केपी, kp oli, kp sharma oli, केपी शर्मा ओली, खड्गप्रसाद ओली,
 

हामी कुनै व्यक्तिको विरुद्ध होइन, विकृतिको विरुद्ध लडिरहेका छौँ । मान्छेको संकुचित सोचले ओली गुटकाले ओलीलाई गाली गरेको भन्छन् भने प्रचण्ड पक्षकाले प्रचण्डलाई चोट पुग्दा खुसी हुँदैनन् । दुवै पक्षभित्र आफ्नै प्रवृत्ति अवश्य छन् । त्यस्ता कुरालाई दार्शनिक विश्लेषणबाट निरुपण गर्नुपर्छ । अनि मात्र निचोडमा पुग्न सकिन्छ र पनि समाजलाई ज्यादै हानी गर्ने प्रवृत्तिप्रति भने कडा प्रहार गर्नुपर्छ । अहिलेको जनआक्रोश देशघाती ओली विरुद्धकै हो ।

समाजमा जे जस्ता कुरीतिले स्थान लिँदै सीमित गुटको स्वार्थमा सर्वसाधारणलाई दमन गर्न राज्यको शक्ति अग्रसर हुन्छ, त्यतिखेर विद्रोहको जन्म हुन्छ । विद्रोह आफै जन्मिने होइन, त्यसको सूत्राधार सरकार नै हुन्छ । यसैक्रममा २०३६ सालको विद्रोहको जिम्मेवार राज्य नै हो र त्यो अवस्थामा भएको क्षतिप्रति तत्कालीन राजसंस्था र पञ्चालयत नै जबाफदेही हुन् । त्यसपछिको विद्रोह २०४६ साल थियो । त्यसका लागि पनि राजसंस्था र पञ्चायत नै जिम्मेवार थिए । यद्यपि यो विद्रोहले परिवर्तनको मोड लिँदा जनताले केही राहतको महसुस गर्न पुगेकोले कम्युनिस्ट-काँग्रेस विद्रोहीहरू सबै थोरै भए पनि सन्तुष्ट देखिन्थे ।

जनआन्दोलन २०४६ उपलब्धिपूर्ण थिएन । यद्यपि पार्टी फुकुवा, बहुदलीय संसदीय शासन प्रणाली, संवैधानिक राजतन्त्र जस्ता कुरामा सर्वश्व नै प्राप्त गरेका छौँ भन्ने काँग्रेसको हातमा पुगेको शासन पनि गिरिजाको बहुलट्ठीपूर्ण व्यवहारले छताछुल्ल हुन पुग्यो । शासनमा पुगे पनि सर्वेसर्वा मै हुँ भन्ने हैसियत बनाएका गिरिजा आफ्नै गलत प्रवृत्तिको शिकार बनेर खुम्चिन पुगे । यस बिचमा असन्तुष्ट रहेका कम्युनिस्टहरूले २०५२ साल फागुन १ गतेबाट सुरु गरेको जनयुद्ध तत्कालीन गलत प्रवृत्तिको विरुद्ध जनतामा लादिएको स्वार्थपूर्ण दमन र अत्याचारको विरुद्ध थियो । दश वर्षसम्मको यो युद्धले अहिले गणतन्त्रको अवस्थामा देश पुगेको छ र यो राजनीतिक प्रणालीलाई नै सिध्याउने र जगेर्ना गर्दै विकसित गरेर अघि बढाउने बिचको नयाँ चरणको द्वन्दमा देश रुमल्लिइरहेको अवस्थामा छ ।

शिव अधिकारी, Shiva Adhikari. Shiba Adhikari, Dari shiba
लेखक

कम्युनिस्ट एकता भयो । बहुमतको सरकार बन्यो । सफलता प्राप्त भएकै थियो । यस अवस्थामा देशको विकास कार्यक्रममा तीव्रता दिनुपर्ने थियो । यद्यपि त्यो हुन नसक्नुमा ओलीको सत्तारोहण नै अहिले बाधक बनिरहेको छ । यसै बिचमा ओलीको राजनीतिक पृष्ठभूमि हेर्दा झापामा उनले गरेको रक्तपातपूर्ण अवस्थाबाटै चर्चामा आएका हुन्‌ ।

