कमला ह्यारिस ले अमेरिकाको उपराष्ट्रपति निर्वाचन जितेर इतिहास रचेकी छन् । योभन्दा पहिला पनि दुईजना महिलाहरू उपराष्ट्रपतिका उमेदवार थिए तर निर्वाचन जित्न सकेनन् ।
गेराल्डिन फेरारो सन् १९८४ मा र साराह पालिन २००८ मा उपराष्ट्रपतिका उमेदवार थिए । विगतको निर्वाचन २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपति उमेदवार थिइन् । उनले प्रतिस्पर्धी डोनाल्ड ट्रम्पभन्दा २८ लाख बढी मत त ल्याइन् तर अमेरिकी निर्वाचनको इलेक्टोरल कलेज प्रणाली अनुसार पराजित भइन् । यसैको रापतापमा महिलाको भूमिकाको खोजीमा कमला ह्यारिसको चयन भयो र उनले बाजी मारिन् ।
भारतमा नेहरू सरकारको बेला कमलाका मावली हजुरबुवा कूटनीति सेवामा उच्च अधिकारी थिए । छोरी श्यामला गोपालनलाई राम्रो शिक्षाका लागि अमेरिका पठाए । अमेरिकामै श्यामलाको जमैकन मूलका डोनाल्ड ह्यारिससँग मायाप्रीति बस्यो र विवाह बन्धनमा बाँधिए । यसै जोडीबाट सन् १९६४ मा कमला ह्यारिसको अमेरिकामा जन्म भयो ।
भारतीय मूलका धेरै व्यक्तिहरू विभिन्न देशहरूका सरकारमा छन् । प्रियंका राधाकृष्णन न्युजिल्याण्डमा मन्त्री छिन् । बेलायत सरकारमा ऋषि सुनक, प्रीति पटेल र आलोक शर्मा मन्त्री छन् । क्यानाडामा भारतीय मूलका नवदीप बैँस, हरजीत सज्जन, अनिता आनन्द र अमरजीत सोही मन्त्री छन् । सुरिनाम, गायना, फिजी, मौरिससमा भारतीय मूलका मन्त्रीहरूको लामै नामावली छ । कानुनवेत्ता कमलाले कानुनवेत्ता नै अमेरिकी दुई छोराछोरीका बाबु डगलस एमहोफसँग ५० वर्षको उमेरमा सन् २०१४ मा विवाह गरिन् ।
कमला ह्यारिस अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित भएपछि भारतीय मिडिया कमलालाई भारतीय मूलको र जमैकी मिडिया जमैकन मूलको भनेर प्रचार गरिरहेका छन् तर कमला ह्यारिस म अमेरिकी भनिरहेकी छन् । कसकी कमला ?
(लेखक त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ ।)