marxism and post modernism, मार्क्सवाद र उत्तराधुनिकतावाद
 

पेम्पा तामाङ सरको ‘मार्क्सवाद र उत्तराधुनिकतावाद‘ पढेपछि अनुभूतिमा उब्जेका मन्तव्य एवं केही विचारलाई यहाँ प्रस्तुत गर्न चाहन्छु ।

पहिलो, उत्तराधुनिकताले पुँजीवादको समर्थन गर्दछ, उन्मुक्त बजारको विचार दिन्छ । स्पष्ट बुझाइ सहितको प्रष्ट भनाइ । दोस्रो, उत्तरआधुनिकतावाद राजनैतिक व्यावस्था होइन, यो एक विचार मात्र हो । ठिक हो ।

कुनै पनि समाजको आर्थिक सम्बन्ध-संरचना, ठोस भौतिक मूलाधारको रुपमा रहेको बुझिन्छ । उक्त मूलाधार वा अर्थतन्त्र माथि सोही अनुरूपको राजनैतिक व्यवस्था (तन्त्र) पनि खडा हुने गरेको बुझ्न सकिन्छ । अतः उक्त अर्थराजनैतिक प्रणाली (तन्त्र) र त्यसमाथि आधारित सोही अनुरूपको संस्कृति लगायत अन्य यावत विचारधारात्मक उपरिसंरचनाले कुनै पनि समाजको निर्माण हुने ऐतिहासिक तथ्यलाई बुझ्न सकिन्छ ।

इतिहासमा सामन्ती आर्थिक उत्पादन सम्बन्धमाथि आधारित सामन्ती राजनैतिक व्यवस्था र त्यही अनुरूप त्यसमाथि आधारित विचारधारात्मक उपरिसंरचनाका रुपहरुद्वारा निर्मित सामन्ती समाज । त्यस्तै पूँजीवादी उत्पादन सम्बन्धमाथि आधारित पुँजीवादी राजनैतिक व्यवस्था (तन्त्र) र त्यसमाथि आधारित सोही अनुरुपको संस्कृति लगायत यावत विचारधारात्मक उपरिसंरचनाहरुद्वारा निर्मित पुँजीवादी समाज व्यवस्था ।

यसप्रकार हरेक समाजको आ-आफ्नै विशिष्ट स्वरुप संरचना हुने स्पष्ट हुन्छ भने कुनै पनि समाजको अर्थतन्त्र र राजनैतिक तन्त्र एकापसमा अन्तर्सम्बन्धित हुने र फेरि त्यसमाथि आधारित विचारधाराका विविध रुपहरु पनि त्यसरी नै तिनीहरूसित अन्तरसम्बन्धित हुने बुझ्न सकिन्छ।

यस आधारमा भन्न सकिन्छ, उत्तराधुनिकतावाद राजनैतिक व्यवस्था होइन, यो एक विचार मात्र हो । ठिक हो । बरु यो पुँजीवादी आर्थिक उत्पादन सम्बन्धमाथि आधारित राजनैतिक व्यवस्था (तन्त्र)लाई सहयोग अनि समर्थन गर्ने पुँजीवादी विचार हो । अन्तत: जसले पुँजीवादी अर्थतन्त्रलाई नै सहयोग र समर्थन पुर्‍याउँछ ।

तेस्रो , पुँजीवाद र मार्क्सवादको मूल स्वरुपलाई बुझ्न लुकासको प्रसंगको सटिक उठान । (It is not ……….. but the point of view of totality )।

वास्तवमा यो दर्शनशास्त्रको मूल प्रश्नसित सम्बन्धित प्रश्न हो भन्ने लाग्दछ । पुँजीवाद र मार्क्सवाद दार्शनिक रुपले नै दुई भिन्न दृष्टिकोण र प्रणाली हुन् । सम्पूर्ण प्रकृति, मानव समाज र चिन्तनलाई भिन्न दार्शनिक मान्यता, विचार पद्धति, प्रणालीका आधारमा हेर्ने यी दुई समग्र रुपले फरक छन् ।

भिक्टर आफनासयेभले ‘दर्शनशास्त्रको प्रारम्भिक ज्ञान’ पुस्तकमा दर्शनशास्त्रको आजसम्मको इतिहासमा सबैभन्दा मूल आधारभूत प्रश्न भनेको भौतिक वस्तु वा चेतना यी दुईमा कुनलाई मूल वा प्राथमिक मान्ने भन्ने प्रश्न प्रमुख रहेको उल्लेख गरेका छन् ।