चारु मजुम्दारले भारतको नक्सालबाडीमा चलाएको सर्वहारा वर्गको विद्रोहले झापामा स्थान लिन पुगेको थियो । त्यतिबेला झापाका कम्युनिस्टहरू ‘लाखौँका लागि उजाड छ यो देश, मुट्ठीभरलाई त स्वर्ग छ’ भन्ने गीत रातिराति गाउने गर्थे । यसै बिच झापाका कर्ण बहादुर गौतमको २०२८ साल जेठ ३ गते हत्या भयो । यो काण्डमा राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, भोगेन राजवंशी लगायतका युवाहरुलाई २०३० साल फागुन १३ गते अदालतले सर्वस्वसहित जन्म कैदको सजायँ सुनाएको थियो । यसरी झापामा सुरु गरिएको वर्ग शत्रु मास्ने विद्रोहको पहिलो सिकार कर्ण गौतम बनेका थिए ।

वर्ग शत्रु विनाशकै क्रममा २०२९ साल पुस १० गते तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्य धर्मप्रसाद ढकाललाई उनकै हात्ती किल्ला शनिश्चरेमा रहेको घरमै घाँटी काटेर हत्या गरी पञ्चामृत जस्तै गरेर उनको रगत पिइएको थियो भनिन्छ । उनी उद्योगपति पनि थिए र उनको प्रशस्त जमिन पनि थियो । यसरी उनीसँगै उनका माहिला छोरा ज्ञानेन्द्र पनि मारिएका थिए । यो हत्याको अनुसन्धानको क्रममा खड्ग प्रसाद ओली (अहिलेका प्रधानमन्त्री केपी ओली), मनकुमार तामाङ, अमरबहादुर कार्की, अमर अधिकारी, भोगेन राजवंशी, छविलाल राजवंशी, मनकाुमार गौतम , राधाकृष्ण मैनाली, भुसा धिमाल, दधिराम उप्रेती, लाखबहादुर तामाङ, फतराज सतार, लीलादेवी कट्टेल, श्यामदास रेग्मी, ताराबहादुर कालाखेती र रत्नबहादुर कार्कीका साथै मुख्य योजनाकार मोहनचन्द्र अधिकारी विरुद्ध अदालतले कैद र जरिवानाको फैसला सुनाएको थियो ।

वास्तवमा यसै व्यक्ति हत्या काण्डका ज्यानमारा कैदी हुन ओली । उनी जेल परेपछि चौध वर्षसम्म कैद भोग गरेर बसे । उनको कुनै राजनीतिक विद्रोह र आन्दोलनमा योगदान पटक्कै छैन भन्दा त नहोला तर उल्लेखनीय छैन । यसै कारण पनि उनले अहिले पाएको पद भनेको अचानक र अकल्पनीय कुनै भूग्रहले वरदान दिएजस्तै हो र उनलाई लागेको होला भारतलाई महाकाली दिएको मात्र नभएर रअको कर्मचारीको रुपमा काम गरे वापतको वरदान हो ।

अन्यथा छँदा-खाँदाको कम्युनिस्ट एकतालाई भारतीय गुप्तचर निकायका प्रमुख सामन्त गोयलसँग लिपुलेकको कुरै नउठाउने, छापिएको चुच्चे नक्सा नै वितरण नगर्ने गरी सम्झौता गर्ने र नेपालमा एमसीसी ल्याएर चीनविरोधी हर्कत गर्ने समझदारी गर्नु पर्ने थिएन । प्रधानमन्त्रीले गोप्य रुपमा यस्तो समझदारी गरेर राज्यको भूभाग नै भारतीयलाई सुम्पनु जत्तिको घोर अपराध कुनै हुन सक्ला र ?

यस्तो देशघाती काममा लागेका एक अपराधीलाई प्रचण्डजस्तो आफ्नो जिउ-ज्यान युद्धमा होमेर परिवार समेतलाई युद्धमा आहुति गर्न तत्पर, टाउकोको मोल समेत तोकिएको नेताको विरुद्ध बोल्ने आँट कसरी आयो ? त्यो त श्वतः थाहा हुन्छ कि भारतीय उनकै मालिक मोदी, अमेरिकी जासुस सिआईए, युरोपियन युनियन, होली वाइन सबैले यिनलाई हतियार बनाएका छन्‌ । यसर्थ एमालेका इमान्दार नेता तथा कार्यकर्ताले यिनी विरुद्धको संघर्षमा एकाकार हुनु स्वाभाविक भएको छ ।

