादका मानवीय, विश्वव्यापी उपलब्धिहरु, समाजवादी प्रणाली र तिनको औचित्यता र आवश्कयताको पुनर्पुष्टि गर्दै अघि बढ्न सकिने आलोचनात्मक सार पनि बैठकले खिचेको छ । बैठकले क्रान्तिको कुनै एउटै मोडेल या नमूना हुँदैन भन्ने उल्लेख गर्दै समाजवादी क्रान्ति, समाजवाद निर्माण र त्यसको व्यवस्थापनमा जनताको भूमिका नै निर्णायक हुन्छ भन्ने कुरालाई विशेषरुपमा दोहोर्‍याएको थियो ।

माथि उल्लिखित निष्कर्षका साथ वर्तमान अन्तर्राष्ट्रिय स्थितिको परिप्रेक्ष्यमा विश्वभरिका कम्युनिस्ट तथा श्रमजीवी जनसमुदायका साथै साम्राज्यवाद विरोधी प्रगतिशील तथा लोकतान्त्रिक शक्तिहरुको ऐक्यबद्धता पारस्परिक सहयोग नै त्यस्तो शक्ति हो । समाजवाद एउटा अजेय विकल्प हो भन्ने कुरालाई चरितार्थ गर्दछ र गर्न सक्दछ भन्ने निष्कर्ष बैठकले निकालेको थियो । यसका लागि निरन्तर विश्वका बदलिँदा गतिविधिहरुलाई हेर्ने, केलाउने, परस्पर यस्ता अन्तरक्रिया गर्ने, विचारहरुको आदान प्रदान गर्ने र क्रान्तिकारी गतिविधिहरुलाई अघि बढाउन हर-तरहले लाग्ने बताइएको थियो । यसका लागि बैठकले विश्व समाजवादी आन्दोलनलाई अघि बढाउन विभिन्न नीति र विभिन्न कदमहरुको अबलम्बन गर्ने तिनलाई व्यवहारमा खरो उतार्ने महत्त्वपूर्ण निर्णय लिएको थियो । ती निष्कर्षहरु आज पनि उत्तिकै सामयिक रहेका छन् ।

(लेखक ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष  तथा किसान नेता हुनुहुन्छ ।)