भौतिक वस्तु, प्रकृतिलाई मूल मानेर चेतनालाई त्यसैको परावर्तन, त्यसैबाट उद्भूत भएको मान्नेहरु भौतिकवादी भए भने चेतनालाई मूल प्राथमिक मानेर वस्तुलाई चेतनाबाट उद्भूत भएको मान्नेहरु अधिभौतिकवादी, अधिभूतवादी, अध्यात्मवादी, आदर्शवादी पनि जसलाई भन्ने गरिए ।

दर्शनशास्त्रको आधारभूत प्रारम्भिक महत्त्वको मूल प्रश्नमा बाह्य भौतिक जगत, प्रकृति, वस्तु, यथार्थलाई मुख्य र प्राथमिक मानेर चेतनालाई वस्तुको परावर्तन मान्ने हुँदा मार्क्सवादीहरु भौतिकवादी भए भने त्यसको ठिक विपरीत चेतनालाई वस्तु, यथार्थको मूल स्रोत र प्राथमिक मान्ने हुँदा पुँजीवादीहरु अधिभूतवादी भए ।

यसरी जे जति विचारहरु भनिए तापनि अन्ततः तर विचारको रुपमा यी दुई विचार नै मूल रहेको संश्लेषण मार्क्सवादका प्रवर्तकहरुले गर्दै आएका छन् । आधुनिक विज्ञानको प्रगतिमा दर्शनले खेलेको महत्त्वपूर्ण भूमिकाको सन्दर्भमा कान्टको उल्लेखनीय भूमिकाको उल्लेख गर्दै पछिबाट तर तिनी अज्ञेयवाद हुँदै रहस्यवादमा फस्न पुगेको सन्दर्भ दर्शनशास्त्रको मूलभूत प्रश्नकै सन्दर्भमा बुझ्नुपर्ने कुरा ऐङ्गल्स, लेनिनले औँल्याएका छन् ।

साहित्यको सन्दर्भमा मार्क्सवादी सौन्दर्यशास्त्र र गैरमार्क्सवादी सौन्दर्यशास्त्र भन्नाले अधिभूतवादी सौन्दर्यशास्त्रको मूल भिन्नताको सन्दर्भमा पनि यही तथ्यको रूपमा बाह्य वस्तु यथार्थलाई मूल मान्ने कि लेखकीय मनोगत चेतनालाई मूल मान्ने भन्ने प्रश्नले नै साहित्य-कला र सृजनाका विविध रुपहरुमा यथार्थको सटिक प्रतिविम्बन कति, कसरी र कुन रुपले भन्ने मूल प्रश्नलाई नै अनुभूत गर्न सकिन्छ ।

साहित्य कलाको सन्दर्भमा यथार्थको मनोगत, रुमानी चित्रणको समस्या यही प्रश्नसित सम्बन्धित छ भन्ने लाग्दछ । मार्क्सवाद र मार्क्सवाद विरोधी राजनैतिक विचारको सन्दर्भ, यसका साथै मार्क्सवादको नाममा भ्रम दिने संशोधनवादको विचारलाई समेत दर्शनशास्त्रको यही आधारभूत मूल मान्यताको प्रश्नको रूपमा बुझ्न सकिन्छ ।

तथापि भौतिकवादको विचारलाई मूल मान्ने भए तापनि निरपेक्ष, यान्त्रिक भौतिकवादको विचारलाई भने मार्क्सवादले स्विकार्दैन । सम्पूर्ण प्रकृति, मानव समाज र चिन्तन प्रक्रियालाई यसले निरपेक्ष, यान्त्रिक, अलगअलग, अंशका रुपमा नभएर, समग्रमा, निरन्तर परिवर्तनशील, गतिशील यथार्थको रुपमा विकासको प्रक्रियामा एकाअर्कासित सम्बन्धित सापेक्ष अन्तर्सम्बन्धित रुपमा बुझ्दछ ।

भौतिक वस्तु र चेतनामा मूल भौतिक वस्तुलाई माने । तैपनि वस्तुको विकासमा चेतनाको सक्रिय प्रभाव र प्रतिक्रिया साथै विशिष्ट स्थितिमा चेतनाको विशिष्ट भूमिकालाई यसले स्वीकार्दछ । यसरी चीजहरुलाई गतिशील यथार्थ र सापेक्ष सम्बन्धका रुपमा बुझ्ने द्वन्द्ववादी दृष्टिकोणका कारण सटिक रुपमा द्वन्द्वात्मक भौतिकवादको दृष्टिकोण, दार्शनिक मान्यता र प्रणाली नै मार्क्सवादी विचारको रुपमा बुझ्न सकिन्छ ।

चौथो, जेस्टाल्टवादी मनोविज्ञान र ल्योतार्डको उत्तराधुनिकताको महाख्यानमा अविश्वासको प्रसंग ।