ओलीलाई प्रधानमन्त्री पार्टीले नै बनाएको हो । सबैको सामूहिक प्रयत्न थियो र उनी कुर्सीमा पुग्न सफल पनि भए तर अहिले उनी आफै प्रधानमन्त्री भएको हो । म पार्टीबाट होइन, अर्कै ग्रहबाट आएर यो पदमा छु भन्ने सोचाइ र सबै विमति राख्नेलाई छुद्रतापूर्वक उछितो काड्ने काम गरिरहेका छन्‌ । यसरी जिम्मेवार नेताले यस्तो हर्कत गर्न मिल्ने कुरा थिएन । आफ्नो मनोमानीप्रति पार्टीको सहमति भएन भनेर विशाल छाती लिएर बनेको एकतासमेत भत्काउने काम ओलीले लिइरहेको प्रधानमन्त्रीको पदबाट हुने कुरा कहिल्यै सुहाउँदैन ।

यहाँ ओलीले जे जति काम गरिरहेका छन् र ताकत देखाइरहेका छन्, त्यो ताकत प्रधानमन्त्रीबाट हटेपछि देखाउन् त ? सकिन्छ ? अहिले एमसीसीसँग तस्करी गर्नुछ, ‘रअ’ को तलब र रिश्वत पचाउनु छ, मोदीको आशिर्वाद प्राप्त छ, होली वाइनको पवित्रताले शुद्ध भएको ठानिएको छ । यसैले हो नि यो चुरीफुरी । तर यो प्रवृत्तिले देश बर्बाद हुन्छ ।

हामीलाई एमसीसी चाहिदैन । पचास अरब केही होइन । यो क्षेत्रमा हामी शान्ति चाहन्छौँ । यो बुद्धको देश हो । बुद्धको देशमा अमेरिकी सैनिक अखडा सुहाँउदैन । चीन जस्तो विशाल मित्रराष्ट्रसँग हामीले सौहाद्रतापूर्वक सहकार्य गर्नुछ । चीनले सारेको ‘बेल्ट एण्ड रोड अभियान’ लाई सफल बनाएर संसारसँग सहकार्य गर्ने मौका चीनले दिइरहेको छ । यो महान अभियानमा सहभागी भएर देशलाई संसारकै नमूना गाउँको नमूना समृद्ध राष्ट्र बनाउनु छ । यसैले अहिलेको विद्रोह आवश्यक भएको हो । कुनै व्यक्तिगत स्वार्थ यो विद्रोहमा देखिँदैन ।

यसैले हामी चीनको विरुद्धको कुनै हर्कत हुन दिदैनौँ । भारतसँग पनि हाम्रो सौहाद्रता रहन्छ । यद्यपि भारतले लिपुलेकबाट सेना हटाउनु पर्छ । सुस्ता र सबै सीमा क्षेत्रमा हडपेका जमिन फिर्ता गर्नुपर्छ । यति मात्र होइन, सुगौली सन्धिपूर्वको अवस्थामा नेपााललाई सुरक्षित रहन भारतले सहयोग गर्नुपर्छ । त्यसपछि भारतीय भूमिमा परिआएका सबै खाले समस्याको समाधान सहकार्यबाटै हुन्छ ।

यो कुरामा ओली अवरोध बनेका छन । भारतीय प्रधानमन्त्रीसँग होइन, भारतीय खुफिया जासुस संस्थाको प्रमुखसवग सम्झौता गर्छन् । के यो गर्न सुहाउँछ ? यसो गरिरहँदा नेपालको ऐतिहासिक राष्ट्रिय प्रतिष्ठा कतिसम्म संरक्षण भयो ? प्रधानमन्त्रीको हैसियत के हो ? प्रधानमन्त्री के ‘रअ’ को कर्मचारी समतुल्य हो ? एजेण्ट हो ? होइन भने त्यो सफेद दस्तखत गरेको कागज होइन भन्नु पर्‍यो । प्रमाणित गर्नुपर्‍यो ।