पुँजीवादले समाजलाई भन्दा व्यक्तिलाई प्राथमिकता दिन्छ भने मार्क्सवादले व्यक्तिलाई भन्दा बढी समाजलाई महत्त्व दिनेकुरा ठिक हो । तथापि मार्क्सवादले व्यक्ति र समाजको सम्बन्धलाई पुँजीवादले जस्तो निरपेक्ष एकाअर्काका विरोधाभाषी रुपमा नभएर एकाअर्कासित अन्तर्सम्बन्धित सापेक्ष सम्बन्धका रुपमा बुझ्द्छ । समाजलाई व्यक्तिहरु कै हित, प्रगतिका लागि महत्त्व दिने गर्दछ । समाज व्यक्तिहरुको उत्पादनमूलक गतिविधिको आवश्यकता र प्रक्रियामा व्यक्तिहरुको सापेक्ष सम्बन्धमा वस्तुगत लगायत सचेत प्रक्रिया र संगठित प्रयासको परिणाम स्वरुप समाज जन्मिने र त्यही प्रक्रियामा त्यसको विकास पनि हुने मान्यता राख्दछ ।

पुँजीवादमा भने व्यक्ति र समाजको सम्बन्ध निरपेक्ष, विरोधाभाषी हुने तथ्यलाई अहिले देखिएको COVID-19 को वैश्विक प्रकरणले पनि छर्लङ्ग बुझाइदिएको छ ।

पुँजीवादमा “व्यक्तिको हित सर्वोपरि” भन्ने गरिए तापनि असलमा यो निजी सम्पत्ति, पुँजी हुने केही मुठ्ठीभर व्यक्तिहरुको हित मात्र पुँजीवादमा सर्वोपरि हुने कुरा वर्तमान महामारी प्रसंग लगायत पुँजीवादको आजसम्मको इतिहासमा बारम्बारको मानव दुर्दशा एवं संघातले सर्वोपरि तथ्यका रूपमा जगजाहेर भइसकेको छ ।

निजी पुँजी/सम्पत्तिमाथि आधारित पुँजीवादी वैश्विक अर्थतन्त्र Market Economy बजारवादी व्यवस्थाको वैश्विक संकट, वैश्विक महामन्दी महामारी विगत समयदेखि सिंगो वैश्विक समाजले भोग्नुपरेको वर्तमान अकल्पनीय परिदृश्य लगायतले पुँजीवाद सामन्य व्यक्ति र व्यक्तिको सामन्य हितको मात्र विरोधी नभएर अपितु व्यक्तिको नैसर्गिक आधारभूत हितहरुको समेत विरोधी रहेको तथ्य परिघटनाहरुले पुष्टि गरिदिएको छ ।

पुँजीवादी उत्पादन व्यवस्थामा पुँजी उत्पादन निर्माण गर्ने उत्पादक शक्ति, श्रमजीवी जनता समेत अझ धेरै सबैभन्दा बढी बेहाल हुनुले यसले हरेक चीज, वस्तु, घटना, प्रक्रियालाई निरपेक्ष एकांगी, यान्त्रिक, विरोधाभाषी र निरपेक्ष अन्तरविरोधी रुपमा बुझ्ने यसको अधिभूतवादी चिन्तन नै मूलमा बुझ्न सकिन्छ ।

ठिक यही कुरा महाख्यानमा अविश्वास गर्ने महासिद्धान्तको अन्तको घोषणा हुँदै अन्तत: विचारको अन्तको घोषणा गर्दै कला-साहित्यको विधागत विशिष्ट अस्तित्व लगायत सिंगो कला-साहित्यकै विशिष्ट स्वरुप एवं जीवन्त अस्तित्वमाथि नै शंका र अविश्वास प्रकट गर्ने उत्तराधुनिकतावादी विचारको दुर्नियति र दुर्नियत दुवै बुझ्न सकिन्छ । जसलाई कुनै आकस्मिकता एवं संयोग नभएर स्पष्ट कारणहरु सहित बुझ्न सकिन्छ ।

१८औँ शताब्दी पुँजीवादको उदयताका विकासको प्रगतिशील परिस्थितिमा साहित्य, कला र सृजनाका विविध क्षेत्रमा यथार्थवादले ठोस स्वरुप लिँदै साहित्य-कला र समाजको यथार्थ सम्बन्धलाई अझ ठोस, जीवन्त , सजीव र मूर्तरुप दिँदै अभिव्यन्जित गरेको बुझिन्छ ।

यथार्थवादको विकासमा पुँजीवादको यसप्रकारको प्रगतिशील अभिप्रेरक भूमिकालाई नकार्न मिल्दैन । तथापि पुँजीवादको प्रगतिशील चरित्रको अवसानको पतनशील परिस्थितिमा कला-सौन्दर्य चिन्तनको क्षेत्रमा यथार्थ र यथार्थवादी चिन्तनका विरुद्ध निरपेक्ष भावजगत एवं भाववादलाई प्राथमिकता दिन थालेपछि पुँजीवादी अधिभूतवादी साहित्य कलाले यथार्थविरोधी निरपेक्ष व्यक्तिवादी आत्मवादी, रहस्यमय काल्पनिक संसारमा रमाउँदै कला केवल कलाका लागि निरपेक्ष सौन्दर्य र रुपवादी औचित्यको वकालत गर्न थालेको बुझिन्छ ।

यसरी पहिलेदेखि नै वैचारिक संकट भोगिरहेको अधिभूतवादी साहित्यले पुँजीवादको चरम नवउदारवादी साम्राज्यवादी युगको चरणमा आउँदा उत्तराधुनिकतावादले थप विचारको अन्तको पनि घोषणा गर्नु पुँजीवादी वैचारिक संकटको पराकाष्ठा बुझ्न सकिन्छ ।

सामन्य रुपमा साहित्य-कला, कला-सृजना जीवन यथार्थको पुनःरचना, पुनःसिर्जना, कलात्मक प्रतिविम्बन हुन्छ । तर जीवनको अन्त, यथार्थको अन्त परासंसार, परायथार्थ, उत्तराधुनिकतावादी कला-सहित्य सिद्धान्त हुन्छ ।

आख्यान कलाले जीवन यथार्थको पूर्ण ठोस विस्तृत सजीव रोचक जीवन्ततालाई पूर्णताका साथ प्रस्तुत गर्ने हुन्छ । तर जीवनविहीन, यथार्थविहीन कल्पनाको पनि कल्पना यानेकि fiction about fiction अर्थात metafiction आख्यान विरोधी पराख्यान उत्तराधुनिकतावादी कला सौन्दर्यको उत्कर्ष कला हुन्छ ।

अपितु के त्यो सम्भव होला त? जीवन व्यवहार, जीवनबोध, जीवन यथार्थदेखि अलग कल्पना मात्रको अस्तित्व सम्भव हुन सक्छ? मानवीय भाव, कला, सौन्दर्यबोधको इन्द्रियबोध विना सम्भव हुन सक्छ ? वास्तवमा “सबैथोक जे तिमी कल्पना गर्न सक्छौ, वास्ताविक छन् ।” – पाब्लो पिकासोको कुरा सही लाग्दछ ।

यथार्थमा यथार्थको भ्रष्टीकरण, विकृतीकरण, विरुपीकरण र विनष्टीकरण गरेर उत्तराधुनिकताको विचारले असलमा बिम्बहरुको विकृतीकरण र विद्रुपीकरण गरेर कला साहित्य सौन्दर्य कै विरुपीकरण गरेको छ ।

प्रकृतिको सर्वश्रेष्ठ गुण, मेधा, सौर्य, उदात्त, सौन्दर्य सम्पन्न मानवलाई असहाय, क्षुद्र र लघुमानवमा परिणत गर्ने पुँजीवादी व्यवस्था र त्यसैको विकृत र विद्रुपीकृत रुपलाई विकृत बिम्बको माध्यम जस्ताको तस्तै प्रस्तुत गर्नु नै उत्तराधुनिकतावादी साहित्य कलाको परिस्थितिजन्य वाध्यात्मक नियति बुझ्न सकिन्छ । जसले वास्तवमै पुँजीवादको चरम आर्थिक सामाजिक सांस्कृतिक बौद्धिक वैचारिक संकटको अभिव्यक्ति कला साहित्य र सृजनाको क्षेत्रमा गरिरहेको बुझ्न सकिन्छ ।

त्यसो भए पुँजीवादको वैचारिक संकटको हल के हुन सक्छ? मार्क्सवाद? मार्क्सवाद कि पुँजीवाद? नयाँ परिस्थितिमा साहित्य-कला लगायत विविध विचारधारात्मक क्षेत्रमा पनि विविध बहस हुनु जरुरी देखिन्छ ।

पेम्पा सरको मार्क्सवाद र उत्तराधुनिकतावादले वैचारिक बहसको नयाँ आवश्यकताको प्रासंगिकतालाई दुरगामी महत्त्वका साथ त्यसको औचित्यलाई अनुभूत गराएको छ । विषयको गाम्भिर्यता, यथार्थ र ठोस प्रस्तुतिका साथै लेखनको उत्साहवर्द्धक प्रवृत्तिले जिज्ञासु पाठकहरुमा प्रतिक्रियासहित ज्ञान र संवेदना जगाइदिने कलमप्रति आभार व्यक्त गर्नै पर्दछ । उहाँलाई मुरीमरी धन्यवाद ।

(लेखक प्रगतिशील प्राध्यापक  हुनुहुन्छ ।)