यस अवस्थामा अहिले प्रचण्डको उचाइ बढेकै हामी पाउँछौँ । जनयुद्ध लडे, सरकारसँग युद्धको घोषणा गरेर लडिरहेको युद्धरत विद्रोहीलाई सरकारमा बस्नेले बोलाएर वार्ताबाट समस्याको समाधान गरेको भए १७ हजार मारिएका जनशक्ति अहिले देशको विकास निर्माणको अगुवाइ गरिरहेका हुन्थे । कोही पनि मर्नुपर्ने अवस्था आउने थिएन । यसको दोष प्रचण्डलाई दिने कि राज्यशक्ति लगाएर विद्रोही मार्न लडाइँ गर्ने सरकारले लिने । यो हत्याको जिम्मेवार त्यस बखतको सरकार ओली, देउवा, गिरिजा, जो जो थिए, ती सबै हुन् । त्यस बखतको जनधनको क्षतिको जिम्मेवार यिनै हुन् । प्रचण्डलाई जिम्मेवार भनेर आफू पन्छिन पाइँदैन ।

ओली आफू चाहिँ घरमा सुतिरहेको मान्छे काट्ने । अनि अरुलाई हत्याराको आरोप लाउने ? सुहाउँछ ? राज्यसत्ताका लागि सबैले बन्दुक उठाएका छन् । विशेश्वरले पनि बन्दुक उठाएकै हुन् । भारु तीस लाख लुटेकै हुन् । अनेकौँ संरचना त्यस बखत पनि ध्वस्त भएकै हुन् । त्यस्तै एमालेले पनि हिंसात्मक झापा विद्रोहबाटै राजनीतिक चर्चा लिन सकेको हो । तर यो समूहले झापा विद्रोह गर्वको कुरा भन्न सकेको पाइँदैन । तर माओवादी जनयुद्धको नेतृत्वले यसलाई महान जनयुद्ध भनिरहेको छ । गर्वका साथ किनभने यो युद्ध उद्देश्यमूलक थियो र यसले राखेका मागहरु युद्धपश्चात स्थापित गर्न सफल भएको पनि छ ।

ओली चटकी मान्छे रहेछन् भन्ने कुरा झापादेखिकै विद्रोहको घटनाबाट पुष्टि हुन्छ । उनी जेल परे तर जेलमा उनी सुरक्षित भए । अहिले १४ वर्षे जेल जीवनको मस्ती लिइरहेका छन् भने उनीसँगै विद्रोहका आरोपितहरुलाई चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ साल फागुन २१ गते झापाको दानबारीस्थित सुखानीको जंगलमा लगेर नेत्र घिमिरे, कृष्ण कुँइकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामानाथ दाहाललाई हत्या गरिएको पीडादायी घटनालाई सिरानी हालेर रमाइरहने मान्छे अहिले ओली नै हुन् ।

यी सबै कारणबाट बुझ्नुपर्ने कुरा भने ओली अपराधी मानसिकताका मान्छे हुन् । प्रण्डका केही गल्ती होलान् तर पनि परिवर्तनको संवाहक भएको नाताले उनी सही छन् र राजनीतिक तथा सामाजिक स्तरबाट सम्मानित पनि छन् । उनी विद्रोहको पनि नेता, शान्तिपूर्ण राजनीतिक अवस्थामा पनि नेता, गणतन्त्रका पहिलो निर्वाचित प्रधानमन्त्री, परिवर्तनका संवाहक हुन् । उनलाई दिनुपर्ने जसमध्ये पार्टी एकता पनि पर्छ । यसरी विद्रोही नेताले आफू उदारतापूर्वक पार्टी एकता गरेको कुरालाई भत्काउन पुग्ने ओलीलाई कुन कुराले सम्मान गर्ने हो ?

अहिले कर्णाली प्रदेशमा भएको ओली गुटको खेल समाप्त भएको छ अथवा पराजित भएको छ । प्रकाश ज्वालाजस्ता हिम्मतिला व्यक्तित्वले ओलीको षड्यन्त्रलाई च्यातचुत पारिदिएका छन् । यसैले प्रकाश ज्वाला लगायतको विद्रोह गर्ने हिम्मत भएका चारैजना सांसदलाई सम्मान गर्दै विश्वासको मत लिन सफल भएको र केपी प्रवृत्तिलाई दह्रो झापड हान्न सफल भएकोमा कर्णालीका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हार्दिक वधाई छ ।

(लेखक विकास अर्थशास्त्री तथा वामविश्लेषक हुनुहुन्छ ।)